नेपालमा स्टार्ट अप व्यवसाय किन असफल हुन्छन् ?

नेपालमा स्टार्ट अप व्यवसाय किन असफल हुन्छन् ?

कोइला खानीबाट निस्कने कच्चा हीरा चम्किलो बन्न र लाखौं करोडौं मूल्यको हुन धेरै चोट खाइसकेको हुन्छ । हिमालबाट निस्कने पत्थर निरन्तरको ठक्कर र संघर्षपछि मात्र पूजनीय शालिकग्राम बन्छ । मान्छेलाई पनि सफलताको शिखरमा पुग्न अनेकौं असफलताको लडाइँ लड्नुपर्छ । हरेक सफल काम र व्यक्तिको पछाडि संघर्ष र असफलताको इतिहास हुन्छ ।

आज हामी नवप्रवर्तन व्यवसाय स्टार्टअपको विषयमा समीक्षा गर्न गइरहेका छौं । वर्षेनि प्रत्येक देशमा लाखौं नयाँ व्यवसाय स्टार्ट अपको रूपमा प्रारम्भ हुन्छन् । कुनै एक व्यक्ति वा समूह मिलेर बजारको आवश्यकतालाई हेरी वस्तु वा सेवा उत्पादन र बिक्रीवितरण गर्ने गरी प्रारम्भ गरिने नयाँ कामलाई स्टार्ट अप अथवा नवप्रवर्तन व्यवसाय भनिन्छ । कतिपय स्टार्ट अप आवश्यकताले, कतिपय रहरले त कतिपय देखासिखीमा प्रारम्भ हुन्छन् । धेरै असफल हुन्छन् भने केही मात्र सफल हुन्छन् । विकसित मुलुकमा पनि स्टार्ट अप सफलताको प्रतिशत १० देखि १५ प्रतिशत मात्र छन् ।

भर्खर मात्र हामीले क्यानेडियन मूलका ३३ वर्षीय भारतीय व्यवसायी अपूर्वा मेहेताको ग्रोसरी इकमर्स इन्स्टाकार्टको सफलताको कथा पढ्यौं । सन् २०१२ मा अमेरिकाको सनफ्रान्सिस्कोमा इन्स्टाकार्ट प्रारम्भ गर्नु अगाडि अपूर्वाले सुरु गरेका २० वटा स्टार्टअप फेल भइसकेका थिए । यही असफलताबाट पाठ सिकेर आममानिसको समस्या समाधानमा केन्द्रित हुनेगरी सुरु गरेको इन्स्टाकार्टले ८ वर्षमा अपूर्वालाई सफलताको उचाइमा पु¥यायो । आज अमेरिका र क्यानाडाको ५५ सय सहरमा सञ्चालित ग्रोसरी इकमर्स व्यवसायमा लगभग ३ लाख मानिस काम गर्छन र १४ अर्ब डलरको सम्पत्ति बनाइसकेको छ इन्स्टाकार्टले ।

नेपालमा पनि वर्षेनि हजारौं स्टार्ट अप व्यवसाय प्रारम्भ हुन्छन् । थोरै सफल हुन्छन्, अनि धेरै बन्द हुन्छन् । काठमाडांैमा हामी केही समूह मिलेर २ वर्षभित्र ६ वटा स्टार्ट अप काम सुरु गरेका छौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स लि.लाई छोडेर हेरचार डट कम, नेक्सजेन मेनेजमेन्ट सोलुसन्स, नेसनल एकेडेमी फर फाइनान्सियल सर्भिसेज, हायर मी नेपाल, सजिलो मिल्स र सजिलो मेड्स ।

सबै अलगअलग प्रकृतिका काम छन् र प्रायः सबै आममानिसको आवश्यकतालाई हेरेर डिजिटल बेस सञ्चालन हुने गरी प्रारम्भ गरिएका छन् । यी प्रत्येक व्यवसायमा १० लाखदेखि ७५ लाखसम्म लगानी भएका छन् । यही ६ वटा स्टार्ट अप सञ्चालनको अनुभवको आधारमा नेपालमा नयाँ प्रारम्भ भएका स्टार्ट अप किन असफल हुन्छन् ? भनेर व्यवसाय सञ्चालन गर्दा भोगेको, देखेको र अनुभव गरेको आधारमा व्यावहारिक अनुभव सेयर गर्न चाहन्छु ।

स्टार्ट अप कसरी र किन प्रारम्भ गरिन्छ ?

