ब्यापारसँगै समाजसेवामा मीनबहादुर: ५० अर्बको कारोबार पुगेपछि भाटभटेनीको आइपीओ

ब्यापारसँगै समाजसेवामा मीनबहादुर: ५० अर्बको कारोबार पुगेपछि भाटभटेनीको आइपीओ

काठमाडौं। काम नपरे पनि बाटो पर्दा मीनबहादुर गुरुङ शिक्षण अस्पतालतिर पसिरहन्थे। सँधै झै एक दिन यसै टहलिँदै भित्र पुगेका थिए। त्यहाँ उनले जे देखे त्यसले उनलाई विक्षिप्त बनायो। बिरामीका कुरुवा चिसोमा सुतिरहेका थिए। उनलाई लाग्यो, भित्र डाक्टरले बिरामीलाई जाँचिरहेका होलान्, त्यो त उनीहरुको जिम्मेवारी नै भयो। तर, बाहिर सुतेको मानिसको हालतले मीनबहादुरलाई नमिठोगरी चिमोट्यो। कारण विशेष थियो, आफन्तको उपचारका लागि आएका मानिस दुई सालिकको फेदमा सुतेका थिए। सालिक थियो – मीनबहादुरकै बा र आमाको। मीनबहादुर अर्थात्, भाटभटेनी सुपरमार्केटका साहु।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको आकस्मिक कक्षको बेहाल देखेका गुरुङले आफ्नो निजी लगानीमा २०६८ सालमा त्यसको ठीक पूर्वतिर नयाँ आकस्मिक उपचार कक्ष नै तयार गरिदिए – १० करोड रुपैयाँ खर्चमा। उनका बा र आमाको स्मृतिमा अस्पताल बनाएपछि उनले सालिक पनि राखेका थिए। त्यही सालिकमुनि कुरुवाको हालत खराब देखेपछि गुरुङ भक्कानिए।

‘मजस्तै मानिस मेरो बुबा र आमाको स्टाचु मुनि सुतिरहेको छ। म सहन नै नसक्ने भएँ,’ गुरुङले भने, ‘भित्र उहाँको उपचार भयो होला। तर बाहिर पनि बस्न सुविधा छैन।’ 

त्यही दृष्यले उनलाई पीडा दियो – उपाय पनि सुझायो, अब फेरि केही गर्नुपर्छ। उनले त्यहाँको चिसोमा सुतिरहेको मानिसमा आफूलाई अनुभूति गरे। बारम्बार उनलाई लागिरह्यो – मजस्तै मानिस त हो त्यो।’अब उनीहरुलाई बेन्ची जस्तो बनाएर राति सुत्न सक्ने ठाउँ बनाउनुपर्छ,’ उनले भने।

शिक्षण अस्पतालमा केही अघि वैदिक मन्त्रोच्चारणसहित नयाँ भवन निर्माणका लागि जग पूजा भयो। उपप्रधानमन्त्री इश्वर पोखरेलदेखि शिक्षण अस्पतालका डाक्टरहरु त्यसमा सहभागी भए।

भवन निर्माणको लागत ११ करोड जति आयो, गुरुङले घोषणा गरे – म यो भवन निर्माण गरेर १० महिनामा शिक्षण अस्पताललाई  हस्तान्तरण गर्छु। 

‘मैले भन्नलाई त्यहाँ १० महिना भने पनि सक्ने चाहिँ ६ महिनामा हो,’ उनले भवन निर्माणमा भाटभटेनीको अनुभवलाई बाँडे।

शिक्षण अस्पतालमा त्यतिखेर शंखध्वनिसहित पूजाआजा भयो, जतिखेर कोरोना संक्रमणले आक्रान्त भइयो भन्दै निजी क्षेत्रले राहतका लागि सरकारसँग कोकोहोलो गरिरहेको थियो। ‘म त त्यता लागिन, देशलाई चाहिएको बेला महाजनले माग्ने होइन्, दिने हो,’ गुरुङले भने।  

त्यसो त उनले त्यस अघि नै कोरोनाविरुद्धको लडाईका लागि सरकारी खातामा एक करोड रुपैयाँ नगद जम्मा गरिसकेका थिए। महामारी फैलिरहेको थियो, एक दिन गुरुङकी श्रीमती सावित्रीले समाचार सुनाइन्, ‘ओहो टाटा त कति धनी रहेछ, भारत सरकारलाई पाँच सय करोड भारु दिएछ।”पख, हामीले पनि सरकारलाई दिएको पुगेको छैन। हामीले पनि केही रकम थप्नुपर्छ।’ 

फेरि गुरुङले हरेक प्रदेशलाई २५ लाख रुपैयाँका दरले रकम थपिदिए। यसरी उनले कोभिड-१९ विरुद्धको अभियानका लागि मात्रै केन्द्र र प्रदेश सरकारलाई गरेर २ करोड ७५ लाख रुपैयाँ दिए। कोभिड कोषमा सहयोग गर्ने सयौं निजी क्षेत्रका कम्पनीमध्ये एनसेलपछि भाटभटेनी दोस्रो ठूलो दाता बन्यो। 

सबैले सरकारसँग राहत चाहियो चाहियो भनिरहँदा सरकारी कोषमा सहयोग गर्ने मात्रै होइन्, गुरुङ टिचिङ अस्पतालको भवन नै बनाउने कर्ममा पनि जुट्दै थिए। 

टिचिङ अस्पतालमा देशभरीबाट आउने विरामीको जुन दृष्य देखेर उनी भक्कानिएका थिए, त्यसैको समाधान उनको उद्देश्य बनेको थियो। तर, सोचेजस्तो किन हुन्थ्यो ? 

