Recognize these dozens of opportunities - not just the Corona Crisis

Recognize these dozens of opportunities - not just the Corona Crisis

विपद्‌ले संकटमात्र निम्ता गर्दैन, सपना पनि रेखांकित गरिदिन्छ । त्यसै भनिएको होइन– समस्या नै आविष्कारको जननी । कोरोना महाव्याधिपछिको नयाँ वर्षमा नेपालसँग कस्ता अवसर छन् त ?

सुनामीझैँ विश्व दौडमा निस्किएको कोरोना भाइरसले मानवजातिको लामो समयको बेहोसीलाई बिउँझाउने संकेत दिएको छ ।

भूमण्डलीकरणको मैदानमा फैलिँदो कोरोना महाव्याधिको प्रस्ट संकेतचाहिँ सामाजिक, आर्थिक, राजनीति उतरचढावसँग जोडिन्छ, जसले मानव जाति एक लाख वर्षयताकै गम्भीर संकटमा रहेको बताइरहेको छ ।

तर, विपद्‌ले संकटमात्र निम्ता गर्दैन, सपना पनि रेखांकित गरिदिन्छ । त्यसै भनिएको होइन– समस्या नै आविष्कारको जननी ।

कोरोना महाव्याधिपछिको नयाँ वर्षमा नेपालसँग कस्ता अवसर छन् त ? अलिकति चर्चा गरौँ ।

१) अब डिजिटल दुनियाँ

कोरोनाबारे सरकारी सूचना भाइबर ग्रुप या एपबाट आउँछ । हरेक अपराह्‍न सवा ४ बजे फेसबुक पेजबाट लाइभ आउँछ । अर्थात् स्वास्थ्य मन्त्रालय डिजिटल दुनियाँभित्र पूरापुर छिरिसकेको छ ।

क्‍वारेन्टाइनमा बसेका नागरिकले आफ्नो स्वास्थ्य अवस्था एप्समा अपलोड गरेर सरकारसम्म पुर्‍याउन सक्छन् । स्वास्थ्य मन्त्रालयमात्रै नभएर अन्यत्र पनि ई–गभर्नेन्सका लागि भइरहेका प्रयास हेर्दा भन्‍न सकिन्छ– अबका दिन डिजिटलमय हुनेछन् ।

विश्वविद्यालय, विद्यालयका कक्षा मात्र होइन, क्रेताबिक्रेताले सामान खरिदसमेत डिजिटल दुनियाँबाट सुरु गरिसकेका छन् । विभिन्‍न कार्यालयले ‘घरबाटै काम’ को अवधारणा ल्याएर कर्मचारीबाट काम लिइरहेका छन् । घरबाटै कारोबार गर्ने सुविधा पनि डिजिटलले दिएको छ ।

टेलिमेडिसिन विस्तारित हुनेछ । यो अर्को फड्को हुनेछ, डिजिटल दुनियाँका लागि । आईटीविज्ञ तथा कान्तिपुर सिटी कलेजका प्रमुख राजु कट्टेलको भनाइमा नेपालको शिक्षा, व्यापार, वित्तीय क्षेत्रमा प्रविधिले निकै फड्को मार्नेछ । “सामाजिक दूरी कायम राखेर नै अध्यापन कक्षा सञ्‍चालन गर्ने विधिका रूपमा अनलाइन शिक्षा सुरु भइसकेको छ,” कट्टेल भन्छन्, “लकडाउनपछि मान्छेमा बढी नै प्रविधिप्रतिको सचेतता र विश्वासको वातावरण सिर्जना भएको छ ।”

२) भर्चुअल शिक्षाको दैलो खुल्दै

 

