Future Group's retail wing bought by Ambani for Rs 4 trillion to compete with Amazon

Future Group's retail wing bought by Ambani for Rs 4 trillion to compete with Amazon

टेलिकम सेक्टरसँगै भारतमा तीव्रत्तर बजार लिइरहेको रिटेल बिजनेसमा पनि मुकेश अम्बानीले दह्रो उपस्थिति देखाउने भएका छन्। रिटेल बिजनेस र इ–कमर्समा अमेरिकी कम्पनी अमेजनसँगको प्रतिस्पर्धामा खरो उत्रनका लागि उनको रिलायन्स रिटेल भेन्चरले फ्युचर ग्रुपको रिटेल तथा थोक व्यवसाय र लजिष्टिक तथा वेयर हाउजिङ खरिद गरेको छ। 

भारतमा फ्युचर ग्रुप सानो कम्पनी होइन। किशोर बियानी, जसलाई एउटा व्यवसायले भारतको स्याम वाल्टन (वालमार्टका संस्थापक) को उपमा दियो, अन्ततः ऋण संकटले गल्दै गएपछि त्यही व्यवसायबाट हात उठाउन बाध्य भए।

 
 

भारतमा लकडाउनका कारण अत्यावश्यकबाहेक थुप्रै व्यवसाय हप्तौंसम्म बन्द हुँदा यसको मारमा फ्युचर ग्रुपले संचालन गरेको रिटेल तथा होलसेल विङ्स पनि पर्‍यो। यसबाट कम्पनी तरलताका साथै वित्तीय अवस्थामा झन् झन् कमजोर हुँदा धान्न नसक्ने अवस्था नजिक पुग्यो।

वित्तीय संकटको ओरालो यात्रा यसरी गहिरिँदै जाँदा यसलाई रोक्न ग्रुपका संस्थापक तथा सीईओ बियानीले आफूलाई स्थापित गरेको र आफ्नो सबैभन्दा प्रिय व्यवसायिक भेन्चरको साँचो रिटेल व्यवसायको पछिल्लो आक्रामक प्रतिस्पर्धीलाई बुझाउने निर्णय गरेका छन्।

भारतीय रिटेल बिजनेस टाइकुन बियानी तीन दशक पुरानो आफ्नो यो विशाल व्यावसायिक साम्राज्यलाई मुकेश अम्बानीको जिम्मा लगाउने निधोमा पुगेका हुन्।

रिटेल बिजनेस र इ–कमर्समा जान रिलायन्स रिटेल भेन्चरले फ्युचर ग्रुपको रिटेल तथा थोक व्यवसाय र लजिष्टिक तथा वेयर हाउजिङ व्यवसाय खरिद गरेको रिलायन्स इन्डष्ट्रिजले विज्ञप्तिमार्फत जनाएको छ।

भारतका धनाढ्य अम्बानीको रिलायन्स इन्डष्ट्रिज अन्तर्गतको रिलायन्स रिटेल एन्ड फेसन लाइफस्टाइल लिमिटेड (आरआरएफएलएल) ले २ खर्ब ४७ अर्ब १३ करोड भारतीय रुपैयाँ (झन्डै चार खर्ब नेरु) मा ग्रुपको रिटेल तथा होलसेल व्यवसायहरु खरिद गरेको छ। आरआरएफएलएल पूर्णरूपमा रिलायन्स रिटेल भेन्चर लिमिटेड (आरआरभीएल) को स्वामित्वमा भएको कम्पनी हो, जसको व्यवस्थापन मुकेशकी छोरी इशा अम्बानीले हेर्छिन्।

रिटेल व्यवसायमा भारतीय बजार छिरेको अमेरिकी कम्पनी अमेजनसँग प्रतिस्पर्धा गर्न आक्रामकरूपमा अघि बढ्न खोजिरहेका अम्बानीले फ्युचर ग्रुपको अपेरल, लाइफस्टाइल र ग्रोसरी सेगमेन्टका व्यवसायहरुको स्वामित्व खरिदको घोषणा रिलायन्स इन्डष्ट्रिजले शनिबार गरेको हो।

यो खरिदपछि अमेजनसँग प्रतिस्पर्धाका लागि रिलायन्स रिटेलले अफलाइन, अनलाइन र न्यु कमर्स (जसमा यसले 'बी टु बी टु सी' मोडेलमा किरानाहरुसँग सहकार्य गरिरहेको छ) गरी तीन प्रकारमा आफ्नो रिटेल व्यवसायलाई विभाजन गर्ने रणनीति अपनाउने बताइएको छ। रिलायन्सले अहिले 'जियोमार्ट' ब्रान्डमा अनलाइन रिटेल चलाइरहेको छ भने अफलाइनमा पनि आक्रामक हुने अनुमान गरिएको छ।