‘चार वर्ष अघि हो बनाउने भनेको। तर त्यहाँ औषधी पसलसँग समस्या रहेछ। त्यो सुल्टिनै धेरै समय लाग्यो,’ जब समस्या सल्टियो हामीले कोरोना भनेर कुरेनौं, जग पूजा सुरु गरिहाल्यौं,’ मीनबहादुर गुरुङले भने। 

शिक्षण अस्पतालसँगै उनले त्यही दिन अर्को एक ठाउँमा पनि जग पूजा गरे। र, त्यो अर्को ठाउँ थियो, भाटभटेनी मन्दिर। बाबु आमाको सालिकमुनि अलपत्र मानिस देखेर नयाँ भवन बनाउन जुटेका उनी भाटभटेनी मन्दिरमा भने सत्तल बनाउनका लागि जग पूजा गरेका थिए।  
भाटभटेनी मन्दिरमा सत्तल बनाउनका लागि स्थानीयले रकम संकलन सुरु गरेका थिए। त्यो थाहा पाएपछि उनले एक करोड रुपैयाँ खर्चिएर सत्तल एक्लै बनाउने निधो गरे। 

‘भाटभटेनी माताले हामीलाई यत्रो गराइदिनु भएको छ। उहाँको नाममा मैले देशभर आफ्नो सञ्जाल बनाएको छु, लाखौं मान्छेलाई सेवा दिएको छु। अब मैले भाटभटेनी मन्दिरका नाममा पाटी बनाउनै पर्छ,’ गुरुङले भने।यसरी आस्था र उपचारका दुई मन्दिरमा एकै दिन शिलान्यास भयो। 

मुलुकमा हरेक क्षेत्रलाई व्यवसायले छोपेको छ, धर्मलाई पनि। मन्दिर बनाएर पनि आम्दानी नै खोज्नेहरुको भीड छ। तर, उनले सरकारी अस्पतालमा फेरि लगानी थपिरहेका छन्। आखिर किन त ? प्रश्न जति स्वभाविक थियो, उनको उत्तर उत्तिकै अस्वभाविक।

‘सबैले निजी अस्पतालमा गएर उपचार गर्न त सक्दैनन् नि। म सक्छु। मलाई त नेपाली जनता र यो राष्ट्रले अमेरिका गएर पनि उपचार गर्न सक्ने बनाइदिएको छ,’ उनले भने, ‘तर मजस्तै देखिने आम नेपालीले निजीमा सक्दैन।’

उनलाई रहर छ – शिक्षण अस्पताल भारतको अल इन्डिया मेडिकल साइन्सेस (एम्स)को जस्तै हैसियत होस्। जनताले  त्यहाँ गुणस्तरीय उपचार सेवा पाउन्। ‘अमेरिकाको जत्तिकै नभए पनि नेपालमा इन्डियाको एम्स बराबरको भने एउटा सुविधा सम्पन्न हस्पिटल होस्। सामान्य मानिसले पनि उपचार गर्न सकोस् भनेर शिक्षण अस्पतालमा लगानी गरिरहेको हो,’ उनले भने।

उनका सबै सन्तान शिक्षण अस्पतालमै जन्मिए। सम्पन्नताको शिखरमा पुगिसकेपछि पनि उनले निजी सुविधासम्पन्न अस्पताल या विदेश रोजेनन्। उनले नाति र नातिनी जन्माउन पनि शिक्षण अस्पताल नै रोजे। 

‘भाटभटेनीको साहुको नाति नातिनी त्यहीँ जन्मिए भन्ने कुराले संदेश दिन्छ भनेर त्यहीँ लगेको हो,’ उनले भने। पूर्व राष्ट्रपति डा. रामवरण यादवले शिक्षण अस्पतालमै आँखा उपचार गराएको प्रसंग उप्काउँदै उनले भने, प्रधानमन्त्रीको उपचारसमेत त्यही हुनु गौरवको कुरा रहेको बताए। 

‘यस्तो हुँदा खुशी लाग्छ। निजी अस्पताल नजाउ भनेको होइन। यसपाला प्रधानमन्त्री त्यहाँ गएर उपचार गराएर निको भएर आउनुभयो। यसले त संसारलाई म्यासेज दिएको छ,’ उनले भने। सरकार प्रमुखको सफल उपचार गर्न सक्ने अस्पताललाई चानचुने मान्न नहुने उनको तर्क छ। यिनै घटनाक्रमले पनि उनलाई शिक्षण अस्पतालको पूर्वाधार बढाउन बल दिइरह्यो।

नेपालगञ्जमा भाटभटेनीको स्टोर खुलेको सबैभन्दा पछि हो। त्यहाँ उद्घाटन कार्यक्रम थियो। त्यसको निम्तो दिन मीनबहादुर आफैं प्रहरी कार्यालय पुगे। त्यो देखेर प्रहरीका एकजना अधिकृतले उनको प्रशंसा गरेछन् – ओहो तपाईँ यहाँ आउनुभयो, साह्रै सामान्य मानिस हुनुहुँदो रहेछ। 
मीनबहादुरले जवाफ फर्काए – सामान्य नै छु।

ती एसपीले भने – म तपाईँको कामबाट असाध्यै प्रभावित छु।

मीनबहादुरले उल्टै सोधे – मैले के नै गरेको छु र त्यस्तो प्रभावित हुन ?

