Daraz Ko Sahayatri Program: More than 2100 enterprises have joined the business

Daraz Ko Sahayatri Program: More than 2100 enterprises have joined the business

पिसिआर परीक्षणमा कोरोना पोजिटिभ देखिए तुरून्तै अस्पताल भर्ना हुनु पर्दैन। कोरोना पोजिटिभ देखिएको तर स्वास्थ्यमा कुनै समस्या नभए घरै बसेर रोग जित्न सकिन्छ। यसरी कोरोना जित्नेको संख्या दिनहुँ बढ्दो छ। तर संक्रमितले आइसोलेसनमा बस्ने र सावधानीका उपाय भने अपनाउनु पर्छ।

तर आइसोलेसन बस्दा अपनाउनु पर्ने सावधानी, स्वास्थ्य सुधार सम्बन्धी जानकारी साथै मानसिक तनावबाट कसरी छुट्कारा पाउने जस्ता जिज्ञासा हुन सक्छन्। यस्तो अवस्थामा मान्छे शारीरिक रूपमा मात्र होइन, मानसिक रूपमा समेत सचेत र स्वस्थ हुनु आवश्यक छ।

घरैमा आइसोलेसन बस्दा आइपर्न सक्ने समस्या समाधानका निम्ति तपाईंलाई 'डाँफे केयर' ले सहयोग गर्न सक्छ।

डाँफे केयर कार्यक्रम संयोजक फार्मेसिस्ट कविन मलेकूका अनुसार यो कार्यक्रम डाँफे हेल्थ कम्पनी अन्तर्गतको 'होम आइसोलेसन सेवा' प्रदान गर्न सुरू भएको हो। कम्पनीले विभिन्न ६ चरणमा रहेर बिरामीलाई सेवा पुर्‍याउने बताएको छ।

हामीले होम आइसोलेसनमा बसेका कोरोना संक्रमितलाई टेलिमेडिसिन साथै भर्चुअल काउन्सिलिङको सेवा पुर्‍याउँदै छौं,' कार्यक्रम संयोजक कविनले भने, 'होम आइसोलेसनमा आवश्यक जुनकुनै समस्या समाधान अथवा जानकारी चाहिएमा बिरामीले डाँफे केयरसँग सम्पर्क राख्न सक्नुहुन्छ।'

कविनका अनसार डाँफे हेल्थले एक दशकयता स्वास्थ्य क्षेत्रमा प्राविधिक हिसाबले सहयोग पुर्‍याउँदै आएको छ। कोरोना महामारी समयमा भने 'डाँफे केयर' कार्यक्रमसँगै भाइरस नियन्त्रण तथा उपचारमार्फत आफ्नो दायरा बढाइरहेको उनले बताए।

कार्यक्रमले कोरोना संक्रमितका लागि तीन तहमा सहयोग र परामर्श दिइरहेको छ। यसले शारीरिक, मानसिक र सामाजिक क्षेत्रमा सहायता पुर्‍याइरहेको उनी बताउँछन्।

कसरी लिने डाँफे केयरको सेवा?

कविनका अनुसार डाँफे केयरको सेवा लिन कोरोना पोजिटिभ व्यक्तिले सुरूमा एउटा फारम भर्नुपर्ने हुन्छ। जसमा व्यक्तिगत विवरण अनिवार्य हुन्छ। विवरणमा संक्रमित एक्लै बस्ने हो वा परिवारसँग बस्ने जानकारी लिइन्छ। सोही अनुरूप संक्रमितलाई सल्लाह र सुझाव दिइन्छ।

'पहिले त कोरोना भाइसरबारे पूरा जानकारी दिन्छौं। कस्तो अवस्थामा सर्छ, कसरी सुरक्षित हुने आदि,' कविनले भने, 'डाँफे केयरले दिने जानकारीपछि संक्रमितका लक्षण र स्वास्थ्य अवस्थाबारे छलफल गरी विशेषज्ञहरूले परामर्श दिनेछन्।'

स्वास्थ्य अवस्था जाँचपछि संक्रमित नियमित १५ दिन नर्सको निगरानीमा राखिन्छन्। साथै भर्चुअल माध्यमबाट डाक्टरहरू बिरामीको अवस्थाबारे जानकार रहन्छन्।

'बिरामीको अवस्था हेरेर मानसिक परामर्श सेवा प्रदान गरिन्छ। मनोचिकित्सकको परामर्शसँगै योग तथा ध्यानका लागि समेत बिरामीलाई मद्दत गर्छौं,' उनी कार्यक्रमको प्रक्रियाबारे खुलाउँदै भन्छन्, 'अन्ततः हरेक दृष्टिकोणले बिरामीको स्वास्थ ठीक भएपछि उनीहरूलाई डिस्चार्ज गर्छौं।'

