‘अबको युग डिजिटल बैंकिङको हो, एनआईसी एशिया बैंक त्यसका लागि पूर्णरुपमा तयार छ’

‘अबको युग डिजिटल बैंकिङको हो, एनआईसी एशिया बैंक त्यसका लागि पूर्णरुपमा तयार छ’

नेतृत्व सम्हालेको छोटो समयमा नै एनआईसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेले बैंकलाई सफलताको शिखरमा पु¥याउन सफल भएका छन् र यो लोभलाग्दो सफलताले देशका थुप्रै युवाहरुलाई नेपालमै गरे सम्भव छ भन्ने प्रेरणा पनि मिलेको छ । वाणिज्य बैंकका सिइओहरु मध्ये सबैभन्दा कम उमेरको सीईओ न्यौपानेले एनआईसी एशिया बैंकलाई अधिकांश सूचकहरुमा देशकै सबैभन्दा उत्कृष्ट बैंक मध्येमा पु¥याउन सफल भएका छन् । ‘डिजिटल फस्ट’ बैंक बनाउने दृढ संकल्पका साथ बैंकलाई हाँकिरहेका न्यौपानेले नेपालको बैंकिङ प्रणालीलाई वास्तविक अर्थको नयाँ डिजिटल बैंकिङको युगमा प्रवेश गराउने अवधारणाहरु ल्याएका छन् ।  डिजिटल बैंकिङको क्षेत्रमा एनआईसी एशिया बैंकले के कस्ता कामहरु गरिरहेको छ, आगामी दिनमा डिजिटल बैंकिङमा एनआईसी एशिया बैंकको रणनीति कस्तो छ, आदि विषयमा हामीले सीईओ न्यौपानेसँग कुराकानी गरेका छौं । प्रस्तुत छ, एनआईसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेसँग नेपालको डिजिटल बैंकिङको विषयमा गरिएको कुराकानीको सम्पादित अंशः  

नेपालमा पछिल्लो समय डिजिटल बैंकिङको निकै धेरै चर्चा भइरहेको छ, युवा पुस्ता पनि डिजिटल प्रविधिप्रति आकर्षित भएको देखिन्छ । तपाईं आफै पनि नेपालको वाणिज्य बैंकका सिइओहरु मध्ये सबैभन्दा कम उमेरको सीईओ हुनुहुन्छ, यसलाई कसरी लिनुभएको छ ?

सूचना प्रविधिमा भएको विकाससँगै स्मार्ट फोनको पहुँचमा भएको विस्तार र इन्टरनेटको सरल पहुँचले गर्दा डिजिटल बैंकिङको विस्तारमा निकै टेवा पुगेको छ । कोभिड–१९ को नियन्त्रण तथा रोकथाम गर्नको लागि गरिएको लकडाउन र सुरक्षित रहन भौतिक दुरी कायम गर्नुपर्ने बाध्यताले गर्दा पनि ग्राहकलाई डिजिटल बैंकिङ प्रयोग गर्नतर्फ थप प्रेरित र आकर्षित गरेको पाइयो र यहाँले भनेजस्तै आजकल डिजिटल बैंकिङ एक साझा रुचि र चासोको विषय बन्दै गएको छ ।

सरल भाषामा भन्नुपर्दा डिजिटल बैंकिङ भनेको हामी भौतिक रुपमा उपस्थित नभइ वा परम्परागत बैंकिङ गतिविधिहरु भन्दा फरक रहेर तथा आधुनिक सूचना तथा प्रविधिको प्रयोग गरेर गरिने बैंकिङ प्रणाली हो । जसका लागि मोबाइल फोन, इन्टरनेट, कम्प्युटर लगायत अन्य संचारका साधनहरु डिजिटल बैंकिङ माध्यमका आधुनिक पूर्वाधारहरु हुन् । डिजिटल बैंकिङले मुलतः सेवाग्राहीहरुको दैनिकी एवं जीवनपद्धतीमा बैंकलाई प्रविधिद्वारा सम्बन्ध स्थापित गर्ने काम गर्छ र यसलाई हामी लाइफस्टाइल बैंकिङ Life style banking) पनि भन्छौं । अर्कोतर्फ आजका मितिमा हरेक भौगोलिक क्षेत्रको जनसंख्या आफ्नो यथेस्ट समय सामाजिक सञ्जाल तथा मोबाइल फोनमा बिताइरहनु भएको छ । सबैभन्दा धेरै समय बिताउने यस्ता प्रविधिमार्फत मानिसहरुलाई बैंकसँग जोड्ने योजना नै डिजिटल बैंकिङ  हो ।

 बैंकको तर्फबाट हेर्दा आफ्नो आन्तरिक प्रक्रियाहरु स्वचालित गरी सेवाग्राहीको सुविधामा व्यतित गराउने डिजिटल बैंकिङ सेवाको उद्देश्य हो । यसरी हेर्दा डिजिटल बैंकिङ आजको दिनमा ग्राहकहरुको सहज बैंकिङ आवश्यकता पूर्तिका लागि सरल माध्यम हो । विश्व बैंकिङ जगतले ग्राहकहरुलाई धेरैभन्दा धेरै सुविधा दिने उद्देश्यले विद्यमान अवस्थामा विकसित भइरहेका नवीनतम प्रविधिमा आधारित रहेर आफ्ना डिजिटल सेवाहरु प्रदान गर्ने प्रयास गरिरहेका छन् । यसले ग्राहकहरुलाई परम्परागत बैंकिङ प्रणालीभन्दा केही फरक गर्ने कोसिस भैरहेको देखिन्छ । किनकि आजको विश्वव्यापी सूचना/प्रविधिको युगमा बजारमा माग भएबमोजिमका गतिशील बैंकिङ सेवाहरु प्रदान गर्न सक्नुपर्छ र त्यो नै अहिलेको आवश्यकता हो । 