ती प्रहरी अधिकृतले जवाफ दिए – बुबा बिरामी भएपछि टिचिङ लगेको थिएँ, राम्रो उपचार भयो। तपाईँले त्यहाँ ठूलो सहयोग गर्नु भएको रहेछ। 
मीनबहादुरलाई लाग्यो – भाटभटेनीको विस्तारभन्दा अस्पतालमा गरेको लगानीले मानिसलाई प्रभावित पार्ने रहेछ। 

‘सयवटा भाटभटेनी खोले पनि एउटा अस्पताल भवन बनाउँदा मानिसले धेरै सम्झने रहेछन्,’ उनले भने, ‘योभन्दा ठूलो सम्पत्ति मलाई अरु के चाहियो अब ?’

दान गर्ने विषयमा हजुरबाको प्रेरणालाई आधार मान्छन् मीनबहादुर। उनको मस्तिष्कमा हजुरबाले सुनाएको कथा गहिरोसँग गडेको छ। 

उनका हजुरबा असाध्यै परिश्रमी। धेरै पाटी, चौतारो बनाए उनले। पूजापाठ र बिहेवारी पनि गराइदिएका। उनले ‘जति दान गर्‍यो उति फलिफाप हुन्छ’ भन्ने गरेको सधैं याद गर्छन् मीनबहादुर।

‘हाम्रो गाउँ धेरै धनी मानिस पनि थिए। हजुरबा भन्नुहुन्थ्यो धान कुट्ने ढिकी नै सुनको हाल्न सक्छन् उनीहरुले। तर उनीहरुले न कहिल्यै पाटी बनाए न चौतारो,’ गुरुङले भने, ‘हामी संसारमा आउने एक पटक हो। औतारी होइनौं हामी। त्यही भएकाले हामीलाई सँधै असल काम गर्न भन्नुहुन्थ्यो।’

त्यसैको गहिरो प्रभाव परेको छ उनमा। त्यसैले कोरोनाको कहरमा उनी अरुभन्दा फरक देखिएका छन्।

‘म खाली हात आएको मान्छे। मैले यति भाटभटेनी बनाइसकेँ। अहिले देशलाई चाहियो भन्दा मैले दुई/चार वटा भाटभटेनी बेचेर भए पनि दिनु पर्छ,’ मीनबहादुरले भने, ‘मैलेमात्रै होइन, अब मेरो छोराले पनि नयाँ भाटभटेनी बनाउनुपर्‍यो। उसले आराम गर्ने मात्रै हो र ?’ 

हजुरबाले जे भने त्यही मिलेको छ उनको जीवनमा। खोटाङको दुबेकोलबाट पढ्न र जागिर खान काठमाडौं आएका उनले जति प्रगति गरेका छन्, त्यो अकल्पनीय लाग्छ।

हजुरबुबा मात्रै होइन्, गुरुङका बुबा पनि धार्मिक प्रवृत्तिका। त्यही कारण पूर्वमा लाहुर जानुपर्छ, लाहुरे बन्नुपर्छ भन्ने लहर चल्दा पनि बुबाले मीनबहादुर लाहुरे नबनोस्, नेपालमै केही गरोस् भन्ने चाहना राखे।

त्यही चाहनाको बलमा मीनबहादुरले धरानबाट एसएलसी र इन्टरमेडियट गरे। त्यसपछि पढ्न र जागिरका लागि काठमाडौं आए। गाउँले जीवन, किसानको छोरो काठमाडौंमा ज्यान धान्न कठिन थियो। उनले २०३२ सालमा जागिरका लागि नेपाल बैंकमा आवेदन दिए।

त्यहाँ जागिर पनि भयो। बैंकले हेटौंडा पठायो। दुई वर्ष हेटौडामा काम गरेपछि उनी फेरि काठमाडौं आए। दिउँसो बैंकमा जागिर गर्ने उनी रात्री कक्षा लिन त्रिचन्द्र कलेजमा भर्ना भए। त्यहाँबाट डिप्लोमा गरेपछि, मर्निङ र डे सिफ्ट मिलाएर उनले कीर्तिपुरबाट अर्थशास्त्रमा स्नातकोत्तर पूरा गरे।

जागिर र पढाई पछि अब उनले व्यापारमा हात हाल्ने सोच आयो। २०४१ सालमा ३५ हजार रुपैयाँ लगानीबाट भाटभटेनीमा एक जना सहयोगी लिएर पसल सुरु गरे। उनले त्यो लगानी आफ्नो आयआर्जन, सञ्चय कोष, बुबासँगको सहयोगमा जुटाएका थिए। त्यतिले पनि नपुगेपछि उनले श्रीमतीका लागि जोडिदिएको केही सुन समेत भेंडासिहको सुन व्यापारीलाई बेचिदिए। ‘त्यतिबेला सुन ३५ सय रुपैयाँ तोला थियो, अहिले पो ९० हजार माथि छ,’ उनी मुस्कुराए। 

२०४१ सालमा उनले १० बाइ १२ फुटको भाडावाला कोठाबाट पसल सुरु गरेका थिए, जहाँ अहिले मूल भाटभटेनीको साइनबोर्ड छ। त्यहाँ पहिले राउन्डवाला घर थियो। महिनाको सात सय रुपैयाँ भाडामा त्यो घरमा पसल खुलेको थियो।

