Now you can get a card from a bank to spend in dollars, these are the conditions

Now you can get a card from a bank to spend in dollars, these are the conditions

अब डलरमा खर्च गर्न बैंकबाट कार्ड पाइने, यस्ता छन् शर्त (Source: Setopati.com)

अब अनलाइनबाट विदेशी बस्तु तथा सेवा खरिद गरी वार्षिक ५ सय अमेरिकी डलरसम्म खर्च गर्न पाइने भएको छ। स्वदेशका बैंकहरुमार्फत नै प्रिपेड कार्ड बनाएर सो बराबरको रकम खर्च गर्न पाइने भएको हो। 

यसअघिसम्म विदेशी कार्डमार्फत मात्रै बस्तु तथा सेवा खरिदकाे भुक्तानी हुँदै आएको थियो। नेपालबाटै वैधानिक रुपमा खर्च गर्न पाइने व्यवस्था थिएन।

राष्ट्र बैंकले वाणिज्य बैंकहरु र विकास बैंकहरुलाई ५ सय अमेरिकी डलरसम्मको प्रिपेड कार्ड बनाएर जारी गर्न पाउने अख्तियारी दिएको छ। 

परिवर्त्य विदेशी मुद्राको प्रिपेड कार्ड लिन चाहने व्यक्ति, फर्म, कम्पनी वा संस्थाको बैंक खातामा रहेको नेपाली रुपैयाँलाई सटही गरी त्यस्तो कार्ड जारी गर्न सकिनेछ। कार्ड जारी गर्दा सम्बन्धित प्रयोगकर्ताको ग्राहक पहिचान  विवरण अद्यावधिक भएको तथा सम्बन्धित प्रयोगकर्ताले स्थायी लेखा नम्बर लिएको हुनुपर्नेछ।

ग्राहकको अनुरोधमा कार्डमा उक्त दिनको विनिमय दरका आधारमा अधिकतम अमेरिकी डलर ५०० वा सो बरावरको परिवर्त्य विदेशी मुद्रा जम्मा गर्न सकिनेछ।

प्रयोगकर्ताले एकै पटक वा पटक-पटक गरी एक वर्षमा वढीमा अमेरिकी डलर ५०० वा सो बराबरको अन्य परिवर्त्य विदेशी मुद्राको सटही सुविधा प्राप्त गर्न सक्तेछन् सो प्रयोजनका लागि कार्ड जारी भई सक्रिय भएको दिनबाट समयावधि गणना शुरु हुनेछ।

नेपालको प्रचलित कानूनले प्रतिवन्ध नलगाएका विदेशी वस्तु तथा सेवा कार्ड प्रयोगकर्ताले अनलाइनमार्फत् विदेशबाट खरिद गर्न सक्नेछन्। बैंकहरुले कुनै पनि समयमा अमेरिकी डलर ५०० वा सो बराबरको परिवर्त्य विदेशी मुद्राको सीमाभन्दा बढी रकम कार्डमा जम्मा गर्न पाइने छैन।

कार्ड प्रयोगकर्ताले विदेशमा अनलाइनमार्फत सेवा निर्यात गरेबापत आर्जन गरेको विदेशी मुद्रा समेत कार्डमा जम्मा हुने व्यवस्था मिलाउनु पर्नेछ। यसरी विदेशी मुद्रा प्राप्त रकम कार्ड प्रयोगकर्ताको अनुरोधमा निजको स्वदेशी वा विदेशी मुद्रा खातामा जम्मा हुन सक्ने व्यवस्था समेत गर्नुपर्नेछ।

सेवा निर्यात गरी विदेशी मुद्रा आर्जन गरेका कार्ड प्रयोगकर्ताले विदेशबाट बस्तु तथा सेवा खरिद गर्दा भुक्तानीको लागि विदेशी मुद्रा सटहीको वार्षिक सीमा विदेशी मुद्रा आर्जन गरेको रकम र अमेरिकी डलर ५०० को योग बराबर हुनेछ तर, यस्तो रकम बढीमा वार्षिक अमेरिकी डलर ५,००० वा सो बराबरको अन्य परिवर्त्य विदेशी मुद्रासम्ममा मात्र सीमित हुनेछ।

