लकडाउन र निषेधाज्ञाले करिब २ लाख व्यवसाय सधैँका लागि बन्द

लकडाउन र निषेधाज्ञाले करिब २ लाख व्यवसाय सधैँका लागि बन्द

कोरोनाका कारण सरकारले जारी गरेको लकडाउन तथा निषेधाज्ञाका कारण मुलुकका पौने दुई लाख साना उद्यमहरू सधैँका लागि पलायन भएका छन् । लघु तथा साना उद्यममध्ये २० प्रतिशत अब खुल्नै नसक्ने गरी विस्थापित भएको नेपाल घरेलु तथा साना उद्योग महासंघले जनाएको छ ।

मुलुकमा ९ लाख २३ हजार ३ सय ५६ उद्योग प्रतिष्ठानहरू रहेको तथ्यांक विभागको राष्ट्रिय आर्थिक गणनाले देखाएको छ । त्यसमध्ये घरेलु तथा साना उद्यम व्यवसाय ९ लाख १९ हजार ३ सय ११ रहेकोमा त्यसको २० प्रतिशत अर्थात् १ लाख ८४ हजार व्यवसाय स्थायी रूपमा बन्द भएको आकलन छ । कोरोना जोखिमका कारण भएको निरन्तरको लकडाउन र त्यसबाट सिर्जित विषम परिस्थितिले घरेलुु, साना तथा मझौला उद्यम–व्यवसाय पलायन नै हुने अवस्थामा पुुगेको घरेलु तथा साना उद्योग महासंघका उपाध्यक्ष मोहन कटुवालले बताए । ‘देशभर महासंघका सदस्य ४ लाख १८ हजार छन्, तीमध्ये २० प्रतिशत कोरोनाकै कारण पलायन भएको अनुमान छ, समग्रतामा पनि यही अनुपातमा व्यवसायी विस्थापित भएको हुनुपर्छ,’ कटुवालले बताए । लघु, घरेलु तथा साना उद्योग–व्यवसाय उठ्नै नसक्ने गरी थला पर्न थालेको महासंघका उपाध्यक्ष कटुवाल बताउँछन् । आफ्ना पसलमा भएको सामग्री बिक्री गर्दासमेत भाडा तिर्न नपुग्ने अवस्था आएपछि धेरै व्यवसायीहरू सटर नै बन्द गरेर हिँड्न थालेको उनले बताए । ‘व्यवसायीहरूले दुःख–सुख लकडाउन धानेका थिए, तर अब निषेधाज्ञा धान्न नसकिने अवस्थामा पुुगेका छन्,’ नेपाल ग्रिल व्यवसायी महासंघका अध्यक्षसमेत रहेका कटुवालले भने, ‘व्यवसाय पुनरुत्थान गर्ने कुरा त परको हो, अहिले त व्यवसायीहरूलाई हातमुख जोर्नै पो गाह्रो भएको छ ।’सुुरक्षाको विधि अपनाएर क्रमशः उद्योग–व्यवसाय खोल्दै जानुको विकल्प नरहेको उनी बताउँछन् । स्थानीय तहले लघु, घरेलु तथा साना उद्योगका उत्पादनलाई बजारसम्म लैजाने र सुरक्षा मापदण्ड अपनाएर सटर खोल्ने वातावरण बनाउनुपर्ने उनको भनाइ छ । नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवाल भने ४० प्रतिशत व्यवसायी पलायन नै हुने अवस्थामा पुुगेका छन् । ‘अहिले काठमाडौंलगायत मुख्य सहरका व्यवसाय बन्द भएको कारण धेरै सटर भाडामा उपलब्ध छन्,’ उनले भने, ‘करिब ६ महिनादेखि सटर बन्द गरेर बस्नुपरेको छ, एकातर्फ आम्दानी छैन भने अर्कातर्फ बैंकको साँवा–ब्याज, घरभाडा, घरखर्चलगायत दायित्व बढेको बढ्यै छ ।’ लकडाउन र निषेधाज्ञाका कारण लामो समयदेखि व्यवसाय बन्द हुँदा उद्यमी–व्यवसायी मानसिक तनावमा गइसकेको उनी बताउँछन् ।लकडाउन अझै लम्बिँदै जाने हो भने साना तथा मझौला उद्यम–व्यवसाय पूर्ण रूपमा बन्द हुने अवस्थामा पुगिसकेको उनको भनाइ छ । ‘हामी अन्तिम–अन्तिम अवस्थामा पुगिसकेका छौँ, घरेलु तथा साना र मझौला उद्योग–व्यवसायका लागि योभन्दा चरम कठिन अवस्था आउन सक्दैन,’ उनले भने, ‘त्यसैले अविलम्ब अन्य विकल्प प्रयोग गरेर लकडाउन खोल्दै अर्थतन्त्र खुलाउनुपर्छ अनि प्रभावित उद्योग–व्यवसाय पुनरुत्थानका योजनाहरू ल्याउनुपर्छ ।’ यसअघि मौद्रिक नीतिले ल्याएको पुनरुत्थानका योजना तथा सुविधाले अब काम नगर्ने उनले बताए । सरकारले बैंक तथा सहकारीमा रहेको ब्याज नै भुक्तानी गरिदिनुुपर्ने तथा व्यावसायिक भाडासमेत तिरिदिनुपर्ने महासंघको माग छ । त्यस्तै, विनाधितो कर्जा दिनुपर्नेसमेत उनीहरूको माग छ । 