पसलका लागि सामान मीनबहादुर आफैं बटुल्थे। न्युरोडमा नेपाल बैंकको जागिर थियो, दिउँसो ब्रेक टाइममा उनी असन, इन्द्रचोक पुगेर ती सामान उठाउँथे। त्यसरी बटुलेको सामान रुकस्याकमा हालेर उनी साँझ ७ बजे बैंकको जागिर सकिएपछि भाटभटेनी ल्याइपुर्‍याउँथे।

आउन त उनी डल्ले ट्याम्पुमा आउँथे, सामान बटुल्दा र ट्याम्पु चढुन्जेलसम्म रुकस्याक ब्यागले भने उनको काँध फत्तक्कै गलिसकेको हुन्थ्यो। तर, धरानमा पढ्दा सुनेको रामलाल गोल्छाको कथाले उनलाई उत्प्रेरणा पनि दिइरहन्थ्यो। ‘विराटनगरका रामलाल गोल्छाले खच्चरलाई भारी बोकाएर गाउँगाउँबाट सामान ल्याउनुहुन्थ्यो र लैजाने गर्नुहुन्थ्यो। चर्को घाममा त्यसरी व्यापार गर्दा उहाँलाई कति गाह्रो हुन्थ्यो होला ? उहाँको त्यही दु:खले त गोल्छा अर्गाइनजेसन स्थापना भएको थियो,’ प्रेरणाको कथा हाले उनले।

त्यसैले मेहनत गर्नुपर्छ भन्ने थियो, मीनबहादुरमा। आज पनि कहिलेकाहीँ उनलाई अतितका ती दिन सम्झना हुन्छ। ‘त्यो सम्झनासँगै काँध फेरि पनि फतक्क गल्छ,’ उनले भने, ‘आजको भाटभटेनी बनाउन मैले कति दु:ख गरेको थिएँ।’

स्थापनाको ६ वर्षपछि २०४७ साउनमा पसलको आकार बढ्यो। गुरुङले पसल एउटा सटरबाट  दुईवटा सटर बनाए। त्यही साल मंसिरमा पसलमा एक्कासी आगलागी भयो। ६ वर्षमा एकबाट दुई वटा सटर र ३५ हजारबाट ६/७ लाखकै सामान जम्मा भइसकेको थियो। त्यो एक रातमै एउटा आगोले खरानी बनायो। 

पसल भाटभटेनीमा थियो, मीनबहादुर गुरुङ परिवारसँग महाराजगञ्जको चप्पल कारखानापछि घर बनाएर बस्दै आएका थिए। राती पसलमा आगो लाग्यो, दुई वटा दमकल आएर त्यो निभायो। तर, उनले भोलिपल्ट बिहान ४ बजे मात्रै घरभेटीमार्फत् त्यो जानकारी पाए।

जब उनी हतारिँदै पसलमा पुगे, पसल खरानी भएको थियो। बचेखुचेका बिस्कुट चक्लेट पनि दमकलको पानीले भिझेर काम नलाग्ने भएका थिए। मीनबहादुरले हरेस खाएनन्। ‘तर मनमा ग्लानी के भयो भने म कम्तिमा यही घरको माथि सुतेको हुन्थें भने…, बचाउन पो सकिन्थ्यो कि भन्ने लाग्यो,’ उनले भने।  

गुरुङ बैंकमा अधिकृत भइसकेका थिए। यता परिवारमा एक छोरा, एक छोरी पनि। उनले पसल खोलेपछि जोडेको सुन फेरि बेचे, त्यतिन्जेल जम्मा भएको सञ्चय कोष निकाले, बैंकमा भएको बचत झिके, केही ऋण लिए। अनि फेरि उनले तुरुन्तै पसल सुरु गरे।

त्यसपछि आफू बस्दै आएको चप्पल कारखानापछिको घर जर्मन भोलियन्टरलाई दुई हजार रुपैयाँमा भाडामा दिए। आफूले भाटभटेनीमै एक हजार रुपैयाँ भाडा तिरेर बस्न थाले। यसबाट उनलाई हजार रुपैयाँ बचत समेत भयो।

यस बीचमा उनले चप्पल कारखानासँगै भाटभटेनीमा पनि ८० हजार रुपैयाँ लगानी गरेरे ११ आना जग्गा जोडिसकेका थिए। पछि महाराजगञ्जमा भाडामा लगाएको घरजग्गा समेत बेचेर उनले २०४८ सालमा भाटभटेनीमा थप एक रोपनी जग्गा जोडे। यतिबेलासम्म भाटभटेनीको अनौपचारिक फाउण्डेसन बनेको थियो। २०५० सालमा उनले आजको भाटभटेनीको औपचारिक फाउण्डेसन हाले।

त्यतिखेरसम्म काठमाडौंमा ब्लुबर्ड, सेन्ट्रल मल, नाङ्लो बजार जस्ता डिपार्टमेन्टल स्टोर सञ्चालनमा आइसकेका थिए। मीनबहादुरको मनमा पनि भाटभटेनी पनि त्यही खालको सुपरमार्केट होस् भन्ने थियो। मनमा उथलपुथल चलिरहेको थियो। उनले २०५० सालमा भाटभटेनीका लागि तीन हजार स्क्वायर फुटको भवन बनाए। भुइँतलामा १५ सय फुट थियो, माथि १५ सय फुट। त्यसैमा उनले सुपरमार्केट सुरु गरे। ग्राउन्ड फ्लोरमा खाद्यान्न राखे। माथिल्लो तलामा लुगा र भाडाकुँडा।

दुई तलाको फर्मुलामा सुपरमार्केट सुरु गरेपछि मीनबहादुरलाई साथीहरुले ‘अलिअलि पैसा कमाएको थियो, यो गुरुङ बौलायो’ भन्नसम्म भ्याए। उनीहरुको तर्क थियो- न्युरोडमा त पहिलो  तलामा दोकान छैन, यहाँ कसरी चल्छ ?  