तपाईंले युवा पुस्ताको कुरा गर्नुभयो, हो साच्चै नै अहिलेका युवाहरु प्रविधिप्रति निकै आकर्षित हुनुहुन्छ र उहाँहरुले डिजिटल प्रविधिलाई पनि चाँडै विश्वास गर्नुहुन्छ । एनआईसी एशिया बैंकले पनि युवाहरुको डिजिटल माध्यम प्रतिको चाखलाई बुझेर उहाँहरुको आवश्यकतालाई मध्यनजर गर्दै नयाँनयाँ प्रविधिलाई आत्मसाथ गर्दै उहाँहरुको अपेक्षा अनुसारको डिजिटल सेवाहरु उपलब्ध गराउँदै आएको छ । यसो भन्दै गर्दा, हामीले डिजिटल बैंकिङलाई यति सहज तथा सरल तरिकाले ग्राहकहरु माझ प्रस्तुत गर्न खोजेका छौं कि युवा तथा शिक्षित वर्गले मात्र नभई हाम्रो सम्पूर्ण उमेर समूहका बुबा, आमा, हजुरबुबा, हजुरआमाहरु सम्पूर्ण वर्ग तथा सम्पूर्ण तहतप्काहरुका ग्राहकहरुले समेत सहज रुपमा आफूले चाहेको बैंकिङ सुविधा प्रविधिको माध्यमबाट उपभोग गर्न सक्नुहुनेछ । तपाईंले भन्नुभएजस्तै सबैभन्दा कम उमेरको सिइओ भन्ने ट्यागले गर्दा पनि देशको युवा वर्गलाई प्रतिनिधित्व गर्दै नेपालको बैंकिङ क्षेत्रमा परम्परागत रुपमा भइरहेको बैंकिङ कारोबारमा आमुल परिवर्तन गरी डिजिटल बैंकिङमा समग्र बैंकिङ क्षेत्रलाई नै नेतृत्व गरी अघि बढाउन सकिन्छ भनेर हामी सम्पूर्ण बैंक परिवार मन बचन र कर्मले लागि परेका छौं। 

खासगरी नेपालमा डिजिटल बैंकिङ भनेपनि भुक्तानी सेवा बाहेक अरु बैंकिङ सेवा खासै डिजिटल भएको पाइँदैन । एनआईसी एशिया बैंकले भुक्तानी सेवा बाहेक अन्य सेवाहरु डिजिटल गर्नको लागि के गर्दैछ ?

तपाईंले निकै राम्रो प्रश्न गर्नुभयो, अहिले डिजिटल बैंकिङ भन्ने बित्तिकै धेरैले पसलहरुमा गरिने भुक्तानी, मोबाइल रिचार्ज, विभिन्न घरायसी सामग्रीको खरिद बिल भुक्तानी आदिलाई मात्रै बुझ्ने गरेको पाएको छु । केही वर्षअघिको तुलनामा हेर्ने हो भने त्यो पनि हामीले डिजिटल बैंकिङमा मारेको निकै नै ठुलो फड्को हो । तर, आजको डिजिटल बैंकिङ पक्कै पनि त्यतिमा मात्रै सीमित छैन । एनआईसी एशिया बैंक ‘डिजिटल फस्ट’ बैंक बन्ने रणनीतिक योजनाका साथ आफ्नो अल्पकालीन तथा दीर्घकालिन लक्ष्य प्राप्तिका लागि अघि बढिरहेको छ । ‘डिजिटल फस्ट’ बैंकले आफ्ना सम्पूर्ण बैंकिङ सेवा डिजिटल माध्यमबाट प्रदान गर्नुपर्ने र सेवाग्राहीहरुलाई डिजिटल माध्यम मार्फत नै बैंकसम्मको पहुँचको व्यवस्था गर्नुपर्ने हुन्छ ।

डिजिटल प्रविधिलाई आत्मसाथ गर्दै बैंकमा खाता खोल्ने प्रक्रिया, कर्जा लिने प्रक्रिया, ग्राहकलाई बैंकसँग सम्बन्धित कुनै पनि समस्या, गुनासो भएमा समेत डिजिटल माध्यमबाटै समाधान गर्ने स्वचालित प्रक्रियामा हामी अघि बढिरहेका छौं । गुनासो तथा समस्या सुनुवाईका लागि हामीले भर्चुअल समस्या समाधान गर्ने च्याटबटको व्यवस्था गरेका छौं। हाल हामीले मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, आइसर्भ तथा बैंकको बेवसाइट आदि विभिन्न च्यानलहरुबाट बैंकमा खाता खोल्नेदेखि क्यास डिपोजिट गर्न, चेक डिपोजिट गर्न, ब्यालेन्स जाँच गर्न, नयाँ चेक अनुरोध गर्न, ई–कमर्स दर्ता गर्न, ब्यायालेन्स सर्टिफिकेट अनुरोध र बैंक स्टेटमेन्ट अनुरोध गर्न समेत सकिने ब्यवस्था गरेका छौं । हामीले आफ्नो मोबाइल बैंकिङलाई भर्चुअल बैंककै रुपमा विकास गर्न खोजिरहेका छौं । त्यस्तै हाम्रो बेवासाइटलाई साधारण सूचनाको माध्यम मात्रै भन्दा पनि पूरै बैंकिङ कारोबारनै गर्न मिल्ने साधानको रुपमा विकास गर्न खोजिरहेका छौं, जसबाट ग्राहकले आफूलाई आवश्यक पर्ने सम्पूर्ण बैंकिङ सेवा तथा सुविधा उपभोग गर्न सक्नुहनेछ । भुक्तानी बैंकिङ कारोबारको सबैभन्दा ठुलो क्षेत्र हुदाँहुदै भुक्तानीलाई मात्रै नभएर बैंकले दिने अन्य आर्थिक तथा गैर आर्थिक सबै सेवालाई कसरी डिजिटाइज गरेर लैजाँदा सेवालाई चुस्त र सहज बनाउन सकिन्छ भनेर त्यसप्रति युद्धस्तरमा काम गरिरहेका छौं । 

नेपाल सरकार र केन्द्रीय बैंकले पनि डिजिटल नेपाल फ्रेमवर्क र रिटेल पेमेन्ट फ्रेमवर्क तयार गरेको छ । यसमा बैंकहरुको भूमिका कस्तो देख्नुहुन्छ ?