आफू जन्मेको देशमा केही गरौं भनेर विदेशबाट फर्केका वा पढेर विदेश जान नचाहेका व्यक्ति व समूह मिलेर स्टार्टअपको प्रारम्भ हुन्छ । कतिपय डिग्री सकेका युवा र अन्यत्र नोकरी नपाएका व्यक्तिले पनि स्वरोजगारीको लागि नयाँ काम प्रारम्भ गरेको पाइन्छ । व्यवसाय गरिरहेकाहरूले पनि व्यवसाय विस्तारको क्रममा वर्षेनि नयाँनयाँ काममा हात हालिरहेका हुन्छन् । राजनीतिक सम्पर्क भएकाहरूले पहुँच र सरकारी कार्यक्रमबाट फाइदा लिन पनि नयाँनयाँ स्टार्ट अप सुरु गरेका देखिन्छन् ।

स्टार्ट अप व्यवसाय किन असफल हुन्छन् ?

नेपालमा मात्र होइन अमेरिका बेलायतमा पनि सञ्चालनमा आएका अधिकांश स्टार्ट अप असफल हुन्छन् । एउटा अध्ययनअनुसार स्टार्ट अप प्रारम्भ भएको दुईदेखि १० वर्षभित्र ९० प्रतिशत बन्द भएको पाइन्छ । हामी कहाँ पनि सुरु भएका स्टार्ट अप निम्न कारणले असफल भएको देखिन्छ ।

१. बजारको राम्रो अध्ययन नभएर

उपभोक्ताले के चाहन्छन्, बजारको आवश्यकता के छ ? कुन वस्तु वा सेवाको बढी माग छ, डिस्ट्रिब्युसन च्यानल के–के छन् आदि विषयमा कुनै अध्ययन नगरी व्यवसाय सञ्चालन गर्दा स्टार्ट अप बन्द हुने गरेका छन् ।

२. व्यावसायिक क्षमतावान् मान्छे नहुनु 

कुनै पनि काम बजारमा नयाँ हुँदैन । कुनै न कुनै स्वरूपमा सोसम्बन्धी काम चलिरहेको हुन्छ । कडा प्रतिस्पर्धाका बीच सञ्चालन गर्नुपर्ने हुन्छ । यस्तोमा सञ्चालनकर्ता वा टिममा व्यावसायिक क्षमता सोच र सम्पर्क नहुँदा स्टार्ट अप चल्न सक्दैन । हाम्रो नेक्सजेन मेनेजमेन्ट कम्पनीको कार्यक्रम र उद्देश्य राम्रो छ, माग पनि छ । तर योग्य सञ्चालनकर्ता नहुँदा केही समय सञ्चालन गरेर पनि थाँतिराख्नु परेको छ । देश र आम व्यवसायीको आवश्यकता भएर पनि कम्पनी निष्क्रिय अवस्थामा छ ।

३. अपनत्व नभएको कमजोर टिमको कारण 

सबै ठाउँमा संस्थापक लगानीकर्ता आफैँ व्यवसाय सञ्चालन गर्ने अवस्थामा हँुदैनन् । काम गर्न सक्ने आफन्तलाई राखेर पनि काम गर्नुपर्ने बाध्यता हुन्छ । तर व्यवस्थापनको नेतृत्व गर्ने व्यक्ति र काम गर्ने टिममा कम्पनीप्रति इमान्दार र अपनत्व अनुभव भएन भने स्टार्ट अप कम्पनी राम्ररी चल्न सक्दैन । हेरचार डटकमले छोटो समयमा ब्राण्डिङ राम्रो बनाउन सके तापनि टिमले धोखा दिँदा पुनर्संरचना गरी पुँजी थप गरेर सञ्चालन गर्नुपर्ने अवस्था आएको कटु भोगाइ छ ।