नेपालका विद्यालय र विश्वविद्यालयको शिक्षण विधि हो– ‘फेस टु फेस’ । प्रवचन शैलीको शिक्षण विधि परिमार्जनको प्रयासमा प्रशस्त गोष्ठी र सेमिनार नभएका होइनन् । विश्वविद्यालयमा सेमेस्टर प्रणालीको बीजारोपण प्रवचन शैलीको विकल्पमा थियो, भलै कामयाबी भएन । तर, नयाँ वर्ष र कोरोना महाव्याधिले अर्को दैलो उघारिदियो– अनलाइन अध्यापन । अभ्यासकै रूपमा पहिला पनि नभएको चाहिँ होइन, भर्चुअल दुनियाँमा । तर, प्रभावकारी र विस्तारित थिएन । कोरोनाको सन्त्राससँगै सुरु भएको घरबन्दीपछि त्रिभुवन विश्वविद्यालय, काठमाडौँ विश्वविद्यालयले अनलाइन अध्यापनका कक्षा सञ्चालन गरिसकेका छन् । जुम सफ्टवेयरमार्फत घर बसेरै शिक्षक र विद्यार्थीबीच संवाद मात्र हुँदैन, गृहकार्य पनि जाँचिन्छ, जसले शिक्षण पद्धतिमै फेरबदल ल्याउनेछ । त्यसबाट शिक्षालय र शिक्षक बदलिनेछन् । शैक्षिक सामग्रीको रूपरंगै फेरिनेछ । त्यसबाट स्वत: सरकारी शैक्षिक नीति तथा कार्यक्रम प्रभावित हुनेछ ।

ग्लोबल इन्टिच्युट फर इन्टरडिसिप्लिनरी स्टडिजमा आबद्ध अनुसन्धानकर्ता उत्तमबाबु श्रेष्ठ अनलाइन दूरशिक्षा, डिजिटल पाठ्यपुस्तक उत्पादनको सम्भावना बढेको ठान्छन् । “त्यसो गर्न सकियो भने दूरदराजका विद्यालयमा समयमा पाठ्यपुस्तक नपुगेका भनेर चिन्ता गर्नुपर्ने अवस्था पनि रहँदैन,” श्रेष्ठ भन्छन् । अस्ट्रेलिया, अमेरिकालगायत विकसित देशका विद्यालयले अनलाइनमा पाठ्यपुस्तक उपलब्ध गराएका हुन्छन् ।

३) अब ई–कमर्श

सागसब्जी या फलफूल, चामल होस् कि ग्यास, लत्ताकपडा वा गुडिया– तपाईँ जे चाहनुहुन्छ, सब तपाईँसामु छिनभरमै आइपुग्छ । तर, तपाईँले अनलाइनमा एक क्लिकचाहिँ गर्नु पर्छ । ‘फेस टु फेस’ अर्थात् बार्गेनिङसहितको किनबेचमा मन लगाएका नेपालीका लागि डिजिटल दुनियाँ निकै परतिर थियो । र, आपूर्ति सञ्जालमा निरन्तर आएका परिवर्तनप्रतिको अविश्वासले अनलाइन बिजनेस, ईकमर्श अपेक्षित गतिमा विस्तार थिएन । तर, लकडाउनसँगै ईकमर्श बिजनेसन फस्टाउन थालेको छ । विश्वास जगाउन थालेको छ । विगतमा पनि अनलाइन सपिङ नभएको चाहिँ होइन । तर, लकडाउनले जति भरोसा बढायो, त्यसले आउँदो दिनमा ईकमर्शको दुनियाँ फराकिलो बनाइदिएको छ । अर्थात् नयाँ वर्षसँगै ईकमर्शले अर्को फड्को मारेको छ ।

लकडाउनको प्रभावले मान्छेमा अनलाइनमार्फत वित्तीय कारोबारको विश्वास पनि बढेको कट्टेलको विश्लेषण छ । कट्टेलले भनेझैँ अहिले विभिन्‍न अनलाइन पे सिस्टमले दैनिक करौडौँ कारोबार गरिरहेका छन् । यसले अन्तत: कागजी नोटको प्रयोगमा पनि कमी ल्याउनेछ ।