नेपाल सरकारले डिजिटल नेपाल फ्रेमवर्क २०१९ सार्वजनिक गरेको छ, त्यसलाई सहयोग गर्न रिटेल पेमेन्ट फ्रेमवर्क तथा ई–कमर्स रणनीति पनि बनाएको छ । उक्त डिजिटल नेपाल फ्रेमवर्क अन्तर्गत ८ वटा क्षेत्रहरु मध्येको एउटा महत्वपूर्ण क्षेत्रको रुपमा वित्तीय क्षेत्र पनि रहेको छ, जसलाई कार्यान्वयन गर्नको लागि बैंकहरुको महत्त्वपूर्ण भूमिका रहन्छ । विशेषगरी भुक्तानीको विषयमा बैंकहरुको महत्त्वपूर्ण योगदान रहेको छ । यस विषयमा धेरै काम सुरु भइसकेको पनि छ । तर, पब्लिक इन्फ्रास्ट्रक्चर, डिजिटल हस्ताक्षर, शेयर, क्रेडिट रेटिङ आदि क्षेत्रमा भने नेपालको वित्तीय क्षेत्रमा डिजिटाइज गर्न बाँकी छ । त्यसबाहेक नेसनल पेमेन्ट गेटवे वा डिजिटल पेमेन्ट सिस्टम, डिजिटल सेक्युरिटी तथा डेटा मेनेजमेन्टको कुरा आउने वित्तिकै बैंक तथा वित्तीय संस्था आवश्यक हुन्छ । 

नेपाल सरकार र नेपाल राष्ट्र बैंकले या सबै कुराहरुलाई मध्यनजर गर्दै डिजिटल नेपाल अवधारण मार्फत अहिले छरिएर रहेका विभिन्न डिजिटल आधार स्तम्भ जस्तै कृषि, स्वास्थ्य, शिक्षा, उर्जा पर्यटन, सहरी पूर्वाधार र वित्तीय क्षेत्रलाई एकै ठाउँमा ल्याइ सरल र सहज डिजिटल सेवा उपलब्ध गर्ने वृहत परिकल्पना गरेको छ । र वित्तीय क्षेत्रसँग सधैँ जोडिएको बैंकिङ क्षेत्रको डिजिटलाइजेसनको कार्यान्वयनको पाटोबाट हेर्दा ग्राहकहरुलाई पहिले डिजिटल माध्यमबाटै वित्तीय क्षेत्रमा प्रवेश गराउनु पर्ने हुन्छ । दोस्रो चरणमा उहाँहरुको सम्पूर्ण सेवाहरु डिजिटल माध्यमबाट गर्ने व्यवस्था गर्नुपर्छ र तेस्रो चरणमा ग्राहकहरुले गर्ने कारोबार पनि डिजिटल माध्यमबाटै हुनुपर्याे ।

यो तीनै चरण सरकारको डिजिटल नेपालको फ्रेमवर्क अवधारणामा रहेको छ । नेपालका सम्पूर्ण बैंक तथा वित्तीय क्षेत्र यही अवधारणा अनुरुप अघि बढिरहेका छन् जसमा एनआईसी एशिया बैंक अग्रणी स्थानमा रहेको छ। 
आज एनआईसी एशिया डिजिटल कारोबारमा अग्रणी स्थानमा रहेको छ भन्न मलाई कत्ति पनि संकोच लाग्दैन किनभने ग्राहकहरुलाई बैंकसम्म ल्याउनको लागि खाता खोल्ने तथा कर्जा लिने प्रक्रियासम्म अनलाइनबाटै गरिएको छ । त्यस्तै डिजिटल सेवाहरुमा मोबाइल बैंकिङ, आइसर्भ, इन्टरनेटबाट डिजिटल सेवाहरु दिइरहेको छ । कारोबारको कुरा गर्दा पनि क्यास डिपोजिट गर्नेदेखि एटिएम तथा क्यूआर स्क्यान गरी पैसा निकाल्नेसम्मका सुविधाहरु डिजिटल च्यानलहरु मार्फत प्रदान गर्दै आइरहेको छ । जुन स्टेट अफ आर्ट टेक्नोलोजी अनुसार बनेको प्रणाली हो र हामी यसलाई अझ थप परिस्कृत र सवल बनाउनदै अघि बढ्ने योजनामा लागेका छौं ।
एनआईसी एशिया बैंकले डिजिटल नेपालको अवधारणलाई आत्मसाथ गर्दै विभिन्न आधार क्षेत्रहरुसँग सहकार्य गरेर डिजिटाइजेसनलाई आक्रामक रुपमा अघि बढाइरहेको छ । जस्तै, बैंकले शिक्षा क्षेत्रको डिजिटाइजेसन गर्नको लागि विभिन्न स्कुल, कलेजको शुल्क भुक्तानी गर्दा डिजिटल माध्यम नै प्रयोग गर्ने प्रणाली स्थापना गरेको छ । यस्तै सहरी पूर्वाधार अन्तर्गत पानीको बिल भुक्तानी गर्ने त्यस्तै प्रणालीको विकास गरेका छौं र स्वास्थ्य क्षेत्रलाई डिजिटाइज गर्नको लागि विभिन्न हस्पिटल तथा औषधि पसलहरुमा क्यूआर मार्फत भुक्तानी गर्ने व्यवस्था गरेको छ । रिटेल पेमेन्ट फ्रेमवर्क तथा ई–कमर्स रणनीतिमा पनि बैंक निकै अघि बढिसकेका छौं । रिटेल पेमेन्टमा पीओएस (पस) तथा क्युआरमार्फत कारोबार गरिरहेका छन् भने ई–कमर्सको कुरा गर्दा पनि विभिन्न मर्चेन्टसँग सहकार्य गरेर भुक्तानीको व्यवस्था गरिरहेका छौं । 

परम्परागत रुपमा भइरहेको अहिलेको बैंकिङ परिपाटीबाट डिजिटल बैंकिङमा लैजान के कस्ता चुनौतिहरु देख्नु भएको छ ?
अहिले विश्वको डिजिटल प्रविधि धेरै अघि बढिसकेको हुनाले नेपालमा पनि डिजिटल ट्रान्सफरमेसनलाई ढिलोचाँडो आत्मसाथ गर्नुको विकल्प छैन । डिजिटल बैंकिङ भनेको अन्ततः स्मार्ट फोन, मोबाइल फोन वा इन्टरनेटमा नै आधारित हुने भएकाले डिजिटल बैंकिङका लागि चाहिने एक किसिमको आधारस्तम्भ तयार भइसकेको अवस्था छ । डिजिटल बैंकिङका लागि थुप्रै चुनौतिहरु रहेका छन्, जसमा मुलतः राष्ट्रिय स्तरको पूर्वाधारको विकास, डिजिटल कारोबारलाई प्रोत्साहन, डिजिटल कारोबारको सुरक्षा र ग्राहकको डिजिटल सेवाप्रतिको मानसिकता आदि प्रमुख रहेका छन् । 