४. प्रविधिमैत्री बजार वा उपभोक्ता नहुँदाको समस्या 

व्यवसायमा प्रविधिको प्रयोग पश्चिमा मुलुकहरूमा धेरै पहिले भएको हो । उपभोक्ताहरू प्रविधिसँग अभ्यस्त भइसकेका छन् । विदेशमा काम गरेका र राम्रो ज्ञान लिएर आएकाहरू पूर्णप्रविधिमा काम गर्न खोज्ने तर उपभोक्ता सोअनुसार तयार नहुँदा स्टार्ट अपमा समस्या आउने देखिन्छ ।

हाम्रो अनलाइन मेडिसिन सप्लाई गर्ने सजिलो मेडस प्रा.लि.मा सोही समस्या आउँदा अहिले म्यानुअल र अनलाइन दुवैलाई सँगै लिएर सञ्चालन गरिरहेको अनुभव छ । यो तारतम्य नमिलाएको भए त्यो स्टार्ट अप सायद बन्द गर्नुपर्ने अवस्था पनि आउनसक्थ्यो होला ।

५. उत्पादित वस्तु वा सेवाको लागि बजार तयार नहुनु 

कहिलेकाहीँ हामी महत्वाकांक्षी भई बजारको चाहनाभन्दा आफ्नो चाहनाअनुसारको काम सुरु गर्छौं । काम सुरु गरिसकेपछि बजारले त्यसलाई स्वीकार गर्दैन र सुरु गरेको काम फेल हुन्छ । कोरोना महामारी अगाडि धेरैले देखासिखीमा अनलाइन ग्रोसरी थालेका थिए । ग्राहक पसलमा गएर हेरेर रोजेर खोजेर किन्ने बानीका थिए, घरमा ल्याइदिने सामानमाथि विश्वास थिएन, त्यसैले चलेन । कोरोना कालमा बाध्यतामा परेपछि हिजो नचलेका त्यही व्यवसाय अहिले गजबले चलिरहेको पाइन्छ ।

६. आवश्यक पुँजी सिर्जना गर्न नसक्नु 

प्रायजसोले स्टार्ट अप सुरु गर्दा छ महिनाको लागि चाहिने पुँजी जोडेर काम सुरु गरेका हुन्छन् । तर अधिकांश स्टार्ट अप ब्रेक इभनमा जान दुईदेखि तीन वर्ष पनि लाग्न सक्छ । त्यस्तो अवस्थामा आवश्यक थप पुँजी सिर्जना गर्न नसक्दा प्रारम्भ गरेको काम असफल हुने गर्छ । हाम्रो हेराचार डटकम राम्ररी चलेको देखिए तापनि चालिस लाख नोक्सानीमा छ । ब्राण्डिङ गरेर सञ्चालन नाफामा जाने स्थिति देखिएकोले थप पुँजी सिर्जना गरी अगाडि बढाइएको हो ।

७. धैर्य र निरन्तरताको कमी 

व्यवसायमा सफल हुनको लागि धैर्यसँगसँगै लक्ष्यमा नपुगुञ्जेल कामलाई निरन्तरता दिइरहने क्षमता र आत्मविश्वास चाहिन्छ । रहर र देखासिखीमा एक दुई वर्ष चलाउने अनि चल्न सकेन भनेर स्टार्ट अप बन्द गरी नोकरी खोज्ने प्रकृति हामीकहाँ बढी नै छ । इन्स्टाकार्टका अपूर्वा मेहतालाई सफल हुन पनि ८ वर्ष लाग्यो । नेपालकै इ–सेवालाई आजको स्थितिमा आउन दशौं वर्ष लागेको छ । त्यसैले धैर्य र निरन्तरता नहुँदा पनि ९० प्रतिशत स्टार्ट अप फेल हुने गर्छ ।

८. सरकारको असहयोगी भावना 

विकसित मुलुक र भारतमा समेत नयाँ व्यवसायलाई प्रोत्साहन गर्न सरकारले नगद सब्सिडी, कर छुट र अन्य सुविधाहरू दिइरहेका हुन्छन् । योग्य, सक्षम र युवाहरू व्यवसायमा लागुन र रोजगारी सिर्जना गरून् भन्ने चाहना हुन्छ । हामी कहाँ लकडाउनको बेला राष्ट्रिय योजना आयोगले यही वैशाख २९ गते सार्वजनिक सूचना निकालेर स्टार्ट अप व्यवसायमा अनुदान लिन आह्वान ग¥यो ।