हाल रिलायन्स रिटेलका कन्जुमर इलेक्ट्रोनिक्स, फेसन तथा लाइफस्टाइल र ग्रोसरी फर्म्याटमा भारतभर ११ हजार ७ सय ८४ स्टोरहरु रहेका छन्।

दुई अर्बपति व्यवसायीका व्यापारिक घरानाबीचको यो डिल एउटा प्याकेज स्किमका रूपमा भएको जनाइएको छ। जसअन्तर्गत रिलायन्सले फ्युचर ग्रुपको सम्पूर्ण ऋण, दायित्व, रिटेल स्टोर र यसको कन्जुमर बिजनेसको सानो परिमाणमा सेयर स्वामित्व समेत पाउनेछ। यसका लागि रिलायन्सले समग्रमा झन्डै साढे २ खर्ब भारु लगानी गर्नेछ। 

यस्तै, फ्युचर ग्रुपका फ्युचर रिटेल, फ्युचर लाइफस्टाइल, फ्युचर कन्जुमरसहित पाँचवटा सूचीकृत कम्पनीहरु फ्युचर इन्टरप्राइजेज लिमिटेड (एफइएल) मा मर्ज हुनेछन्, जुन अहिले ग्रुपको रिटेल ब्याक-इन्ड पूर्वाधारसमेत हुन्।

यसरी मर्ज गरिएपछि एफइएलले आफ्ना रिटेल तथा होलसेल बिजनेस भर्टिकल अम्बानीको आरआरएफएलएललाई र लजिस्टिक तथा वेयरहाउस व्यवसायहरु आरआरभीएललाई एकमुष्ट 'स्लम्प सेल' का रूपमा बिक्री गर्नेछ। भारतको कर ऐन १९६१ ले नै यसको खण्ड २ (४२सी) मा 'स्लम्प सेल' बारे विशेष व्यवस्था गर्दै यस्तो बिक्रीमा सम्पत्ति तथा दायित्वहरुको कुनै मूल्यांकनबिनै एक वा बढी व्यवसायहरु अर्को व्यक्ति वा व्यवसायलाई हस्तान्तरण गर्न सक्ने भनि उल्लेख गरेको छ। त्यसैलाई टेक्दै अम्बानी र बियानीले यो डिल गरेका हुन्।

यो डिलले भारतको अर्गनाइज्ड रिटेलका पितासमेत भनिने बियानी तीन दशक लगाएर आफूले खडा गरेको यस सेगमेन्टबाटै बाहिर हुनेछन्। उनले १९८७ मा गार्मेन्टतर्फको व्यापार बाट रिटेल बिजनेसमा हात हालेका थिए।

त्यसबेला 'मेन्ज वेयर' (जसलाई केही वर्षपछि 'पतलून' रिटेल ब्रान्डका आउटलेटमार्फत उनले व्यापक बनाए) बाट यो व्यवसायमा छिरेका बियानीले पछि बिग बजार, सेन्ट्रल, ब्रान्ड फ्याक्ट्री लगायतका आफ्ना स्टोरहरुमा भारतीय मध्यमवर्गीय उपभोक्तालाई आकर्षित गर्न आक्रामक प्राइसिङको नीति अपनाए, जसबाट उनी भारतमा रिटेल बादशाहका रूपमा स्थापित हुन सफल बने।

तर, सँगै यसले उनका कम्पनीहरुलाई करिब एक खर्ब ३० अर्ब भारुको ऋणको भारी पनि बोकायो। रिटेल व्यवसायका लागि विभिन्न वस्तुको आपूर्तिमा आफ्नै इकोसिस्टम बनाउन निजीस्तरमै र आन्तरिक उत्पादन क्षमता बनाउन चाहन्थे बियानी। यसका लागि रिटेल व्यवसायको आकार व्यापक बनाउन आवश्यक थियो। यस क्रममा बियानीले तीव्र व्यवसाय विस्तार र यसका लागि कयौं रिटेल एसेट्सहरु खरिद गर्दै जाँदा उनको कम्पनी कर्जा भारमा थलिँदै गएको थियो। जसलाई बिसाउन अन्ततः बियानीले अम्बानीलाई यसअन्तर्गतका पाँच व्यवसायिक एकाइहरु बिक्री गरे।

यो कारोबारपछि पनि उपभोग्य वस्तुहरुको उत्पादन तथा वितरण, फेसन सोर्सिङ तथा उत्पादन, जेनेरल्लीसँग संयुक्त लगानीमा संचालित बीमा र एनटीसी मिल्ससँगको साझेदारीको टेक्स्टायल व्यवसाय भने एफइएलले आफूसँगै राख्नेछ।

