Reusing Old Tyre

Reusing Old Tyre

केही महिनाअघि ओजस्वी वैद्य र लुनिभा मानन्धरको कलेज जाने दिन सकिए। झिसमिसेमै कलेजका लागि हतार–हतार दौडनु नपरेपछि दुई सखी एकाबिहानै वागमतीको दुवै किनार चक्कर लगाउन थाले। चक्कर लगाउनेमा उनीहरूमात्र हुन्थेनन्, अरू अपरिचित मान्छे पनि हुन्थे।

केही महिनाअघि ओजस्वी वैद्य र लुनिभा मानन्धरको कलेज जाने दिन सकिए। झिसमिसेमै कलेजका लागि हतार–हतार दौडनु नपरेपछि दुई सखी एकाबिहानै वागमतीको दुवै किनार चक्कर लगाउन थाले। चक्कर लगाउनेमा उनीहरूमात्र हुन्थेनन्, अरू अपरिचित मान्छे पनि हुन्थे।

यसरी वागमती किनारको चक्कर लगाउने उद्देश्य भने दुई सखी र अपरिचितको फरक थियो।

अरू ‘मर्निङ वाक’ गर्थे, उनीहरू टायर खोज्थे। काम नलाग्ने भएर फालिएका टायर। वर्षौंका घाम र पानी झेलेको ती टायर पानीको वहावले एक किनार ल्याएको हुन्थ्यो। माटोले थिचेर गडेका हुन्थे।

किनारबाट सडकसम्म ती टायर तान्न निकै बल खाँचो पर्छ। ओजस्वी र लुनिभाले जसोजसो घिसार्दै ल्याउँथे। सडकसम्म ल्याएर मात्र पुग्थेन। ती टायर कुपण्डोल हाइटसम्म पुर्याउनुपर्थ्यो। दूरी र टायरको आकार हेरेर सम्भव भएसम्म बोकेरै ल्याए, नसकेकालाई भाडाको ठेलामा ल्याए।

टायरको धूलो र माटो साबुन वा सर्फ पानीले धोए। सुकाए। हानिकारक किरा मार्ने औषधि हाले। रङ पोतेर चिटिक्क पारे।

यसरी दुःख गरी सफा बनाएका टायर उनीहरूले के गरे?

‘पुनः प्रयोग,’ ओजस्वीले भनिन्, ‘लुनिभा र मैले केही महिनाअघिदेखि टायर रिसाइक्लिङ व्यवसाय सुरु गरेका छौं। यसनिम्ति हामी थोत्रा टायर खोज्दै हिँडेका हौं।’

कसैले वागमती लगायतका नदी किनारमा थोत्रा टायर प्रशस्त भेटिन्छन् भन्दिएका थिए। यसपछि उनीहरू खोजीमा निस्केका थिए।

‘कसरी गर्नुहुन्छ पुनः प्रयोग?’

‘फर्निचर बनाउँछौं,’ लुनिभाले भनिन्, ‘टायरमा केमिकल हालेर रङरोगनपछि विभिन्न डिजाइनका फर्निचर बनाउँछौं।’

उनका अनुसार यस्ता टायरमा चार फरक आकार र डिजाइनका फर्निचर सेट बनाउँदै आएका छन्। टेबल, मुडाका सेट, कुकुरको ‘ओछ्यान’, गमला आदि।

‘घर, अफिस वा होटल के–का निम्ति चाहिने हो, त्यही अनुसार डिजाइन हुन्छ,’ लुनिभाले भनिन्।

कुकुरको ओछ्यानमा मोटरसाइकल–स्कुटरको, मुडामा ट्याक्सी वा जीप र टेबलमा साइज हेरेर ठूला बसका टायर प्रयोग गरिन्छ। गमला भने सबैखाले टायरबाट तयार पार्न सकिने उनीहरू बताउँछन्। यसरी टेबल वा मुडा बनाउन टायरलाई डिजाइन अनुसार दुवैतिरबाट कपडा, जुट वा बाबियोले बुनिन्छ।