नेपालमा विश्वस्तरीय डिजिटल बैंकिङको विकासको लागि राष्ट्रियस्तरको पूर्वाधार निर्माणको काम     क्रमिकरुपले सुरुवात भएपनि त्यसलाई तिव्रता दिनु अत्यन्त आवश्यक छ । जस्तो कि, नेसनल स्विच तथानेश्नल आईडी एकदमै अपरिहार्य पूर्वाधार हुन् । आरटीजीएस प्रणालीको सुरुवात तथा भुक्तानी सेवा विभागको स्थापना गर्नु सकारात्मक पक्ष हुन् । राज्यले अब विद्युतीय कारोबारको प्रोत्साहनका लागि नेसनल आईडी लागू गर्ने, डिजिटल बैंकिङ सेवालाई सहज बनाउने नीति तथा कार्यक्रममा जोड गर्नुपर्छ । जसले नेपाल सरकारको डिजिटल नेपाल बनाउने सपनालाई मूर्तरुप दिन सहयोग पु¥याउनेछ । 
अर्काे चुनौति भनेको डिजिटल कारोबारको सुरक्षा पनि हो । ग्राहकलाई डिजिटल बैंकिङको विश्वसनीयता बुझाउन नसक्दासम्म डिजिटल बैंकिङ सुरक्षित छ भनेर पनि बुझाउन सकिँदैन । त्यसैले उनीहरुलाई डिजिटल बैंकिङ बुझाउनु अर्काे चुनौति छ । अहिले पनि बैंकहरुले आशिंक रुपमा भएपनि बैंकिङ सेवाहरु डिजिटल मार्फत नै प्रदान गर्दै आइरहेका छन् । तर ग्राहकहरुको मानसिकतामा परिवर्तन ल्याउन नसक्दा त्यसको प्रभावकारिता त्यति धेरै देखिएको छैन । 

एनआईसी एशिया बैंक डिजिटल फस्ट बैंक बन्ने दृढ संकल्पका साथ अघि बढिरहेको बताइन्छ । यस सम्बन्धमा थप जानकारी गराइदिनु हुन्छ कि ?
हामी अहिले ‘डिजिटल फस्ट’ बैंक बन्ने दृढ संकल्पका साथ अघि बढीरहेका छौं । हामीले बैंकिङ सेवालाई ग्राहकहरुको दैनिक आवश्यकता र रुचिसँग जोडेर लाइफस्टाइल बैंकिङ सेवा प्रदान गर्नेतर्फ केन्द्रित भई समय सान्दर्भिक गतिशील बैंकिङ सेवाहरु प्रदान गरिरहेका छौं । मैले अघिपनि भने ‘डिजिटल फस्ट’ बैंकले आफ्ना सम्पूर्ण बैंकिङ सेवा डिजिटल माध्यमबाट प्रदान गरेको हुन्छ र ग्राहकहरुलाई डिजिटल माध्यममार्फत नै बैंकसम्मको पहुँचको व्यवस्था गरेको हुन्छ । हाल विभिन्न मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, आइसर्भ तथा बैंकको बेवसाइट आदि च्यानलहरुबाट यस बैंकमा खाता खोल्नेदेखि क्यास डिपोजिट गर्न, चेक डिपोजिट गर्न, ब्यालेन्स जाँच गर्न, नयाँ चेक अनुरोध गर्न, ई–कमर्स दर्ता गर्न, ब्यालेन्स सर्टिफिकेट अनुरोध र बैंक स्टेटमेन्ट अनुरोध गर्न समेत सकिने ब्यवस्था गरेको छ । परम्परागत रुपमा बैंकमा नै पुगेर गर्नुपर्ने कामहरु सकेसम्म डिजिटल च्यानलहरुबाटै उपलब्ध गराउने हाम्रो उद्देश्य रहेको छ । बैंकको अहिलेको प्रमुख उद्देश्य भनेको भौतिक रुपमा बैंकिङ सेवा लिइरहनुभएका ग्राहकहरुलाई डिजिटल च्यानलबाट सहज र विश्वसनीय सेवा दिनु नै हो ।

सन् २०१७/१८ मा एनआईसी एशिया बैंकले दिने सम्पूर्ण सेवाहरुको ३२ प्रतिशत सेवा डिजिटल माध्यमबाट प्रदान गर्दै आएको थियो । सन् २०१८/१९ मा त्यसलाई बढाएर ५० प्रतिशत र गत वर्ष सन् २०१९/२० मा ७० प्रतिशत सेवाहरु डिजिटल माध्यमबाट प्रदान गरेको छ । दुई वर्षमा हामीले दिने सेवाहरुमध्ये डिजिटल माध्यममा ४० प्रतिशतले वृद्धि भएको छ । 

चालु आर्थिक वर्षको अन्तसम्ममा हामीले ८० प्रतिशत सेवाहरु डिजिटल च्यानलहरुबाटै प्रदान गर्ने दृढ संकल्पका साथ अघि बढिरहेका छौं । समयको बचत, न्यून शुल्क, विभिन्न छुट तथा क्यासब्याकको सुविधाहरुका साथै अन्य फाइदाहरुका कारणले गर्दा पछिल्ला दिनहरुमा डिजिटल माध्यमप्रति ग्राहकहरुको आर्कषण बढेको पाइन्छ । हामी चालु आर्थिक वर्ष २०७७/७८ को अन्तसम्म एनआईसी एशिया बैंकले उपलब्ध गराएको विभिन्न सेवा तथा कारोबारहरु मध्ये ८० प्रतिशत सेवा एनआईसी एशिया मोबैंक, डेबिट तथा क्रेडिट कार्ड, पोस, क्यूआर आदि डिजिटल माध्यमबाट गराउने अपेक्षाका साथ अघि बढिरहेका छौं । सोही उद्देश्यहरु पूरा गर्नका लागि अनलाईन खाता खोल्ने देखि, कर्जाको योग्यता जाँच गर्ने, कर्जाको आवेदन दिने तथा कर्जा प्रकृया कहाँपुग्यो भनेर जाँच समेत अनलाइनबाटै हेर्न मिल्ने व्यवस्था गरेका छौं । 