४) प्रकृतिसँग प्रेम

जैविक विविधता महासन्धिको सम्मेलन (कोप १५) यसै वर्ष हुँदै थियो, चीनमा । सन् २०१० मा तय भएको दशक लामो जैविक विविधता संरक्षण रणनीतिको म्याद सकिँदै थियो । अर्थात् आउँदो सन् २०३० सम्मका लागि अर्को रणनीति रेखांकित गर्नु थियो । कोरोना महाव्याधिले सरेको छ, टरेको छैन । अनि स्कटल्यान्डमा हुँदै थियो, जलवायु सम्मेलन (कोप २६ ) । पेरिस सम्झौता कार्यान्वयनमा ठोस रणनीति अपेक्षित थियो । कोप २५ मा विकसित देशको मत बाझिएर कार्वन व्यापारको व्यवस्थापन, कार्वन उत्सर्जन कटौती, जलवायुजन्य क्षतिमाथि लगानी तथा जलवायु वित्तजस्ता मुद्दा सल्टिएका थिएनन् । त्यसमाथि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आगमनसँगै अमेरिका पेरिस सम्झौताबाट बाहिरिएपछि थप संकट निम्तिएको थियो ।

कोरोना महाव्याधिले ती दुवै सम्मेलन स्थगित त भए, त्यसको शुभ संकेतचाहिँ प्रकृतिमाथिको बहस झन् केन्द्रमा तानिदियो । अर्थात, केही अध्ययनले जब चमेरोबाट सालक र सालकबाट मानिसमा कोरोना संक्रमित भएको संकेत प्रस्टाए । त्यसले प्रकृतिमाथिको दोहन नियन्त्रणको बहस थप चर्को बनाइदियो । चर्किदो संरक्षण स्वर र प्रकृति प्रेमको आभाले चीन दबाबमा छ, जसले गर्दा वन्यजस्तुको आखेटोपहार आयातमा अस्थायी प्रतिबन्ध मात्र लगाएको छैन, वन्यजन्तुसम्बन्धी कानुन संशोधनको तयारीमा छ । वर्षमा २७ खर्बभन्दा बढ्ताको अवैध व्यापार हुने वन्यजन्तुको आखेटोपहारले प्रकृतिमाथि सन्तुलन भत्काइरहेको छ । प्रकृतिको अधिक दोहनले निम्तिने महाव्याधि र प्रकोपले मानव जाति स्वयं संकट भोगिरहेको छ ।

कोरोना महाव्याधिबाट नेपालजस्ता देशलाई प्रकृति प्रेमको अन्तर्राष्ट्रिय नेता बन्‍ने अवसर छ । यति बेला नेपालले प्रकृति प्रेमको आवाज बुलन्द गर्न सक्छ, विचार र एजेन्डाको नेतृत्व गर्ने अवसर त्यति निकट हुनेछ, जसका लागि ती अन्तर्राष्ट्रिय मञ्च मात्र होइन, राष्ट्रिय तहका सगरमाथा संवादजस्ता मञ्चहरू पनि उपयोगी हुनेछन् । प्रकृतिसँगको प्रेमले अबको विकासको मोडलमा समेत परिर्वतन हुने सम्भावना छ । अनुसन्धानकर्ता श्रेष्ठ पनि वातावरणको क्षेत्रमा प्रशस्त विमर्श हुने बताउँछन् । “कोरोना महाव्याधिसँगै चीनमाथि वन्यजन्तु तस्करी नियन्त्रण तथा वातावरण संरक्षणमाथि व्यापक दबाब बढेको छ,” अनुसन्धाकर्ता श्रेष्ठ भन्छन् “चीन स्वयं पनि आत्मस्वीकृतिमा देखिएकोले वातावरणको क्षेत्रमा सकारात्मक सन्देश प्रवाहित हुन सक्छ, त्यो बेला नेपालको भूमिका बढ्ता सक्रिय हुन जरुरी छ ।”