टायरको भार थेग्न काठका खट्टा प्रयोग गरिन्छ। बस्न आरामदायी होस् भनेर मुडामा ‘कुसन’ हालिन्छ। यस्ता कुसन पनि पुनः प्रयोग विधिबाटै उत्पादित कपडाका हुन्छन्। अग्लो मुडामा भने धातुका खुट्टा हालिन्छ।

कुसन बनाउने र बुन्ने काम हस्तकला जानेका महिलालाई र वेल्डिङ वा अन्य काँटछाटको जिम्मा सिकर्मीलाई दिइन्छ।

‘टायर संकलन, रङरोगन र औषधि हाल्ने काम भने लुनिभा र म आफैं गर्छौं,’ ओजस्वीले भनिन्, ‘सामान तयार भएपछि मार्केटिङ पनि आफैं गर्छौं।’

‘कति पर्छ मूल्य?’

कुकुरको ओछ्यानको मूल्य १८ सय रुपैयाँ पर्छ भने टेबल र मुडा सेटको १३ हजार ५ सयदेखि ३९ हजार ५ सयसम्म पर्छ। सेटमा एउटा टेबल र चार वटा मुडा हुन्छन्।

‘सबै सामानमा ६ महिनादेखि १ वर्ष वारेण्टी छ,’ लुनिभाले भनिन्, ‘ डेलिभरीको पैसा पर्दैन।’

‘टायर पुनः प्रयोग नै किन? अरू पनि गर्न सकिन्थ्यो होला नि?’

‘रिसाइक्लिङ क्षेत्रमा थुप्रै संस्था पहिलेदेखि नै क्रियाशील छन्। हामी गैरअनुभवी, नयाँ कम्पनी खोल्न लागेका’, ओजस्वीले भनिन्, ‘हामीसँग धेरै विकल्प पनि थिएन। हामीले उद्यमका निम्ति सिड मनी लिएका थियौं। तोकिएको परिधीभित्रै व्यवसाय खोज्नु थियो, अनि त्यसमै भविष्य पनि।’

गत वर्ष मंसिरमा उद्यमी बन्न चाहने लाई लक्षित गरी ‘ग्रिनोभेसन स्टार्टअप च्यालेन्ज’ नामक प्रतियोगिता आयोजना भएको थियो।

एक लाख ५० हजार रुपैयाँ ‘सिड मनी’ पुरस्कार राखेर आयोजित कार्यक्रममा दिगो वातावरण संरक्षणमा सकारात्मक भूमिका खेल्ने व्यवसायिक मोडल पेश गर्न भनिएको थियो।

५० वटा टोली सहभागी कार्यक्रममा वातावरणमैत्री व्यापार मोडल प्रस्तुत गरिएका थिए। प्रतियोगितामा उत्कृष्ट चार पुरस्कृत भए। यिनै चारमध्ये एक थियो, ‘पूरा नेपाल’ समूह। यही समूहमा थिए ओजस्वी र लुनिभा।

त्यो बेला समूहका सबैजना विद्यार्थी थिए। अहिले भने ओजस्वी र लुनिभा उद्यमी बनेका छन्।

ओजस्वीले व्यवस्थापनमा स्नाकोत्तर र लुनिभाले वातावरण विज्ञानमा स्नातकसम्मको अध्ययन सकेकी छन्। उनीहरूले नै करिब ४ महिनाअघि ‘पूरा नेपाल’ लाई कम्पनीको रुप दिएका हुन्।

समूहले त्योबला घर­घर गएर प्रयोग भइसकेका प्लास्टिक, कागज, सिसा लगायत ठोस वस्तु संकलन गर्ने र त्यसलाई ‘रिसाइकल’ गरी व्यापार गर्ने योजना पेश गरेको थियो।