त्यस्तै अहिले हामीले ग्रीन पिन ल्याएका छौं, जसले डेबिट कार्डको पिन नम्बर कागजमा लेखेर दिने नभई कार्ड एटिएममा राखेपछि मोबाइलमा एसएमएसको रुपमा आएको ओटिपी राखेर नयाँ पिन नम्बर बनाउन सकिन्छ । त्यस्तै, खाता खोल्दाको बखत सम्पूर्ण डिजिटल सेवाहरुको जानकारी दिने उद्देश्यले वेलकम किटकोसमेत व्यवस्था गरेका छौं । उक्त किटमा खाता खोलिसकेपछि पाइने डेबिट कार्डको साथमा सम्पूर्ण बैंकिङ सूचनाहरु राखिएको छ । यी सबै प्रयासहरुको आधारमा हाम्रो सम्पूर्ण शक्ति यतिबेला डिजिटल फस्ट बैंक बन्ने तर्फ नै केन्द्रित रहेको प्रस्ट हुन्छ ।

एनआईसी एशिया बैंकले के–कस्ता सेवा तथा सुविधाहरु डिजिटल माध्यमबाट उपलब्ध गराउँदै आएको छ ?
बैंकको मोबाइल एप, इन्टरनेट बैंकिङ, आइसर्भ, बेवसाइट आदि माध्यमबाट बैंकिङ क्षेत्रमा प्रवेश हुँदादेखि सम्पूर्ण कारोबार तथा सेवाहरु डिजिटल माध्यमबाटै गर्न सकिने गरी डिजिटल माध्यमहरुको स्थापना गरेको छ । जस्तै बैंकको बेवसाइटबाट अनलाइनबाटै बचत तथा मुद्दती खाता खोल्ने सुविधा उपलब्ध गराएको छ । 

क्रेडिट कार्डको योग्यता जाँच तथा अनलाइन आवेदन दिन, कुन खाता खोल्दा कति फाइदा हुन्छ भन्ने जानकारी लिन तथा बेवसाइटमा भएको विनिफिट म्यापिङ क्यालकुलेटर प्रयोग गर्न सकिन्छ । बैंकले मर्चेन्ट (रेस्टुरेन्ट, सपिङ सेन्टर, अस्पताल आदि) सँग मिलेर प्रदान गर्ने छुट तथा अफरको जानकारी लिन, ई–कमर्स रजिस्ट्रेसन, बैंक ग्यारेन्टीको योग्यता बारे जानकारी लिन, ब्यालेन्स सर्टिफिकेट अनुरोध गर्न, खाताको स्टेटमेन्ट अनुरोध गर्न, डेबिट तथा क्रेडिट कार्डको बारे जानकारी समेत बैंकको बेवसाइटबाट लिन सकिन्छ । त्यस्तै कर्जाको योग्यता जाँच तथा कर्जा आवेदन समेत अनलाइनबाटै गर्न सकिने सुविधा बैंकले उपलब्ध गराएको छ । 

त्यस्तै, मोबाइल बैंकिङमार्फत विद्युत महसुल, खानेपानी महसुल, स्कुल फी, इन्टरनेट शुल्क, हवाईजहाजको टिकट, नेपाल टेलिकम, एनसेल, स्मार्टसेल टपअप गर्नुका साथै डिसहोम लगायत विभिन्न केबल टिभीको रिचार्ज गर्न, एनआईसी एशिया बैंकबाट अन्य बैंकमा रकम ट्रन्सफर तथा एनआईसी एशिया बैंककै अन्य खातामा रकम ट्रान्सफर, इन्स्योरेन्सको प्रिमियम भुक्तानी, फोनपे, ई–सेवा अथवा कुनै पनि बैंकको क्यूआर कोर्ड स्क्यान गरी रकम भुक्तानी, खातामा भएको मौज्दात जाँच गर्न, क्रेडिट कार्डको बिल भुक्तानी, डेबिट तथा क्रेडिट कार्ड हरायो वा चोरी भए तत्कालै बन्द गर्न, डेबिट र क्रेडिट कार्डमा अनलाईन पेमेन्ट गर्नका लागि रजिष्ट्रृेसन अनुरोध गर्न, चेकबुक बनाउने निर्देशन दिन, मिनिस्टेटमेन्ट, ई–सेवा, खल्ती आदी वालेट लोड गर्ने सुविधा उपलब्ध गराएको छ । 

एनआईसी एशिया बैंकले आइसर्भ सेवा पनि संचालमा ल्याइरहेको छ, जसबाट बैंकको शाखा कार्यालयमा गएर भर्नुपर्ने सम्पूर्ण फारमहरु अनलाइनबाटै भर्ने सुविधा उपलब्ध गराएको छ । त्यस्तै, मोबाइल बैंकिङ सुचारु गर्न, चेकबुक अनुरोध गर्न, इ–कमर्स दर्ता गर्न, ग्राहकहरूको मौज्दात रकम जाँच गर्न र बैंकको स्टेटमेन्ट अनुरोध गर्न पनि आइसर्भको प्रयोग गर्न सकिन्छ । आइसर्भबाटै बैंकमा रकम जम्मा गर्न तथा चेक जम्मा गर्नका लागिसमेत अनलाइन भौचर भर्ने सुविधा ल्याएको छ । 
बैंकले उपलब्ध गराएको अर्काे माध्यम इन्टरनेट बैकिङ  पनि हो । यस मार्फत एनआईसी एशिया बैंकबाट अन्य बैंकमा रकम ट्रन्सफर तथा एनआईसी एशिया बैंककै अन्य खातामा रकम ट्रन्सफर गर्न, खाताको विवरण हेर्न, डिम्याट खाताको जानकारी पाउन, नेपाल टेलिकम, एनसेल, स्मार्टसेल टपअप गर्नुकासाथै डिसहोम लगायत विभिन्न केबल टिभीको रिचार्ज गर्न, फोनपे, ई–सेवा अथवा कुनै पनि बैंकको क्यूआर कोर्ड स्क्यान गरी रकम भुक्तानी, क्रेडिट कार्ड पेमेन्ट, ब्यालेन्स सर्टिफिकेट अनुरोध गर्न, खाताको स्टेटमेन्ट अनुरोध गर्न सकिन्छ । 