५) इलमको आशा

सामाजिक अभियन्ता महावीर पुनको टोलीले चिकित्सकका लागि व्यक्तिगत सुरक्षा कवच बनायो । जुगाड शैलीकै भए पनि नवप्रर्वतनको प्रयास थियो, जसले व्यक्तिगत सुरक्षा कवजको अभाव टार्छ, आयातमा खर्चिने ठूलो रकम जोगाउँछ । त्यति मात्र होइन, देशभित्रै सीप र इलमलाई प्रोत्साहित गर्छ । पुनको प्रयासले प्रस्ट पार्छ कि नेपालमा कोरानोको कहर र नयाँ वर्षसँगै नवप्रवर्तनका सोच विकसित हुनेछन् । अनुसन्धानकर्ता श्रेष्ठ भन्छन्, “स्वदेशी उत्पादनशीलताको विकास हुने सम्भावना छ ।”

भलै, केही वर्ष कोरोना महाव्याधिपछिको विश्व अर्थतन्त्र ढलपलमै चल्नेछ । अप्रिलको मध्यसम्म कोरोनाले विकसित मुलुक बढ्ता प्रभावित छन्, जसले ती देशमा उत्पादकत्वमा गिरावट आइरहेको छ । रोजगारीमा कटौती छ । कृषि उत्पादनमा समस्या आइसकेको छ, जसले हरेक मुलुक आन्तरिक उत्पादन, रोजगारीमा जोड दिन बाध्य छन्, त्यो मार बढ्ताचाहिँ आप्रवासीमा पर्नेछ । र विकसित मुलुकमा पुगेका नेपालीको रोजगारी कटौतीमा पर्दा उनीहरू नेपाल फर्किने सम्भावना पनि छ । अर्को त्यो विकराल परिदृश्य नियालेका युवा विदेश जाने रहर मार्न सक्छ । स्वदेश फर्किएको युवा सीपसहित आएको हुन्छ, जसले नयाँ इलम सुरु गर्न सक्छ । र, विदेसिने रहर मारेको युवा स्वेदशै अर्को इलममा काम गर्न सक्छ । अर्थात्, उद्यमशीलताका दैलो खुला हुनेछ । ससाना र मझौला उद्योग विस्तारित हुनेछन् ।

६) कृषि उत्पादन

भियतनामले धान निर्यातमा संकुचन गर्दै छ । विश्वको तेस्रो धान निर्यात देशको यो संकुचनको अर्थ हो, विश्व खाद्यान्‍न संकटसम्मुख छ । अर्थात्, आन्तरिक उत्पादन आन्तरिक खपतमा जोड दिने यस्तो नीतिले नेपालजस्ता खाद्यान्‍न आयात गर्ने देश प्रभावित हुनेछन् । त्यसको चेतावनी त विश्व खाद्य कार्यक्रमले पनि दिइसकेको छ । कृषि कर्ममा सक्रिय हुनुपर्ने समय लकडाउनले थुनिँदा उत्पादन स्वत: घट्नेछ । नेपालमै पनि अहिले हिउँदे गहुँ फसल गर्ने समय हो । चैते धान रोप्‍ने बेला र असारे धानको बीउ राख्‍ने बेला हो । तरकारी र मकै बजार पठाउने बेला हो ।

पशुजन्य उत्पादन दूध, माछामासु, मह उपभोक्तासम्म पठाउन समस्या छ । वर्षे बाली र वसन्ते बाली रोप्न अप्ठ्यारो अवस्था अझै केही साता प्रभावित भइदिए झनै सकस हुनेछ । कृषि तथा वन विज्ञान विश्वविद्यालयकी कामु उपकुलपति शारदा थपलियाको भनाइमा निरन्तरको प्रतिकूलताले उपभोग्य खाद्यान्‍नसहित बीउमा समेत समस्या हुनेछ । “तर, यही बेला हामीले विभिन्‍न उपायको खोजी र स्थानीय उत्पादनमा जोड दिन सकियो र कृषिप्रतिको आकर्षण बढाउन सकियो भने नेपालका लागि गतिलो अवसर पनि हो,” थपलिया भन्छिन् ।