‘हामीले अर्कै मोडलमा काम गर्ने योजना बनायौं। तर के गर्ने भन्ने आइडिया नै आएन,’ लुनिभाले भनिन्, ‘अरू देशमा ‘इको फ्रेन्ड्ली बिजनेश’ के–के हुँदा रहेछन् भनेर इन्टरनेटमा खोज्न थाल्यौं। निकै समय खर्चियौं।’

यसैक्रममा उनीहरूले एउटा तथ्य फेला पारे।

‘केही वर्षअघिसम्म प्रयोगहिन अवस्थामा पुगेका रबर र टायर भारत निर्यात हुने गरेको रहेछ। तिनबाट पेटी, ब्याग, जुत्ताको सोल बनाइँदो रहेछ। भारतले यस्ता टायर र रबर आयातमा प्रतिबन्ध लगाएछ,’ लुनिभाले भनिन्, ‘हामीलाई जिज्ञासा लाग्यो, पहिले भारत पठाइने टायर अहिले के गरिन्छ होला?’

थप खोज सुरु भयो।

उनीहरूले थाहा पाए– निर्यात हुन छाडेपछि त्यस्ता टायरको ठूलो हिस्सा काँचो माटो पोल्न इँटाभट्टा पुग्न थालेको छ। यसबाहेक केही भने त्यसै फालिने रहेछ।

वातावरण अध्ययन गरेकी लुनिभाले वायु प्रदुषण गराउन इँटाभट्टा पनि प्रमुख कारक रहेको कुरा धेरै पटक पढेकी थिइन्। त्यस्तै काम नलाग्ने भएका जाडोमा धेरैले बाल्ने पनि गरेका छन्। त्यसबाट निस्किने धुवाँले सास फेर्न असजिलो बनाउने, आँखा र घाँटी बिझाए जस्तो हुने तथा दीर्घकालमा मुटु र फोक्सोको कार्यक्षमतामा ह्रास ल्याउने पनि लुनिभालाई थाहा थियो।

उनले यी कुरा ओजस्वीलाई सुनाइन्।

व्यवस्थापन पढेकी ओजस्वीले खेर गएका टायरबाट कम लगानीमै धेरै काम गर्न सकिने बताइन्। कुरा मिल्यो। दुई सखी मिलेर त्यस्ता टायर पुनः प्रयोगबाट गर्न सकिने व्यवसायको सम्भाव्यता अध्ययनतर्फ लागे। अनुभवी उद्यमीहरूसँग सल्लाह लिए। सकारात्मक प्रतिक्रिया पाए।

 

‘तर बनाउने कसरी? कति लगानी लाग्ला र त्यो बिक्ने, नबिक्ने भन्ने अन्योल र चिन्ता थियो,’ ओजस्वीले भनिन्,‘यी सबै कुरा सोचेर सुरुमा थोरै संख्यामा चार­पाँच थरिका फर्निचर बनाउने निधो गर्यौं। र, जुनमा मान्छेको चासो बढी देखिन्छ त्यही उत्पादन बढाउँदै लैजाने भयौं।’

उनीहरूले ब्राण्ड नाम राखे, ‘टायर ट्रेजर्स’।

‘ट्रेजरलाई नेपालीमा खजाना भनिन्छ। खेर गएका टायर खजाना हुन्। तिनलाई वातावरण बिगार्ने गरी फ्याँक्ने होइन, पुनः प्रयोग गरौं भन्ने सन्देशसहित यो नाममा कम्पनी सुरु गरेका हौं,’ ओजस्वीले बताइन्।

पुराना टायरका यस्ता फर्निचर बिक्री पनि बढिरहेको उनीहरू बताउँछन्। किन्नेभन्दा जिज्ञासा राख्ने र सकारात्मक प्रतिक्रिया दिनेको संख्या बढी छ।

‘भर्खरै सुरु गरेका छौं। धेरैलाई हाम्रा उत्पादनबारे थाहा छैन’ लुनिभाले भनिन्, ‘तै पनि राम्रो प्रतिक्रिया पाइरहेका छौं।’