त्यसबाहेक बैंकका फेसबुक, ट्विटर, भाइबर कम्युनिटी, इन्टाग्राम तथा युटुबबाट बैंकले दिदै आएको विभिन्न सेवा तथा पछिल्ला अफरहरुको बारेमा जानकारी प्राप्त गर्न सकिन्छ । ग्राहकहरुले एनआईसी एशिया बैंकको मिस्डकल नम्बर ९८०१२२७७५५, टोल फ्रि नम्बर १६६०-०१-७७७७१मा सिधा सम्र्पक गरी, HELP टाइप गरी ३४४८८ मा एसएमएस पठाएर, तथा feedback@nicasiabank.com  इमेल पठाएर बैंकसँग सम्बन्धित कुनै पनि गुनासो तथा जानकारी लिन सकिन्छ । 

अबको केही वर्षमा नेपालको डिजिटल बैंकिङ प्रणाली कहाँ पुग्छ । कस्तो खालको परिवर्तनको आँकलन गर्नु भएको छ ? डिजिटल बैंकिङको उक्त प्रतिस्पर्धामा एनआईसी एशिया बैंक कहाँ हुन्छ ?
यो समयमा डिजिटल बैंकिङ कहाँ पुग्छ भन्दा पनि आगामी दिनमा डिजिटल बैंकिङ कस्तो भए हुन्थ्यो भन्ने कुरा चाहिँ महत्त्वपूर्ण हो जस्तो मलाई लाग्छ । हामीले आँकलन गर्दा जसरी इन्टरनेट र टेलिकम्युनिकेसनको विस्तार भइरहेको छ, मोबाइल फोनको प्रयोग नेपालको कुल जनसंख्याको १ सय २० प्रतिशत भन्दा बढी पुगेको छ । यी तथ्यहरुले आगामी दिनमा नेपालको डिजिटल बैंकिङको प्रयोगमा उत्साहजनक रुपमा वृद्धि हुने आँकलन गर्न सकिन्छ । हालको कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउनले गर्दा ग्राहकहरुका डिजिटल च्यानल तर्फको कारोबार क्रमिक रुपमा बढिरहेको छ । डिजिटल च्यानललाई नै प्राथमिकता दिन बैंकले समेत विभिन्न छुट तथा क्यासब्याक जस्ता अफरहरु पनि दिएको थियो । बैंकमा डिजिटल पेमेन्ट सजिलो हुने वित्तिकै बैंकबाट पाइने अरु सेवा पनि डिजिटल माध्यामबाट लिन गाह्रो छैन भन्ने बुझाइ हुन्छ । त्यसैले आगामी दिनमा बैंकबाट हुने धेरै कामहरु डिजिटल माध्यमबाटै हुनुपर्छ भन्ने मेरो भनाइ हो ।

प्रतिस्पर्धाको कुरा गर्दा चाहिँ एनआईसी एशिया बैंक प्रतिस्पर्धामा भन्दा पनि यस विषयमा pioneering गर्ने उद्देश्यले आफ्नो डिजिटल फस्ट, लाइफ स्टाइल बैंकिङ जस्ता रणनीति अबलम्बन गर्दै अघि बढेका ेबैंक हो । हामीले हाम्रौ बैंकको फिजिकल सेवासँगै प्रतिस्पर्धा गर्ने हो । प्रत्येक अघिल्लो दिन भन्दा अर्काे दिन डिजिटल बैंकिङमा के कुरामा राम्रो गर्न सक्यौं वा लिएर गयौं भन्ने कुरा मुख्य केन्द्रमा राखेर हामीले आफ्नो गतिविधिहरु संचालन गरिरहेका छौं । अरु सँग प्रतिस्पर्धा गर्नु भन्दा पनि हामी डिजिटल बैंकिङ क्षेत्रमा pioneer बन्ने हिसाबले डिजिटल सेवामा सबैभन्दा अघि हुन्छौ भन्ने कुरामा दुई मत नै छैन ।

एनआईसी एशिया बैंकको प्राय सम्पूर्ण कारोबारहरु डिजिटल माध्यमबाट हुने सम्भावना देख्नुहुन्छ ? भयो भने कहिलेसम्म हुन्छ ?

केही वर्षअघि फर्केर हेर्ने हो भने एनआईसी एशिया बैंकले दिने डिजिटल सेवाहरुमा छलांङ नै मारेको छ । केही वर्षको अन्तरालमा मोबाइल बैंकिङ, क्यूआर, पिओएस (पस) आदि माध्यमबाट हुने कारोबारमा उत्साहजनक वृद्धि भएको छ । दुई वर्षअघि सन् २०१७/१८ मा एनआईसी एशिया बैंकले दिने सम्पूर्ण सेवाहरुको ३२ प्रतिशत सेवा डिजिटल माध्यमबाट प्रदान गर्दै आएको थियो । सन् २०१८/१९ मा त्यसलाई बढाएर ५० प्रतिशत र गत वर्ष सन् २०१९/२० मा ७० प्रतिशत सेवाहरु डिजिटल माध्यमबाट प्रदान गरेको छ । दुई वर्षमा हामीले दिने सेवाहरुमध्ये डिजिटल माध्यमतर्फ ४० प्रतिशतले वृद्धि भएको छ । चालु आर्थिक वर्षको अन्तसम्ममा हामीले ८० प्रतिशत सेवाहरु डिजिटल च्यानलहरुबाटै प्रदान गर्ने दृढ संकल्पका साथ अघि बढिरहेका छौं । गत आर्थिक वर्षमा नेपालमा जारी भएको डेबिट कार्ड मध्ये एनआईसी एशिया बैंकको त्यसमा हिस्सा करिब ३९ प्रतिशतले बढोत्तरी भएको छ, त्यस्तै सोही अवधिमा मोबाइल बैंकिङमा ११ प्रतिशत तथा इन्टरनेट बैंकिङमा १४ प्रतिशतले वृद्धि भएको छ र क्रेडिट कार्डमा ६ प्रतिशतले वृद्धि भएको छ ।