यसरी जम्मा ६ चरणमा कोरोना लागेका व्यक्तिले डाँफे केयरमार्फत आफ्नो उपचार गराउन सक्छन्। बिरामी अस्पताल अथवा कुनै परामर्श केन्द्र धाउन नपर्ने उनको भनाइ छ।

'बिरामीको स्वास्थ्य बिग्रँदै गयो भने चाहिँ हामी उहाँहरूलाई नजिकैको अस्पताल जान सुझाउँछौं,' कविनले भने, 'केयर कार्यक्रमले प्रयोगशाला र औषधिजन्य सहयोग मात्र प्रदान गर्ने हो।'

संस्थाले अगस्टमा पहिलो पटक कोरोना भाइरस संक्रमित बिरामीलाई सेवा दिएको थियो। कविनका अनुसार एक कम्पनीका अधिकांश कर्मचारीलाई कोरोना देखिएपछि कम्पनीले डाँफे हेल्थलाई होम आइसोलेसन सम्बन्धी पूर्ण जानकारी दिन र वातावरण मिलाइदिन आग्रह गरेको थियो।

'हामीले समन्वयमा डाँफे केयरमार्फत ६२ जनालाई सेवा पुर्‍यायौं,' कविनले भने।

अगस्ट २० मा उक्त कम्पनीका सबै संक्रमित डिस्चार्ज भए। यसपछि तिनै मापदण्डमा रहेर अन्य कम्पनी लगायत नागरिकमा समेत यो सेवा जारी राखेको उनी बताउँछन्। मापदण्ड निर्माणमा डाँफे हेल्थका सह–संस्थापक डा. विनोद ढुंगानाको सहयोग रहेको उनले बताए।

'होम आइसोलेसन केयर फर कोभिड-१९ पोजिटिभ, डाँफे केयर रू. २०० प्रतिदिन' भन्दै अहिले संस्थाले २४ घन्टे सेवा दिइरहेको छ। आवश्यक पर्दा जुनसुकै समयमा सहयोग लिन सकिनेछ।

'डा. विनोदको स्रोत व्यवस्थापनकै कारण यो शुल्कमा होम आइसोलेसन सेवा पुर्‍याउन सम्भव भएको हो,' कविन भन्छन्, '२४ घन्टा सेवा भने पनि अहिलेसम्म मध्यरातमा सेवा पुर्‍याउनु पर्ने अवस्था आएको छैन।'

हालसम्म डाँफे केयरबाट एक सय बढीले सेवा लिएका छन्। कविनका अनुसार झन्डै ८० जना संक्रमितले संस्थाकै स्वास्थ्य मापदण्ड अपनाएर गरेर कोरोना जितिसकेका छन् भने केही बिरामीको उपचार भइरहेको छ।

व्यक्तिगत हिसाबले होम आइसोलेसन सम्बन्धी यी सेवाका लागि इ–सेवा वा मोबाइल बैंकिङ मार्फत सेवा लिनुअगावै शुल्क तिर्नुपर्ने हुन्छ। कम्पनी तथा संस्थाको हिसाबमा भने बिरामी निको भएपछि शुल्क तिर्ने व्यवस्था मिलाइएको कविनले बताए।

'हामीकहाँ ३ जना फूल-टाइम नर्स हुनुहुन्छ। २ जना संक्रमक रोग विशेषज्ञ तथा डाक्टर पनि। त्यस्तै क्रिटिकल केयरका लागि डाक्टर प्रभात अधिकारी, मानसिक परामर्शका लागि १–१ जना मनोचिकित्सक र मनोवैज्ञानिक हुनुहुन्छ,' स्वास्थ्य जनशक्तिबारे बताउँदै कविनले भने, 'डाक्टर, नर्स, परामर्शदाता लगायत गरी १४ जना संक्रमितको सेवामा निरन्तर खटिरहनुभएको छ।'

उनका अनुसार आवश्यक परे डाँफे केयरसँग दैनिक एक हजार जनासम्मलाई परामर्श दिने तथा सेवा पुर्‍याउन सक्ने क्षमता र श्रोतसाधन छ।रेकर्डिङ तथा अनुगमन सफ्टवेयरबाट हुनाले कुनै पनि सेवाग्राहीको विवरण हराउने, चोरी हुने अथवा बाहिरिने सम्भावना नभएको कविन दावी गर्छन्। भन्छन्, 'हामीले इन्टरनेसनल स्ट्यान्डर्डमा काम गरिरहेका छौं। बिरामीको सेवामा कुनै पनि कमी राख्ने छैनौं।'

होम आइसोलेसनसँगै डाँफे केयरले निःशुल्क संक्रमण नियन्त्रण प्रशिक्षणसमेत उपलब्ध गराइरहेको छ। यस प्रकारका प्रशिक्षण सार्वजनिक संस्था र कम्पनीमा दिने उनले बताए।

Source: https://www.setopati.com/social/217461