घरबाट अधिकांश कुकुरको ओछ्यान तथा अफिस, होटल र रिसोर्टहरुबाट टेबल र मुडाबारे जिज्ञासा आउने उनले बताइन्। यसरी सकारात्मक प्रतिक्रिया पाउँदा टायर संकलन र प्रयोगयोग्य बनाउँदाका सबै कष्ट बिर्साइदिने उनीहरू बताउँछन्।

तर हिजोआज उनीहरू टायर खोज्न नदी किनार जाँदैनन्। ग्यारेज पसल गएर किन्न थालेका छन्।

‘नदी किनारमा यस्ता टायर पाइनै छाड्यो। अनि ग्यारेजतिरबाट लिन थालेका छौं,’ लुनिभाले भनिन्।

ग्यारेजमा पनि पुराना टायर पाउन भने सहज छैन। इँटाभट्टाले किन्ने भएकाले नियमित ग्राहक रिसाउने भन्दै दिन मान्दैनन्।

‘भट्टाले दिनेभन्दा बढी पैसा तिरेपछि भने बेच्न तयार हुन्छन्,’ उनले भनिन्, ‘कोहीकोहीले भने पुनः प्रयोग गर्ने भनेपछि सित्तैमा पनि दिन्छन्। उनीहरूलाई हामी भट्टामा टायर जल्दा त्यसले मानव स्वास्थ्यमा र वातावरणमा पार्ने असरबारे बताउँछौं। बुझ्नेले यसै दिन्छन्।’

यसबाहेक चिनेजानेका मान्छेले पनि काम नलाग्ने भएका टायर उनीहरूलाई दिएका छन्।

लुनिभाका अनुसार ग्यारेजमा साना सवारीका टायरको २५ देखि ५० रुपैयाँ लिन्छन्। मध्यम र ठूलो टायरको ५ सयदेखि ८ सय रुपैयाँसम्म तिर्छन्।

आफ्ना उत्पादनमा सकारात्मक प्रतिक्रिया पाएपछि उनीहरू अझै हौसिएका छन्। हालै मात्र कुपण्डोल हाइटमा यसअघिको वर्कसप बढाएर स्टोर खोलका छन्। त्यस्तै झम्सीखेलका केही पसलमा उनीहरुले ‘डेमो’ रुपमा सामान राखेका छन्। यसबाहेक विभिन्न मेला तथा सम्मेलनमा पनि यी सामान पुर्याउँछन्।

अर्डर भने सामाजिक सञ्जाल, अनलाइन तथा फोनबाट लिन्छन्। उनीहरू अहिले नयाँ योजनामा छन्। सिंगै टायर मात्र नभएर काँटछाट गरी सस्तो मूल्यमा साना सामान बनाउने।

‘अहिले जुन आकारको भए पनि सिंगै टायर प्रयोग गरिरहेका छौं। सबै त्यसरी नगरी टुक्रा बनाइ अरू के सामान बनाउन सकिन्छ भन्ने अध्ययन गर्दैछौं,’ लुनिभाले भनिन्, ‘काम गर्न पैसाभन्दा बढी आइडिया चाहिने रहेछ। हाम्रा वरपर पुनः प्रयोग गर्न मिल्ने धेरै सामान छन्। तिनैबाट व्यवसाय गर्न सकिन्छ।’

स्टार्टअपलाई लगानी गरिदिने थुपै संस्था भएकाले व्यवसाय गर्ने र हुर्काउने आइडिया हुनुपर्ने उनीहरू बताउँछन्।

दुई सखी भन्छन्, ‘पुनः प्रयोग गर्ने हाम्रो बानी छैन। यसले वातावरण बिगार्दै लगेको छ। त्यसैले यसरी छरिएका चिजबाटै व्यवसाय गरे वातावरणमा असर पनि कम हुँदै जाने र आर्थिक लाभ पनि। खोज्न जाने ‘खजाना’ हाम्रै वरपर छ।’

Source: Setopati.com

*Revive Management has aggregated the information and does not guarantee, approve or endorse the information provided.