कार्डको मौज्दात अमेरिकी डलर ५,००० वा सो बराबरको परिवर्त्य विदेशी मुद्राभन्दा बढी भएको अवस्थामा सो बढी रकम अनिवार्य रुपमा निजको स्वदेशी वा विदेशी मुद्रा खातामा जम्मा गर्नु पर्नेछ।

प्रिपेड कार्ड जारी गर्दा बैंकहरुले ग्राहकबाट अन्य बैंक र विकास बैंकबाट सो सुविधा नलिएको स्वघोषणा अनिवार्य गराउनुपर्नेछ। खातामा रहेको रुपैयाँ खर्च हुनेगरी सम्बन्धित खातावालाको नाममा प्यान नम्वर समेत भिडाई कार्ड जारी गर्ने व्यवस्था मिलाउनु पर्नेछ।

ग्राहकले एकभन्दा बढी बैंकबाट यस्तो सुविधाको उपयोग गरेको पाइएमा विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ बमोजिम कारबाही हुनेछ ।

कार्डबाट कारोबार गर्दा सम्पत्ति शुद्धीकरण (मनि लाउण्डरिङ्ग) निवारण ऐन, २०६४ लगायतका प्रचलित कानून, नियम, निर्देशनको पूर्णतयाः पालना गर्नु पर्नेछ।

जारी गरिएको कार्डसम्बन्धी विवरण र सो कार्डबाट खर्च भएको विवरण सम्बन्धित बैंकले संलग्न ढाँचामा मासिक रुपमा प्रत्येक महिना समाप्त भएको सात दिनभित्र राष्ट्र बैंकमा पेश गर्नु पर्नेछ।

प्रचलित कानून बमोजिम रकम फिर्ता गर्नुपर्ने अवस्था आएमा वा ग्राहकको अनुरोधमा कार्डमा जम्मा भएको रकम फिर्ता गर्नुपर्ने भएमा त्यस्तो रकमलाई सोही दिनको विनिमय दरको आधारमा प्रयोगकर्ताको खातामा जम्मा गरिदिनु पर्नेछ। 

यसरी जारी भएका कार्ड अनलाइनमार्फत् वस्तु तथा सेवा आयात वापतको भुक्तानी गर्ने प्रयोजन बाहेक पुँजीगत कारोबारको लागि खर्च गर्न पाइने छैन। साथै, यस्ता कार्ड प्रयोग गरी एटिएमबाट नगद झिक्ने, पसमार्फत कारोबार गर्ने लगायतका कारोबार गर्न नसकिने व्यवस्था मिलाउनु पर्नेछ।

कार्ड प्रयोगकर्ताबाट वस्तु तथा सेवा आयातबापतको खर्च भएको रकमको बील बीजक लगायत आवश्यक विवरण माग गर्न सकिनेछ र यसरी कागजात लगायतका विवरण माग भएको अवस्थामा ग्राहकले सम्बन्धित बैंकलाई उपलब्ध गराउनु पर्नेछ। तोकिएको सीमा, शर्त र व्यवस्थाको प्रतिकूल हुने गरी कार्डबाट खर्च गरिएको पाइएमा  त्यस्तो कार्डबाट कारोबार गर्न जुनसुकै बखत रोक लगाउन सकिनेछ।

सीमा, शर्त र व्यवस्थाको प्रतिकूल हुने गरी कारोबार गर्नेहरूको विवरण नेपाल राष्ट्र बैंकमा उपलब्ध गराउनु पर्नेछ र यसमा नेपाल राष्ट्र बैंकले आवश्यक कारबाही समेत गर्न सक्नेछ। साथै, नेपाल राष्ट्र बैंकले आवश्यक ठानेमा जुनसुकै बेला यस्तो सटही सुविधा र कार्ड जारी भइसकेको अवस्थामा समेत कारोबार रोक्न निर्देशन दिन सक्नेछ।

 

Source: https://www.setopati.com/kinmel/banking/232537

*Revive Management has aggregated the information from the internet and does not guarantee, approve or endorse the information provided.