५ अर्बको कोष बनाएर ५ लाख देखि ५० लाख अनुदान दिनेगरी ७०० जति निवेदन पनि प¥यो । तर दुई महिनापछि अर्थ मन्त्रालयले बजेट दिन नसकिने भनि स्टार्ट अपमा अनुदान दिने कार्यक्रम नै बन्द गरायो । दुईतिहाइको सरकारको दुई निकाय बीचमा कत्रो असमझदारी र समन्वयको अभाव ? लकडाउनअघि खुलेर डुब्न थालेका स्टार्ट अप व्यवसायलाई अनुदान दिएर भए पनि बचाउनु पथ्र्याे तर सरकारको असहयोगी भावनाले धेरैलाई डुबायो ।

९. अप्रत्यासित प्रशासनिक आदेशको कारण 

मानिसले ठूलो जोखिम मोलेर स्टार्ट अप व्यवसाय सुरु गरेको हुन्छ । समस्या समस्यैको बीचमा सञ्चालन गरिरहँदा उसलाई सहयोग र सद्भावको आवश्यकता हुन्छ । तर हामीकहाँ खुट्टा तान्ने प्रवृति र नयाँलाई डुबाउने नीति लिइँदा स्टार्ट अप असफल हुने गर्छ ।

विगतमा प्रशासनले टुटल र पठाओलाई पटकपटक रोक लगाएको, लकडाउनमा अनलाइन फुड डेलिभरी र ग्रोसरीलाई नियन्त्रण गर्न खोजेको जस्ता अप्रत्याशित प्रशासनिक आदेशका कारण पनि स्टार्ट अप बन्द हुने अवस्थामा पुगेको पाइन्छ । हाम्रो सजिलो मिल्स प्रा.लि.को रेस्टुरेन्ट फुड घरघरमा डेलिभरी गर्ने काम पनि कहिले खोल्ने कहिले बन्द हुने स्थितिको सामना गरिरहँदा सारै चिन्ता लागेर आउँछ ।

१०. कमजोर बजार रणनीति तथा कार्यक्रमको कारण

नेपालको बजार सानो छ, त्यसमा पनि एउटै वस्तु वा सेवा प्रदान गर्ने कम्पनीहरू बीच कडा र अस्वस्थ प्रतिस्पर्धा छ । यस्तोमा नयाँ सञ्चालन गरिने स्टार्ट अप कम्पनीको उत्पादित वस्तु सेवा राम्रो छ, बजारमा माग पनि राम्रो छ, काम गर्ने टिम पनि ठीक छ ।

तर लक्षित वर्गको सही पहिचान गर्न सकिएन, त्यो समूहमा पुग्ने गरी मार्केटिङ राम्रो हुनु सकेन भने पनि स्टार्ट अप राम्ररी चल्न सक्दैन । बजार रणनीति र कार्यक्रम प्रभावकारी हुनुपर्छ । यसको कमीका कारणले पनि कतिपय स्टार्ट अप कम्पनी बन्द भएका छन् ।

अन्तमा, नेपालको राजनीतिक तहमा इमान्दारिता छैन, प्रशासनिक क्षेत्रमा दूरदर्शिता छैन, समाजमा सहयोगी भावना छैन । यस्तो प्रतिकूल परिस्थितिमा पनि स्टार्ट अप सञ्चालन गर्नु भनेको ठूलो जोखिम मोल्नु हो, आफ्नो भएको पुँजी पनि डुबाउनु हो । तर पनि माथिका समस्या, विकृति र बाधाहरूलाई पहिले नै बुझेर बजारको मागअनुसार सुझबुझ र धैर्यका साथ काम गरेमा सञ्चालन गरिएको स्टार्ट अप व्यवसायमा सफल अवस्य पनि भइन्छ ।

Source: https://www.onlinekhabar.com/2020/09/895507