Now, the directive passed by the NEA Board of Directors to purchase goods from the balance of the mobile has been verified

Now, the directive passed by the NEA Board of Directors to purchase goods from the balance of the mobile has been verified

काठमाडौँ — मोबाइलमा रहेको ब्यालेन्सबाट पनि सामान किन्न मिल्ने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले यस्तो सेवाका लागि सहजीकरण गर्न कार्यविधि जारी गरेको छ । प्राधिकरण सञ्चालक समितिले पारित गरेको निर्देशिका प्रमाणीकरण भइसकेको छ ।

मोबाइल ब्यालेन्स प्रयोग गरी विद्युतीय माध्यमबाट वस्तु तथा सेवा खरिद गर्नेसम्बन्धी कार्यविधिमा एक पटकमा १ हजार रुपैयाँ र महिनामा १० हजार रुपैयाँसम्मका सामान तथा सेवा मोबाइलको ब्यालेन्स प्रयोग गरी खरिद गर्न सकिनेछ ।

तत्कालका लागि मोबाइल ब्यालेन्स प्रयोग गरी वस्तु खरिद गर्न नसके पनि अनलाइन कन्टेन्ट खरिदलाई लक्ष्य गरी कार्यविधि ल्याइएको प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले जानकारी दिए । अहिले बैंकिङ प्रणालीमार्फत मोबाइल वालेटमा रकम ट्रान्सफर गरी वस्तु तथा सेवा खरिद गर्न सकिने प्रविधि सञ्चालनमा छन् । 

मोबाइल ब्यालेन्समार्फत ग्राहकले वस्तु तथा सेवा खरिदका लागि रिचार्ज कार्ड वा अन्य विधिबाट मोबाइलमा ब्यालेन्स हालेर त्यसैमार्फत कारोबार गर्न सकिन्छ । यद्यपि यस्तो सुविधा अहिले केही दूरसञ्चार कम्पनीले दिइरहेका छन् । मोबाइल प्रयोगकर्ताले अनलाइन गेम, सीआरबीटी तथा पीआरबीटीजस्ता दूरसञ्चार सेवा प्रदायकले उपभोक्तालाई बिक्री गर्ने सेवा खरिदका लागि कार्यविधि ल्याइएको अर्यालले बताए । कार्यविधिले यस्ता सेवा खरिदलाई नियमन गर्ने प्रावधान राखेको छ । 

साथै नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंक मिलेर सुरु गर्न लागेको मोबाइल मनी सेवालाई पनि नियमन गर्नेछ । यी दुई सरकारी स्वामित्वका निकायले संयुक्त रूपमा कम्पनी स्थापना गरी मोबाइल मनी सेवा सुरु गर्न लागेका हुन् । उक्त कम्पनी स्थापना भएपछि उपभोक्ताले मोबाइल ब्यालेन्सबाटै सामान गरिद गर्न सक्ने सुविधा सुरु हुनेछ । 

कार्यविधिमा यस्ता सेवा सञ्चालन गर्दा उपकरणहरू अन्तर्राष्ट्रिय मापदण्डअनुसार हुनुपर्ने र उपकरणहरू दूरसञ्चार सेवा प्रदायकहरूसँग पूर्ण रुपले अनुकूल हुनुपर्ने प्रावधान छ । सेवा प्रदायकले त्यस्ता सेवाको गुणस्तर, मूल्य, बिलिङ, सेवासम्बन्धी जानकारी ग्राहकलाई सजिलै दिनुपर्ने र जानकारी निःशुल्क एसएमएसमार्फत पठाउनुपर्ने प्रावधान तोकिएको छ । 

अहिले प्रचलनमा रहेका मोबाइल भुक्तानी सेवाहरू जस्तै मोबाइल ब्यालेन्सबाट वस्तु तथा सेवाहरू खरिद गर्दा दूरसञ्चार सेवा शुल्क नलाग्ने कार्यविधिमा उल्लेख छ । दूरसञ्चार सेवा प्रदायकले मोबाइल ब्यालेन्समार्फत गरिएको भुक्तानीको बिल वा विवरण ग्राहकलाई अनिवार्य दिनुपर्ने व्यवस्था कार्यविधिमा छ । मोबाइल ब्यालेन्समार्फत हुने कारोबारको विवरण दूरसञ्चार कम्पनीले कम्तीमा पनि तीन महिना सुरक्षित राख्नुपर्ने व्यवस्था छ ।

Source: ekantipur.com