यसका साथै रिलायन्सले एफइएलमा २८ अर्ब भारु लगानी गर्नेछ, जसमा एफइएलको ६.०९ प्रतिशत प्रिफर्ड इक्विटी सेयरका लागि १२ अर्ब भारु पनि रहेको छ। प्रिफर्ड स्टकधनीले कम्पनीको लाभांशमा अन्य साधारण सेयरधनीभन्दा पहिले ग्राह्यता पाउँछ। यस्तै, उक्त १२ अर्ब रकमको ७५ प्रतिशत भुक्तानीपछि थप ७.०५ प्रतिशत स्वामित्व प्राप्त हुनेगरी जमानतका रुपमा थप चार अर्ब भारु पनि रिलायन्सले लगानी गर्ने बताइएको छ।

डिलपछि रिलायन्स रिटेलकी निर्देशक इशा अम्बानीले भनेकी छन्, 'यो कारोबारबाट फ्युचर ग्रुपका प्रख्यात रिटेल फर्म्याट र ब्रान्डहरुका साथै यसको बिजनेस इकोसिस्टमलाई सुरक्षित गर्न पाएकोमा हामी खुसी छौं, जसले भारतको आधुनिक रिटेल व्यवसायको विकासमा महत्त्वपूर्ण भूमिका खेलेको छ। यसले साना बिक्रेता तथा किरानाहरुसँग सक्रिय सहकार्य गर्ने हाम्रो फरक मोडलमार्फत रिटेल उद्योगमा वृद्धिको गति कायम राख्ने हामीले आशा गरेका छौं।'

यस्तै, बियानीले पनि यो व्यवसायिक पुनर्गठन तथा किनबेचबाट फ्युचर ग्रुपले पनि कोभिड र सुक्ष्म आर्थिक वातावरणका कारण उत्पन्न चुनौतीहरुको समग्र समाधान हासिल गर्ने बताएका छन्। 'यो कारोबार ग्रुपका कर्जादाता, सेयरधनीहरु, आपूर्तिकर्ताहरु र कर्मचारी लगायत सम्पूर्ण सरोकारवालाहरुको हितको पक्षमा रहेको छ,' बियानीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

फ्युचर ग्रुपले रिटेल भर्टिकलमा भारतका ४२० शहरमा विभिन्न व्यवसाय संचालन गरेको छ। यसबाट मात्र ग्रुपले वार्षिक ४.६ अर्ब अमेरिकी डलर आम्दानी गर्ने फोर्ब्सले उल्लेख गरेको छ। ग्रुपको रिटेल विङ्समा हाइपर मार्केट चेन 'बिग बजार', फुड रिटेलर 'फुड हल', कन्भेनियन्स स्टोर चेन 'इजीडे' इत्यादिका साथै 'एफबीबी' (फेसन बिग बजार), 'सेन्ट्रल' लगायतका ब्रान्डमा भारतभर १८०० चेन स्टोरहरु संचालित छन्।

यसको अधिग्रहणबाट रिलायन्स रिटेलले थप दुई खर्ब ६० अर्ब भारुको बिक्री बढाउने अनुमान गरिएको छ। यसबाट रिलायन्सले १८.९ खर्ब भारुबराबरको रिटेल इम्पायर खडा गर्ने र यो 'डी मार्ट' संचालन गर्ने यसको नजिकको प्रतिस्पर्धी एभेन्यु सुपरमार्ट्सभन्दा सात गुणा ठूलो भएको बताइएको छ।

युरो मोनिटरका अनुसार भारतीय रिटेल बजारको आकार अहिले करिब ६३५ अर्ब अमेरिकी डलर (४२ खर्ब भारु) को रहेको छ। यसमध्ये रियलायन्स रिटेल भेन्चरले मात्र अघिल्लो आर्थिक वर्ष १६ खर्ब ३० अर्ब भारुको आम्दानी गरेको थियो। यसमा रियलायन्स रिटेलको खुद नाफा करिब साढे ५४ अर्ब भारु रहेको थियो।

'फ्युचर ग्रुपका रिटेल, होलसेल र सप्लाई चेन व्यवसायहरुको खरिदले रिलायन्सको रिटेल बिजनेसमा बलियो रणनीतिकरूपमा बलियो परिपूरकका रुपमा फिट हुनेछ,' रिलायन्सले विज्ञप्तिमा भनेको छ, 'यसले दशौं लाख साना बिक्रेतालाई उनीहरुको प्रतिस्पर्धात्मकता वृद्धिसँगै यो असहज अवस्थामा आय बढाउन समेत सहायता प्रदानमार्फत  रिलायन्स रिटेललाई गति दिन मद्दत गर्नेछ।' (एजेन्सीहरुको सहयोगमा)

Source: https://bizmandu.com/content/20200830131043.html