बैंकले हासिल गरेको यो डिजिटल बैंकिङको वृद्धि नेपालको अन्य बैंक भन्दा निकै उच्च रहेको हामीले अनुमान गरेका छौं । ग्राहकहरुप्रति उत्तरदायी हुँदै सहज, विश्वसनीय र गतिशील सेवा दिन डिजिटल फस्ट बैंक बन्नु नै आजको हाम्रो पहिलो र एकमात्र उद्देश्य हो । डिजिटल फस्ट बैंक बन्ने यात्रामा हामीले घरबाटै डिजिटल माध्यमबाट बैंक खाता खोल्ने सुविधाका साथै शाखा कार्यालयमा पुगेर समेत डिजिटल हस्ताक्षर, डिजिटल औँठाछापको प्रयोग गरी डिजिटल खाता खोल्ने सुविधा प्रयोगमा ल्याएका छौं । यसले गर्दा लामो फर्म भरेर खाता खोलिरहने झन्झटको अन्त्य गरिदिएको छ । त्यस्तै, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, आइसर्भ लगायतका च्यानलहरुबाट अनलाइनक्यास डिपोजिट गर्ने, चेक डिपोजिट गर्ने, ब्यालेन्स जाँच गर्ने, चेक अनुरोध गर्ने, ई–कमर्स दर्ता गर्ने, ब्यालेन्स सर्टिफिकेट र बैंक स्टेटमेन्ट अनुरोध गर्ने सुविधा प्रदान गर्दै आइरहेका छौं ।

नेपालमा डिजिटल बैंकिङका लागि चाहिने आवश्यक भौतिक पूर्वाधारको तयारी तथा जनशक्ति पनि तयार नभई बैंकहरु डिजिटल बैंकिङमा जान खोजेको आरोप लगाइन्छ । यो हतारो त होइन ? के हाम्रो बैंकिङ पुर्वाधार त्यो सबैको लागि तयार छन् ?
मैले अघि भनेको जस्तै पछिल्लो समय स्मार्टफोन तथा इन्टरनेटको विस्तारले गर्दा डिजिटल ट्रान्सफरमेशनको काम जटिल देखिँदैन । डिजिटल बैंकिङ भनेको अन्ततः स्मार्ट फोन, मोबाइल फोन वा इन्टरनेटमा नै आधारित हुने भएकाले डिजिटल बैंकिङका लागि चाहिने एक किसिमको आधारस्तम्भ तयार भइसकेको छ । डिजिटल बैंकिङ तथा विद्युतीय कारोबारका लागि पूर्वाधारमा जोड, नेसनल आईडी, नेसनल स्विच, जस्ता कुराहरुमा ध्यान केन्द्रित गरी बैंकिङ क्षेत्र यसमा लागेमा अवश्य नै हामीले नेपाल सरकारले परिकल्पना गरेको डिजिटल नेपाल लाई मूर्त रुप दिन सक्छौं ।

नीतिगत तहमा हामीले धेरै कुरा गर्न सक्छौं । छिमेकी राष्ट्र भारतमा भएको डिजिटल बैंकिङबाट पनि थुप्रै कुराहरु सिक्न सकिन्छ । त्यहाँ रिजर्भ बैंक अफ इन्डिया र भारत सरकार मिलेर भुक्तानीको कामलाई सहज बनाउन नेसनल पेमेन्ट कर्पाेरेसन अफ इन्डियाको स्थापना गरी भारतले डिजिटल भुक्तानीमा निकै ठूलो छलाङ मारेको देखिन्छ तथा एक शसक्त डिजिटल पृष्ठभूमि समेत तयार पारेको छ । नेपाल सरकारले पनि त्यस्तै खालको नीति अबलम्बन गरी बैंकिङलाई पूर्णरुपमा फिजिकल बाट क्यासलेस इकोनोमीतर्फ डो-याउन सकिन्छ । अहिले नै हाम्रो बैंकिङ क्षेत्रमा पार्याप्त मात्रामा दक्ष जनशक्ति उपलब्ध छन्, जसले डिजिटल बैंकिङमा आमुल परिवर्तन गर्ने सामथ्र्य राख्दछन् तर उचित वातावरण र उपयुक्तनीति तथा नियमको प्रतिक्षा गरिरहेका छन् । 

एनआईसी एशिया बैंकबाट अनलाइन वा डिजिटल कारोबार गर्दा ग्राहकलाई कसरी फाइदा हुन्छ ?
मैले अघि पनि भनिसके कि हामीले पछिल्ला केही वर्षहरुमा ग्राहकलाई डिजिटल माध्यमप्रति आकर्षित गर्न विभिन्न सुविधाहरु ल्याएका छौं । विभिन्न छुट तथा क्यासब्याकका सुविधाहरु दिएका थियौं, अहिले पनि दिइरहेका छौं र आगामी  दिनहरुमा पनि यस्ता अफरहरु जारी रहने प्रतिवद्धता जनाउँछु । बैंकले स्वास्थ्य, दैनिक उपभोग्य सामग्रीका पसलहरु, होटल तथा रेष्टुरेन्ट लगायतकाविभिन्न क्षेत्रमा आवद्ध २५०० भन्दा बढी मर्चेन्टहरुसँग सहकार्य गरेर ३० प्रतिशतसम्म आफ्ना ग्राहकहरुलाई छुट उपलब्ध गराउँदै आएको छ । तपाईंले चामल, दाल, मसला जस्ता दैनिक उपभोग्य सामाग्रीहरु वर्षमा १ लाख रुपैयाँको खरिद गर्नुभयो भने पनि कम्तिमा १० प्रतिशतका दरले छुट पाउँदा वर्षमा १० हजार बचत हुन्छ । खाद्यान्नको मात्रै कुरा होइन हस्पिटल तथा रेष्टुरेन्टमा हुने खर्च हिसाब गर्दा छुटले मात्रै वर्षमा मोटो रकम बचत गर्न सक्नुहुन्छ । 

त्यति मात्रै नभएर ग्राहकलाई बैंकले दिने अन्य थुप्रै डिजिटल सुविधाहरु पनि निःशुल्क प्रदान गरेको छ । देशकै सबैभन्दा ठूलो एटीएम संजाल भएकाले पनि एटीएमबाट लिने बैंकिङ सुविधा सहज रुपमा उपलब्ध छन् । त्यसैले हामी भन्छौं, एनआईसी एशिया बैंकमा खाता खोली अतुलनीय तथा असीमित फाइदा पाउनुहोस् । यस बैंकले ग्राहकको इच्छा, चाहना तथा आवश्यकताहरु जस्तो सुकै विषम परिस्थितिमा पनि प्रभावकारी रुपमा सम्बोधन गर्न बैंकले आफ्नो ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ मन्त्रलाई मूर्तरुप दिँदै ग्राहकहरुको सर्वाेपरि हित तथा वित्तीय भार कम गर्ने उद्देश्यले डिजिटल माध्यमको प्रयोग गर्दा विभिन्न छुटका अवसरहरु समेत उपलब्ध गराउँदै आएको छ ।