नेपाल फलफूलमा ८० प्रतिशत, चिनीमा २० प्रतिशत, दालमा ५६ प्रतिशत, तरकारीमा १५ प्रतिशत र खाने तेलमा ५० प्रतिशत निर्भर छ । त्यसबाहेक खपतको आयातको हिस्सा भारतसँग छ । अहिले भारत पनि लकडाउनको मारले कृषि क्षेत्रमा नेपालको झैँ समस्या भोगिरहेको छ, जसको अर्थ उसले निर्यातका लागि पर्याप्त उत्पादन गर्न नसक्ने पनि हुन सक्छ ।

नेपालको समस्या के भने एकातिर कृषि श्रमिकको अभाव अर्कातिर उपादकत्व कमजोर । यसले कृषि उपजको आयात बढ्दो छ । नेपालले धान मात्रै करिब २६ अर्ब रुपैयाँको आयात गर्छ । तरकारी पनि भारतबाट आयात हुन्छ । सोयाबिन ब्राजिलबाट आयात हुन्छ । कृषियोग्य जमिनमा बढ्दो आवास र बाझिने क्रमले नेपालको कृषि उत्पादन स्वत: गिरावट छ । तर, अब नेपालका कृषि उत्पादनमा गतिलो सम्भावना पनि छ । विदेशबाट कतिपय युवा फर्किनेछ, रोजगार कटौतीले । र कतिपय रोकिनेछन् । ती युवालाई सरकारले परिचालन गर्न सक्छन्, कृषि क्षेत्रमा । त्यसबाहेक कृषिमा संलग्नलाई पनि आकर्षक सहुलियत र सहज बजार पहुँचका सञ्जाल निर्माण गरेर जमिन बाँझो नराख्‍ने अभियान चलाउन सक्छ । अनावश्यक र दलका कार्यकर्तालाई वितरण हुने सरकारी अनुदान वास्तविक किसानसम्म पुग्ने वातावरण बनाउन सक्छ, जसले किसान र युवाहरू प्रोत्साहित हुनेछन् र आन्तरिक खपतको कृषि उपज उत्पादन हुन सक्छ, जसले भोकमरी त टार्छन् नै, आयातका नाममा विदेसिने खर्बौँ रुपैयाँ बचत हुन्छ । त्यसबाहेक सरकारसँग कृषि श्रमिकलाई पर्याप्त पारिश्रमिक, सन्तानलाई गुणस्तरीय शिक्षा, स्वास्थ्य र आवासको सुविधा, किसान पेन्सनजस्ता किसानलाई संकटमा ढाडस दिने लाभकारी कार्यक्रम सञ्चालन गर्ने अवसर छ ।

चीनले केही वर्षअघि खुबै प्रर्वद्धन गरेको थियो, किचेन फार्मिङ । घरपरिवारलाई आफ्नै करेसाबारीको खेतपातीले धानोस् भन्‍नलाई चीनले अभ्यास गरेको किचेन फार्मिङ जापानले पनि अनुसरण गरेको थियो । अहिले नेपालका लागि पनि आन्तरिक खपतको तरकारी तथा अन्‍नपात उब्जाउका लागि किचेन फार्मिङको प्रर्वद्धन गर्न सकिन्छ । अनुसन्धानकर्ता श्रेष्ठ कृषिको क्षेत्रमा नेपालका सानातिना प्रयास भएका छन्, ती प्रयासको प्रर्वद्धन गरेर बाह्‍य आयात खपत न्यूनीकरण गर्ने अवसर छ ।

Source: https://nepalmag.com.np/contemporary/2020/04/14/1586868613

*Revive Management has aggregated the information and does not guarantee, approve or endorse the information provided.