जवाफमा गुरुङ भन्थे, ‘हेर्नुस् न म चलाएर देखाउँछु।’

गुरुङ जत्तिकै खटेर काम गर्ने उनकी श्रीमती। सस्तो र सफा उनीहरुको विशेषता थियो। ‘हामीले पहिले सफा गर्ने अनि सस्तोमा दिने रणनीति बनाएका थियौं। बैंकको जागिरे भएका कारण व्यापार पारदर्शी हुनुपर्छ भन्ने शिक्षा समेत मलाई थियो,’ उनले भने, ‘यो सबै देखेका इन्डोस्वेज बैंकका प्रमुख मार्क हामीसँग निक्कै प्रभावित थिए।’ 

त्यसैका आधारमा गुरुङलाई मार्कले २० लाख रुपैयाँको ओभरड्राफ्ट लिएर काम अघि बढाउन सुझाव दिए। ‘त्यतिखेर २५ लाख रुपैयाँमा एक रोपनी जग्गा किनेँ। साथीहरुलाई वरिपरिको अरु जग्गा पनि किनौं न भनेको थिएँ, तर भाटभटेनीमा कहाँ किन्नु ? भन्दै पन्छिए,’ उनले भने।  

मीनबहादुरले नेपाल बैंकको जागिर छाडे र भाटभटेनीमा केन्द्रित हुन थाले। आज भाटभटेनीसँग भाटभटेनीमा मात्र ११ रोपनी जग्गा छ। यो ११ रोपनी किन्दा सबैगरी अहिलेसम्म ११ करोड रुपैयाँ नै खर्च भएको उनको अनुमान छ। त्यसपछि त्यहाँ सन् २००३ मा एक लाख पाँच हजार स्क्वायर फुटको पाँचतले भवन बन्यो, र आजको भाटभटेनीको ‘मिनियचर’ स्वरुप।

त्यसको चार वर्षपछि भाटभटेनीको दोस्रो आउटलेट महाराजगञ्जमा खुल्यो भने त्यसको अर्को तीन वर्षमा कोटेश्वर, बौद्ध र पाटनमा भाटभटेनीको आउटलेट खुल्यो। अर्को वर्ष काठमाडौंबाट भाटभटेनी पोखरामा पुग्यो। अहिले भाटभटेनीको अनामनगर, बालाजु, कलंकी, त्रिपुरेश्वर, धरान, भरतपुर, बुटवल, भक्तपुर, विराटनगर, सातदोबाटो, भैरहवा र नेपालगञ्जमा गरी १७ वटा आउटलेट छन्।

त्यसमध्ये त्रिपुरेश्वरको युनाइटेड वर्ल्ड सेन्टर बाहेक अन्य स्थानमा भाटभटेनी आफ्नै प्रोपर्टीमा बनेको छ। यसमध्ये थिमिको सबैभन्दा ठूलो छ भने अनामनगर र बालाजुमा तुलनात्मक रूपमा साना स्टोर छन्। ‘ठूला स्टोरहरु १२ देखि १५ लाख स्क्वायर फुट स्पेसमा छन्, साना ४५ हजार स्क्वायर फुटका होलान्,’ मीनबहादुरले भने।

१२० स्क्वायर फुटबाट सुरु भएको भाटभटेनीसँग आज दुई करोड हाराहारी स्क्वायर फुटको स्पेस छ। ३५ हजारको लगानी अहिले अर्बौं रुपैयाँमा पुगेको छ। पहिलो दिन साढे १३ सय रुपैयाँ कारोबार गरेको भाटभटेनीमा आज कुनै दिन १० करोड रुपैयाँभन्दा माथि हुन्छ। एक जना सहयोगीको ठाउँमा आज हजारौंले प्रत्यक्ष रोजगारी पाएका छन्। र, भाटभटेनीमा ट्यागिङका हिसाबले सवा लाख भेराइटीका उत्पादन बिक्रीमा छन्।

‘गत आर्थिक वर्षमा भाटभटेनीको भ्याटबाहेक १७ अर्ब ६८ करोड रुपैयाँको कारोबार थियो। यसपाला २२ अर्ब रुपैयाँ गर्ने अपेक्षा थियो, तर कोरोनाले गर्दा २० अर्ब रुपैयाँ बराबर हुन्छ होला,’ मीनबहादुरले भने। 

पछिल्लो १७ वर्षमा भाटभटेनीको वृद्धि मात्रै भएको छैन, नेपालका लागि यो एउटा जीवनशैली पनि बनेको छ। एउटा छानामुनि नुनदेखि सुनसम्म हजारौं आइटम भेटिनु मात्रै यसको सफलताको पूर्ण कथा होइन, त्यसको प्राइसिङ र पार्किङ भित्र पनि सफलताको कथा जोडिएको छ।