हामीले बैंकको शाखा कार्यालमा आएर गर्नुपर्ने सबै काम ग्राहकले चाहेको समयमा र आफूलाई पायक पर्ने स्थानबाट त्यसमा पनि आफ्नै मोबाइलको डिजिटल प्रविधिबाट उपभोग गर्न मिल्ने व्यवस्था क्रमशः प्रदान गरिरहेका छौं । आजको दिनमा ग्राहकहरुले बैंकसँग जोडिनको लागि बैंकको शाखा कार्यालयमा पुग्नु पर्दैन । हामीले ५ मिनेट भन्दा छोटो समयमै अनलाइन मार्फत खाता खोल्ने सुविधा ल्याएका छौं । खाता खोलिसकेपछि केवाईसीको लागि एक पटक मात्रै बैंकको शाखा कार्यालयमा आए पुग्ने व्यवसस्था मिलाएका छौं । हाम्रो आइसर्भ सेवा मार्फत मोबाइल बैंकिङ सेवा, कार्ड अनब्लक, ब्लक तथा पिन रिसेट,क्यास डिपोजिट, चेक डिपोजिट, ब्यालेन्स जाँच गर्न, नयाँ चेक अनुरोध गर्न, ई–कमर्स दर्ता गर्न, ब्यालेन्स सर्टिफिकेट अनुरोध, बैंकस्टेटमेन्ट आदि थुप्रै सेवाहरु अनुरोध गर्न सकिन्छ । एनआईसी एशिया बैंकका कुनैपनि डिजिटल सेवाका लागि अनुरोध गर्न कुनै पनि शुल्क तिर्नु पर्दैन । साथै ग्राहकहरुले मौज्दात रकम तथा स्टेटमेन्ट पनि डिजिटल माध्यमबाटै थाहा पाउन सक्नुहुन्छ । यसले गर्दा अहिलेको समयमा ग्राहकहरुले बैंकसम्म पुगेर लामो लाइन बसेर गर्नुपर्ने विभिन्न कामहरु डिजिटल माध्यमबाटै गर्दा समय सँगै बैंकमा जादा लाग्ने फजुल खर्च पनि बचत गर्न सक्नुहुनेछ ।

तपाईंले भनेको जस्तै डिजिटल कारोबारहरु सहज भएपनि सुरक्षाको दृष्टिले त्यतिनै जोखिमपूर्ण मानिन्छ, यसमा यहाँको भनाइ के छ ? बैंक, ग्राहक र तेस्रो पक्षको सुरक्षाको लागि के गर्नुपर्ला ?

पक्कैपनि डिजिटल बैंकिङमा वित्तीय कारोबार हुने भएकाले यो सुरक्षाको दृटिले जोखिमपूर्ण नै मानिन्छ । यस्तै जोखिमलाई मूल्यांकन गर्दै नेपाल राष्ट्र बैंकले पनि विभिन्न सुरक्षाका विधिहरु अपनाउनको लागि बैंकहरुलाई निर्देशन दिएको छ । एक हिसाबले बेला बेलामा बैंकहरुमा यस्ता घटनाहरुको समाचार पनि आइरहेका हुन्छन् । हामी डिजिटल च्यानलहरुको विकास तथा विस्तारसँगै सुरक्षा चुनौतिहरुलाई पनि केन्द्रमा राखेर काम गरिरहेका छौं । त्यसको लागि नियमित IT तथा IS audit को काम भइरहेको छ । साथै नेक्सजेन फायरवाल (Next GEN firewall) प्रयोग भइरहेको छ । जोखिमयुक्त कारोबारहरुलाई तत्कालै पत्ता लगाएर कारबाहीको चरणमा जानको लागि IPS IDS जस्ता प्रविधिको पनि प्रयोग भइरहेको छ ।

बैंकले एपको लागि तेस्रो पक्षका सेवा प्रदायहरुको सेवा प्रयोग गरिरहेको छ । यस्ता एपहरु प्रयोगमा ल्याउनु भन्दा अघि सेक्युरिटी र भीएपिटी जाँच गरेर मात्रै प्रयोगमा ल्याइएको हुन्छ । कार्डसम्बन्धी कारोबार र जानकारीको सुरक्षाको लागि बैंकले पिसिआई डिएसएस स्ट्यान्डर्ड अवलम्बन गरेको छ । त्यस्तै कार्डमा हुने सुरक्षा जोखिमलाई कम गर्नको लागि बैंकिङ प्रणालीमा सबैभन्दा उन्नत Global Risk Technology – GRM जडान यस बैंकले गरेको छ । साथै VISA ले आफ्नो क्षेत्रबाट जाँच र प्रमाणीकरण गर्न सक्ने व्यवस्था स्वरूप CAM validation र VISA Advanced Authorization को व्यवस्था समेत गरेका छौं । 

बैंकिङ सिस्टमको सुरक्षामा सेवाग्राही पनि जागरुक हुनु अत्यन्त जरुरी छ । त्यसको लागि सबैभन्दा पहिलो कुरा ग्राहकहरुले आफ्नो आफ्नो व्यक्तिगत सुचनाहरु (नाम, ठेगाना, फोन नम्बर, मोबाइल नम्बर, जन्म मिति, खाता नम्बर, कार्ड नम्बर, अन्तिम मिति, पिन CVV पासवर्ड, युजरनेम आदि) सुरक्षित राख्ने । यी सूचनाहरु चाहिएको बेलामा सम्बन्धित व्यक्तिबाहेक अन्य कसैलाई पनि नदिने । त्यस्तै, Lottery, DV, Holiday  जस्ता स्किमको लागि कसैले अघि भनिएका सूचना मागेमा नदिने । आफ्नो पासवर्ड तथा एटीएमको पिन बेला बेलामा परिवर्तन गरिरहने । यसले गर्दा व्यक्तिगत सूचना बाहिर जान पाउँदैन र खाता सुरक्षित रहन्छ । 

Source: http://ratopati.com/story/141131/2020/8/2/nic-asia-ceo-roshan