Now withdraw cash form ATM with mobile

Now withdraw cash form ATM with mobile

 

कोरोनाको जोखिम देखिए पनि अहिले अधिकांश बैंकका ग्राहकहरू नगदका लागि एटिएमअगाडि लाइन बस्न बाध्य छन् । एटिएम प्रयोग गर्दा नम्बर तथा आदेशहरूका लागि बारम्बार बटन थिच्नपर्ने हुन्छ । बैंकहरूले ग्राहकको सुरक्षाका लागि सबै एटिएममा स्यानिटाइजरलगायतका सुरक्षाको व्यवस्था पनि नगरेको पाइन्छ ।

महामारीलाई ध्यानमा राखेर बैंकहरूले मोबाइल एप्समार्फत नै एटिएम प्रयोग गर्ने प्रविधि भित्र्याउने भएका छन् । छुँदासमेत संक्रमण हुन सक्ने कोभिड–१९ जस्तो महामारीको जोखिमबाट बच्न यस्तो प्रविधि उत्तम हुने सानिमा बैंकका आइटी विभाग प्रमुख विक्रम श्रेष्ठले बताए । ‘यो सुविधा दिन एटिएम मेसिनलाई फेर्नुपर्दैन, सफ्टवेयर विकास गरे हुन्छ,’ उनले भने, ‘हामी यसमा काम गरिरहेका छौँ, ५–६ महिनामा प्रयोगमा ल्याउन सक्छौँ ।’ मोबाइलमा रहेको क्युआर कोडको प्रयोग गरेर एटिएम बुथबाट नगद झिक्न सकिने उनले जानकारी दिए । 

अहिले एटिएम प्रयोग गर्दा पहिले पिन हाल्नुपर्छ । त्यसपछि नगद झिक्ने वा विवरण हेर्ने बटन थिच्नुपर्छ । नगद झिक्ने भए फेरि चाहिएको रकमका लागि अंक थिच्नुपर्छ । यसरी पटक–पटक हातले मेसिन छोइरहँदा संक्रमणको जोखिम हुन्छ । त्यस्तै, एटिएममा संक्रमण सुरक्षाका लागि राखिएको स्यानिटाइजरलगायत चोरी हुने समस्यासमेत रहेकाले सेवाप्रदायकहरू नयाँ प्रविधितर्फ आकर्षित भएका छन् ।  

अहिले १८ वटा वाणिज्य र विकास बैंकहरूका लागि एटिएममा कार्ड स्विचिङ सेवा दिइरहेको नेपाल इलेक्ट्रोनिक पेमेन्ट सर्भिस (नेप्स)ले पनि यस्तो प्रणालीको विकास गर्ने तयारी गरिरहेको छ । ‘विश्वका विभिन्न मुलुकमा धेरैअघिदेखि यो प्रणाली प्रचलनमा रहेछ, संक्रमणको अवस्थामा नेपालमा पनि यो प्रणाली विकास गर्नुपर्ने सोच आएको हो,’ नेप्सका प्रमुख कार्यकारी अधिकृत सञ्जीव सुब्बाले भने ।  

अहिले एटिएम प्रयोग गरेर मासिक करिब ५४ अर्ब रुपैयाँ झिक्ने गरिएको राष्ट्र बैंकको तथ्यांक छ । गत असारमा ६३ लाख २ हजारपटक एटिएमको प्रयोग भएको थियो । प्रयोग संख्याका आधारमा भुक्तानी उपकरणमा एटिएमको प्रयोग दोस्रोमा पर्छ । अग्रस्थानमा रहेका वालेटबाट असारमा १ करोडपटक कारोबार भएको थियो । 

डेबिट कार्ड विस्थापन गर्न सकिने 

नयाँ प्रविधि आएपछि डेबिट कार्डहरू जारी गर्नैनपर्ने अवस्थासमेत आउने देखिन्छ । गत असारसम्मको तथ्यांकअनुसार कुल ७३ लाख २९ हजार २ सय २ वटा डेबिट कार्डहरू प्रयोगमा छन् । लगभग तीन वर्षमा परिवर्तन गरिने एउटा कार्डको सरदर लागत १ सय ५० पर्ने बैंकरहरू बताउँछन् । यस आधारमा लगभग १ अर्ब ९ करोड लागत जोगिने देखिन्छ ।  

कार्डको शुल्क व्यहोर्ने ग्राहकले नै भएकाले यसको भारसमेत कम हुन सक्ने देखिन्छ । हाल मुलुकमा क्युआर कोडको प्रयोग गरेर भुक्तानी हुने गरेको छ । तर, ग्राहकको आफ्ना लागिभन्दा पनि सेवा लिएबापत सेवाप्रदायक (मर्चेन्ट)लाई भुक्तानीका लागि यसको प्रयोग हुने गरेको छ । एटिएम मेसिनमा क्युआर कोडको प्रयोगका लागि भने ग्राहकका लागि पनि क्युआर कोड जारी गर्नुपर्ने हुन्छ ।  

छिमेकी मुलुक भारतमै पनि एटिएम मेसिनहरूमा ग्राहकले क्युआर कोडको प्रयोग गरेर रकम झिक्न सक्ने सुविधा पाइरहेका छन् । ‘टचलेस एटिएम’ नाम दिइएको यो सुविधा त्यहाँ एक वर्षअघिदेखि ग्राहकहरूले पाइरहेका छन् । यो प्रणालीबाट रकम झिक्दा ग्राहकले आवश्यक पर्ने नोटहरू नै (१ सय, ५ सयका नोट) छान्न सकिने सुविधासमेत पाइनेछ । 

Source: https://www.nayapatrikadaily.com/news-details/50721/2020-09-07