‘अरु रिटेलरले एक बक्सा सामान लिँदा हामी सय बक्सा लिन्छौं, त्यहाँ हाम्रो बार्गेनिङ क्यापासिटी धेरै छ। भेन्डरले एक बक्सा सामान दिनका लागि हुने खर्च र सय बक्साको खर्च हिसाब गर्छ, विश्वसनीयता पनि हेर्छ। हामीसँग कारोबार गर्दा दिगो र सुरक्षित हुने भएपछि अरुले भन्दा हामीले ७ देखि १५ प्रतिशत सस्तोमा सामान लिन्छौं र त्यसको ५० प्रतिशत फाइदा ग्राहकलाई ट्रान्सफर गर्छौं। यसले हाम्रो मार्जिन पनि भयो, नाफा पनि आयो। अरुभन्दा सस्तोमा सामान दिन पनि सकियो,’ मीनबहादुरले भाटभटेनीको प्राइसिङ रणनीति बताए। भाडा तिर्न नपरेपछि त्यसको लागतमा हुने फाइदा पनि उपभोक्तासँग पुग्ने गर्छ भने सँगै कम्पनीका लागि सम्पत्तिको मूल्य अभिवृद्धि पनि भइरहेको हुन्छ।

सबाहेक सम्पत्ति खरिद गरेपछि भाटभटेनीको भवन बनाउन कम्पनीलाई ६ देखि आठ महिनाभन्दा बढी समय लाग्दैन। जस्तो अहिले मीनबहादुरले टिचिङमा बन्न लागेको १६ हजार स्क्वायर फुटको भवन ६ महिनामा हस्तान्तरण गर्ने रणनीति बनाएका छन्। उनमा त्यस्तो के जादु छ, जसले ६ महिनामै हजारौं स्क्वायर फिटको एउटा भवन तयार हुन्छ ?

‘मूल कुरा इच्छाशक्ति हो। मैले यो काम गर्छु भने पछि गर्न सकिन्छ,’ उनले भने, ‘अर्को भनेको मोटिभेसनको कुरा हो। त्यहाँ त मैले काम गर्ने होइन नि, मैले त व्यवस्थापन मात्र गर्ने हो।‘ 

भवन निर्माणको विषयलाई उनले थप प्रस्ट्याउन चाहे। 

‘मेरो टीम हुन्छ, इन्जिनियर हु्न्छ। चिफ इन्जिनियर हुन्छ। बिल्डिङ बनाउन ज्यामी, मिस्त्री, सुपरभाइजर हुन्छ। उहाँहरुलाई मैले मोटिभेट गर्ने त हो नि,’ गुरुङले भने, ‘त्यसलाई गाली गरेर हप्काएर होइन। उसलाई काम गर्ने वातावरण बनाइदिने हो। भवन बनाउन चाहिने सबै सामान जुटाइदिने, काम गर्ने कामदारलाई टाइममा पेमेन्ट गर्दिने।‘ 

यति भनिसकेपछि फेरि उनले धरातल छोड्न नचाहेको सुनाउन भ्याइहाले। भने, ‘म त्यति सार्प मानिस होइन। तर, मैले मेहनत गर्न जानेको छु र इमान्दार छु।’
 
तर पनि ६ महिनामा नै भवन बन्छ त? 
‘मेरा लागि ६ महिना भनेको पनि लामो समय हो। महिनालाई हप्तामा लैजानुस्, हप्तालाई दिनमा लैजानुस्, दिनलाई घन्टामा र घन्टालाई मिनेटमा लैजानुस्। ६ महिना भनेको कति मिनेट हो?’ समयको उनले हिसाब निकाले, ‘अहिलेलाई सबैभन्दा भ्यालु समयको छ। हामी समयलाई हामी किल नगरौं।’

तर, पछिल्लो १७ वर्षमा भाटभटेनी र मीनबहादुरको जुन प्रगति भएको छ, त्यसको प्रभाव उनको व्याक्तिगत जीवनशैलीमा अहिले पनि देखिंदैन। उनी अहिले पनि भाटभटेनी स्टोर छेउकै घरको माथिल्लो तलामा बस्छन्। ठूला पार्टी भोज भतेरमा देखिँदैनन्। गाडीहरु हत्तपत्त फेर्दैनन्। छुट्टी लिएर बिदा मनाउन पनि हिँड्दैनन्।

‘पैसा कमाएँ भनेर मैले भुइँ छाड्नु त भएन नि। मेरो व्याक्तित्व त केही होइन। हिजो सामान्य खाटमा सुतेको मान्छे, अहिले मैले किन भयानक ठूलो महलमा सुत्नुपर्‍यो। म अहिले किन ल्याभिस हुने ?,’ उनको प्रश्नसँगै उत्तर पनि आयो, ‘मलाई जहाँ सुते पनि बेलुकादेखि बिहान छ्याङ्ग उज्यालो हुँदासम्म निन्द्रा लाग्छ। भोक लागेपछि भोजन जे पनि मीठो हुन्छ। कसैलाई खुराफाती गरेपछि मात्रै पेट दुख्ने हो।’
यति सुनाइरहँदा उनले आफूलाई ‘खुद्रे व्यापारी’ पनि भन्न भ्याए।  नेपालमा मीनबहादुर यस्ता एक व्यक्ति हुन्, जसको रेकर्ड राख्न खोजियो भने – नेपालमा सबैभन्दा धेरै नमस्ते फर्काउने होइन्, आफैँ अघि सरेर नमस्ते गर्ने नाममा हुनेछ। जहिले पनि तपाईँका दुई हात जोडिएकै देखिन्छ। थाक्दैनन् ? हाम्रो प्रश्न। ‘मेरा गुरुले जहिले पनि भन्नुहुन्थ्यो, पढाउनुहुन्थ्यो, जुन हाँगामा फल फल्छ त्यो नै झुक्छ, जो झुक्छ त्यो नै ठूलो हुन्छ।’ 