साना उद्यमको पुनरुत्थान नभए अर्थतन्त्र धराशायी हुन्छ

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले निरन्तरको लकडाउनबाट सबैभन्दा ठूलो मार साना तथा मझौला व्यवसायलाई परेको बताए । निषेधाज्ञालाई सरकारले यसरी नै लम्ब्याएमा व्यापार-व्यवसायलाई चाहेर पनि पुनरुत्थान गर्न नसक्ने अवस्था आउने उनले बताए ।

‘सानो पुँजीले अगाडि बढेको यस्तो व्यवसायको धेरै समय खिच्न वा तन्काउन सकिने अवस्था हुँदैन, अहिले खाद्यान्नबाहेक अन्य उद्योग-व्यवसाय २५ प्रतिशत पनि चलेको छैन,’ उनले भने, ‘साना पुँजीले चलेको व्यवसायलाई थप राहत दिएर पुनरुत्थान नगरिए हाम्रो अर्थतन्त्र ठूलो समस्यामा पर्नेछ ।’ अर्थतन्त्रको मेरुदण्ड साना र मझौला व्यवसाय भएकाले यस क्षेत्रको पुनरुत्थानका लागि सरकार गम्भीर हुनुपर्ने उनको भनाइ छ । 

‘पहुँच हुने उद्योगी–व्यवसायीले विभिन्न तरीका अपनाएर पनि व्यवसाय चलाएका छन्, तर साना व्यवसायीको त्यस्तो पहुँच हुने कुरा भएन,’ तथ्यांकशास्त्री डा. श्रेष्ठ भन्छन्, ‘त्यसो हुँदा साना व्यवसायीहरू चल्न ठूलो समस्या छ ।’ यसले मुलुकमा आर्थिक असमानता अझै बढेर जाने उनको भनाइ छ । ‘सानो व्यवसाय र रोजगारी हुनेले आम्दानी गुमाउने छन्, यसले आर्थिक असमानता अझै गहिरिने सम्भावना छ ।’

नेपाल राष्ट्र बैंकको अध्ययनअनुसार अघिल्लो लकडाउनको अवधिमा ६१ प्रतिशत उद्योग पूर्ण रूपमा बन्द भएका थिए । त्यसमध्ये शिक्षण संस्थाहरू ९५ प्रतिशत, होटल तथा रेष्टुरेन्ट ९१ प्रतिशत, घरजग्गालगायत कारोरबार ८९ प्रतिशत, यातायात तथा भन्डारण ७६ प्रतिशत, निर्माण ५८ प्रतिशत बन्द भएको राष्ट्रबैंकको तथ्यांक छ । बन्द भएका ९७ प्रतिशत उद्योग-व्यवसायको ७४ प्रतिशत उत्पादन घटेको पनि अध्ययनले देखाएको थियो ।

साढे २२ प्रतिशतले  रोजगारी गुमाएको अध्ययनको निष्कर्ष थियो । त्यस अवधिमा सबैभन्दा धेरै प्रभावित होटेल तथा रेस्टुराँ क्षेत्रको उत्पादन ९४ प्रतिशत घटेको र रोजगारी ४० प्रतिशतले गुमेको सो अध्ययनले देखाएको थियो ।

नेपाल खुद्रा व्यवसायी संघका अध्यक्ष राजकुमार श्रेष्ठले खाद्यान्न तथा उपभोग्य वस्तुको खुद्रा व्यवसायमा पनि ४० प्रतिशतसम्मको गिरावट आएको बताए । ‘थुप्रै क्षेत्रमा भएको निषेधाज्ञाका कारण ढुवानीमा अलि समस्या छ, कतिपय उद्योग पनि बन्द छन्, यसले गर्दा उत्पादनदेखि ढुवानी र आपूूर्तिसम्मको चक्र प्रभावित भएको छ,’ उनले भने, ‘पसलहरू बिहान–बिहान मात्रै खोल्न मिल्ने तथा मागसमेत कम भएका कारण अहिले खुद्रा व्यवसाय भने ६० प्रतिशतको हाराहारीमा मात्रै खुम्चिएको छ ।’ 

करिब ५० लाखले गुमाए रोजगारी

गैरकृषि क्षेत्रको औपचारिक र अनौपचारिक क्षेत्रबाट करिब ३०-३५ लाख मजदुरले रोजगारी गुमाइसकेको तथ्यांकशास्त्री डा. माणिक श्रेष्ठको अनुमान छ । त्यस्तै, औपचारिक क्षेत्रमै काम गर्ने २२ लाखमध्ये पनि १५ लाख कामदार अनौपचारिक किसिमको सम्झौतामार्फत काम गर्ने र तिनले समेत पूर्ण रूपमा रोजगारी गुमाएको उनको आकलन छ ।

यस हिसाबले करिब ५० लाख मजदुर तथा कर्मचारीले कोरोनाका कारण लकडाउन र निषेधाज्ञाका कारण रोजगारी गुमाएको अनुमान गर्न सकिन्छ । यीमध्ये अधिकांश श्रमिक घरेलु तथा साना उद्यममै आबद्ध छन् । त्यसमध्ये साना तथा मझौला व्यवसायले ४४ लाख मानिसलाई रोजगारी दिएको नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा बताउँछन् । 

Source: https://www.nayapatrikadaily.com/news-details/50840/2020-09-09