उनी नमस्ते गर्ने शैलीको क्रेडिट पनि आम नेपालीलाई दिन्छन्। ‘म त के हो र ! मलाई यहाँसम्म ल्याउने त्यही नेपाली आम जनसमुदाय होइन ? यही राष्ट्र, यही माटो होइन ? त्यसकारण उहाँहरुसँग फुर्ती गर्नु भनेको मेरो विनासको सुरुवात हो। त्यही भएर मैले सबैलाई हात जोड्नै पर्‍यो।। सबैलाई खुशी बनाउनै पर्‍यो।’व्यवसाय विस्तारसँगै मीनबहादुरको नाम केही काण्डहरुमा पनि जोडिन्छ। उनले त्यसको पनि स्पष्टिकरण दिए। 

‘न बिराउनु न डराउनु। मेरो नाम नक्कली भ्याट बिलसँग जोडेर ल्याए। मलाई सामान दिने भेन्डरले सामान पनि दिनुभयो, बिल पनि दिनुभयो। बिल बकाइदा भ्याट तिरेको छ। दर्ता गरेको छ। तर उहाँहरुले भ्याट रेगुलर तिर्नु भएनछ। मलाई सामान दिनेको दायित्व थियो, उहाँहरुले त्यो दायित्व पूरा नगरेपछि त्यहाँ मलाई मुछियो।’ भ्याटबिलसँगै उनी बालुवाटारको जग्गामा पनि मुछिए। ललिता निवास प्रकरणमा उनी संलग्न होइनन् त ?

‘ललिता निवासको कुरा राष्ट्रिय विषय बनेको छ। मैले सुवर्ण शम्सेरका छोरा, नातिहरुलाई पैसा तिरेर, उनीहरुसँग अड्डामा गएर राजस्व तिरेर पास गरेको जग्गा हो,’ उनले भने, ‘म, परिवार र मेरा साथीभाइ सबैले त्यहाँ जग्गा किन्यौं। यो राष्ट्रिय इस्यु भएको छ। मलाई थाहा छैन यसमा के हुन्छ ? तर, मैले किन चोर्ने ? ठग्ने ढाँट्ने, किन चिटिङ गर्ने ?’

नेकपाका एक अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि उनको नाम जोडिन्छ। के उनले बिस्तार गरेको भाटभटेनीको साम्राज्यमा प्रचण्डको लगानी छ ? हाम्रो प्रश्न सुनेर मुस्कुराए उनी। हाम्रो प्रश्न उनका लागि अप्रत्याशित थिएन। 

‘बैंकमा मेरो अरबौंको लोन छ, तर भाटभटेनीको लगानी प्रचण्डको भन्छन्। चन्द्रागिरि केबलकारको उद्घाटन हुने दिन मैले प्रचण्डलाई भनेँ पनि– ‘ए हजुर, म मेहनत गरेर यहाँ पुग्ने तर तपाईँको लगानी छ भन्छन् त। म दु:ख गर्ने अनि पैसा चाहिँ हजुरको चलाएँ भन्ने हुने ? मेरो मेहनत खेर गएन ? हजुरले बोल्नुपर्‍यो। 

उनको भनाईपछि हाँस्दै प्रचण्डले जवाफ फर्काए – ‘मलाई सिध्याउन खोजेका छन्। फाइनान्सियल विषयमा फसाइयो भने सक्काइन्छ भनेर लागेका छन्।‘उनले पाएको जवाफ यही थियो। 

‘यी सबै विषय दरिद्र मानसिकताको कारण आएका हुन्। ठूलो विचार लिएर हिँडे ठूलै काम गर्न सकिन्छ। म त ठूलो यात्रामा छु। म नरहुँला तर यो संस्थाको यात्रा त लामो छ। यो संस्था हजारौं हजार वर्ष जावस्। अरबौं राजस्व सरकारलाई बुझाओस्। हजरौंलाई जागिर देवस् भन्ने हो,’ उनले भने।

हिसाब राफसाफ हुनुपर्छ भन्ने मान्यता राख्ने उनले विवादबाट जोगिनका लागि स्ट्यान्डर्ड चार्टर्ड बैंकलाई रोजेका छन्। ‘किनकि उसको इन्टिग्रिटी राम्रो छ। उनीहरुमा पौने २ सय वर्षको अनुभव छ, मानवीय त्रुटिका कारण कहिँ कतै हाम्रो छुटिहालेछ भने पनि उनीहरुको लेन्सले त्यसले छाड्दैन्,’ उनले जवाफ दिए। 

मिडियामा पनि बेलाबेलामा भाटभटेनीका बारेमा खबर आइरहन्छ। अनेक हल्ला चल्दा मीनबहादुरले चित्त दुख्ने बताए। ‘कहिलेकाहीँ के लेखेका होलान् भन्ने लाग्छ,’ उनले भने, ‘म मिडियाका सम्पादकलाई ब्यालेन्स सिट नै उपलब्ध गराउनसक्छु। त्यो हेरेर अझै खोजमूलक समाचार तयार हुनसक्छ भने गर्नुस् भन्छु।‘

व्यवसायमा आफूलाई लामो दुरीको यात्रु बताउँछन् उनी। क्यापिटल ग्रोथलाई आफ्नो मुल प्रिन्सिपल मान्छन्। क्यापिटल ग्रोथ नभएको भए ३५ हजारको लगानीबाट सुरु भएको भाटभटेनी अरबौंको हुने थिएन। तर, ग्रोथको भागिदार एउटा मीनबहादुर गुरुङको परिवारमात्रै पनि त हुनु भएन नि ? भारतमा राधाकृष्ण दमानीले जे गरे त्यो तपाईं किन गर्न सक्नुहुन्न ? फेरि हाम्रो प्रश्न। 

‘दिने हो। यो मेरो उद्देश्यभित्र छ। तर, अलि साइजेबल भएको छैन् भन्ने लागेको मात्रै हो। जब हामी भाटभटेनीको कारोबार ५० अर्ब रुपैयाँमा पुर्‍याउँछौं, त्यतिबेला हामी यसलाई सेयर बजारमा सूचीकृत गर्छौं। भाटभटेनी सबैको हो। र, हामी कति पानीमा छौं जोखिन पनि सेयर बजारमा सूचीकृत गर्नुपर्छ,’ उनले जवाफ दिए। भुइँचालो, नाकाबन्दी र अहिले कोरोनाले प्रभावित गर्‍यो, नगरेको भए त्यो दिन धेरै टाढा नरहेको उनको संकेत थियो।

कोरोनाको कहरकै बीच भाटभटेनीले घरघरमा सामान पनि पुर्‍यायो। डेलिभरी अनुभव कस्तो रह्यो त उनको ?

मीनबहादुरले डेलिभरीमा भविष्य रहेको बताए। त्यसमा भाटभटेनीलाई थप सहज रहेको पनि सुनाए। ‘किनभने हामीसँग धेरै ठाउँमा च्यानल छ, विश्वसनीयता पनि छ। डेलिभरीमात्र मिलाए पुग्छ,’ उनले भने।

भाटभटेनीको भौतिक बिस्तार पनि जारी नै छ। तर, त्यसको पनि एउटा सीमितता हुनेबारे उनी जानकार छन्। उनकै हिसाबकिताब अनुसार युरोपमा १० हजार जनसंख्या भयो भने एउटा स्टोर चल्छ। तर, नेपालमा एउटा सुपरमार्केट चल्नका लागि डेढदेखि दुई लाख जनसंख्या चाहिन्छ।

त्यसैले भाटभटेनी अब ‘मिनी भाटभटेनी’को कन्सेप्टमा पनि गइरहेको जानकारी दिए। ‘विराटनगरमा हामीले त्यसको टेस्ट पनि गर्‍यौं। मलाई सक्सेस नहोला कि भन्ने थियो। तर, धेरै सफल भयौं। त्यहाँ हाम्रोमा सामान लिन भारतबाट समेत मानिस आए,’ उनले भने। विराटनगरको अनुभवबाट उनले नेपाली उत्पादनलाई बजारीकरण गर्न सकिने समेत देखिएको प्रस्ट्याए। 

उनीसँगको कुराकानीको अन्तिममा फेरि उनी टिचिङमै फर्किए। 

‘मैले सयवटा स्टोर बनाएर केही हुनेवाला छैन्। टिचिङ अस्पतालको एउटा भवन बनाएर कति नाम छ भन्नुस् त ? सबै साथीभाइलाई यो महामारीमा एउटा म्यासेज दिन पनि यो काम अहिले नै सुरु गरिहालेको हुँ,’ उनले भने।कोरोनाको संक्रमण चलिरहँदा देश र समाजलाई सकेको गर्नुपर्ने उनको बुझाइ छ। यहाँ व्यवसायीहरु कर नतिर्ने भन्दै कोलाहल गरिरहँदा उनले भने तिरिसकेको सुनाए। 

‘यस्तो बेला त सरकारलाई सहयोग गर्ने हो। दु:खको बेला साथ दिने साथी पो साथी, भोज खाने बेलाको साथी के साथी ?,’ उनको सोझो भाषा, ‘अहिले सबै जना साथीहरु टोकरी राखेर माग्ला जस्तो गर्छ। ए बाबा, तपाईँ महाजन, तपाईँले माग्ने हो ? यो त तपाईँले दिने समय हो। सरकारले दिएन, सरकारले दिएन, यो त उल्टो कुरा भो। सरकारसँग केही छैन त। दिने के ?’उनले बुझेका छन् – सरकारले राम्रो व्यवस्थापन गरेन। त्यसलाई एउटा पाटो मान्छन् उनी। त्यसैले अहिले त सबै महाजन, सबै व्यवसायीले सरकारको ढुकुटीमा हालिदिनुपर्ने उनको तर्क छ। ‘कर तिर्दिन्, यो दिन्न, त्यहाँ दिन्न, अहिले यो भन्ने बेला होइन। सबै साथीहरुलाई मेरो आह्वान नै छ – देशलाई दु:ख परेको बेला तपाईँले सहयोग नगरे तपाईँको के अर्थ ?