Karnali shopping in Kathmandu
Mar 16, 2020
‘कर्णाली घर’ बनेको जम्मा तीन महिना भयो। यसको विशेषता हो– जुम्लाको स्याउ, सिमी, सिमीको दाल, मार्सी चामल र मुगुको जिम्मु।
‘कर्णाली घर’ ले भौगोलिक रूपमा टाढा कर्णालीका रासन बटुलेर काठमाडौंका ग्राहकलाई उपलब्ध गराउँछ।
यहाँका छ खालका सामान पाइन्छन्।
चिनो, मोइस, लगुन र क्वेर यहाँ पाइने ‘सुपर फुड’ सामान हुन्।
‘परम्परागत’ अन्तर्गत जिम्मु, छोटु, सातु पाइन्छन्। ‘उच्च मूल्य’ मा जैविक स्याउ, ओखर, मह, टिमुर र लोकल अन्डा छन् भने ‘जडिबुटी’ मा यार्सागुम्बा, केसर, ह्वाइट सुगर, गुची र शिलाजित।
त्यस्तै, ‘एसेन्सियल तेल’ मा सुनपाती, धुपी, गोर्पे सल्ला र भुल्ताका पाइन्छन्।
यीमध्ये स्याउ मौसमी फल हो। असोजदेखि चैतमा मात्र हुन्छ। यार्सागुम्बा, मार्सी चामल, सिमी, दाल लगायत बाह्रमासे हुन्। केही सामान तत्काल पाउन सकिन्छ, केही मगाउनुपर्छ। जुम्लाबाटै मगाउँदा यहाँ आइपुग्न कम्तिमा एक दिन र एक रात लाग्छ। काठमाडौं उपत्यकाभित्र निःशुल्क र बाहिर स्थिति हेरेर डेलिभरी हुन्छ।
कर्णाली घरले यो वर्ष २४ टन स्याउ, ८ टन मार्सी चामल, ८ टन सिमी र २ टन चिनो बजार पुर्याइसकेको छ।
कर्णाली घरका १२ सदस्यमध्ये सात जनाले काठमाडौं र चार जनाले जुम्ला बसेर व्यवस्थापन सम्हालिरहेका छन्।
यसको सुरूआत जुम्लाका अंगराज भारतीले गरेका हुन्। उनले २०६५ सालदेखि ‘चन्दननाथ इन्टरप्राइज’ मार्फत् कर्णालीका उत्पादन बजार पुर्याउन थालेका थिए। अहिले ‘कर्णाली घर’ का नाममा यो कामको डोर मनोज भारती र राजन धितालले सम्हालेका छन्।
राजनका अनुसार, अंगराजलाई कर्णालीका उत्पादनको व्यावसायिकीकरण गर्ने आइडिया इलाम जाँदा फुरेको थियो। त्यहाँको चिया, खुवाको चकलेट र छुर्पीले काठमाडौंसम्मै बजार पाएको देखेपछि उनलाई लाग्यो- इलामेलीले जस्तै कर्णालीको परिश्रम पनि व्यवसायमा ढाल्न सकिन्छ।
उनले सुरूआत स्याउबाट गरे।
अगंराजले २०६४ सालमा ‘चन्दननाथ इन्टरप्राइज’ खोलेर कर्मचारी निम्ति आवेदन मागे। मेलम्ची, सिन्धुपाल्चोकका राजनले आवेदन भरे।
त्यति बेला राजन काठमाडौंमा पढ्दै थिए। बानेश्वरस्थित एक कम्पनीमा मार्केटिङ प्रमुख थिए। झन्डै तीन वर्षको अनुभव बटुलेका उनी चन्दननाथ इन्टरप्राइजेजमा छानिए।
राजनका अनुसार, जुम्लाको ‘रेड डेलिसियस’ र ‘रोयल डेलिसियस’ प्रजातिका स्याउ निकै रुचाइन्छ। कर्णाली घरले काठमाडौं भित्र्याउने स्याउ यिनै दुई प्रजातिको भएको उनले जानकारी दिए।
उनीहरूले काम थाल्दा कर्णाली क्षेत्र गतिलो सडकमार्गसँग जोडिएको थिएन। सुरूआतमा पाँच क्विन्टल स्याउ हेलिकप्टरबाट नेपालगन्ज पुर्याए र त्यहाँबाट गाडीमा काठमाडौं।
पछि कर्णाली राजमार्गले जुम्ला र सुर्खेत जोड्यो। राजमार्ग बनेपछि हेलिकप्टरको सास्ती परेन। जुम्लाको स्याउ बोटदेखि काठमाडौं सजिलै ल्याउन थाले।
‘काठमाडौं ल्याएर बिक्री गर्न भने त्यति सजिलो भएन,’ ३२ वर्षीय राजन भन्छन्, ‘चार वर्षसम्म काम सुस्त रह्यो। स्याउले बजार लिन सकेन।’
उनले सुरूआती दिन सम्झिँदै भने, ‘नेपालगन्जबाट गाडीमा सिधै कलंकी ल्याउँथ्यौं। यहाँ ल्याइने स्याउ रसायन नहालिएका, अर्गानिक हुन्छन्। कतिपटक तापक्रम र प्याकेजिङ बिग्रेर ट्रकका ट्रक स्याउ फाल्नुपर्थ्यो।’
दुःख गरेर ल्याएका सामानले राम्रो बजार नपाउनु अर्को समस्या बन्यो। उनका अनुसार, अर्गानिक स्याउ हेर्दा राम्रो हुँदैन। ग्राहकहरू प्राय: टल्किने र सफा खोज्छन्।
‘कति ग्राहकले त घरमा छोराछोरीले नखाने कस्तो स्याउ पठाएको समेत भन्नुहुन्थ्यो,’ राजनले सुनाए, ‘यो स्याउ चिसोमा राख्नुपर्छ, नभए बिग्रिहाल्छ। कलंकीमा सामान झारेपछि कति समय आफैं बाटो–बाटोमा बेच्न बस्यौं। तर अरू व्यापारीले हप्काउँथे। महानगरले अनुमति दिँदैन थियो। के गर्नुपर्छ भनेर सोध्दा पनि निकै असभ्य बोल्थे।’
घाटा हुँदै गएपछि उनीहरूले २०६९ सालमा स्याउ बेच्न बन्द गरे। त्यसको सट्टा स्याउको रक्सी बजारमा ल्याउन दुई वर्ष परीक्षण गरे। तर, त्यो परीक्षण पनि सफल भएन। स्याउको ‘लोकल’ रक्सीले बजार पाएन।
केही समयपछि उनीहरू पहिलेकै काममा फर्किए, केही फरक ढंगमा।
उनीहरूले अब स्याउ मात्र नभई कर्णालीबाट मार्सी चामल, दाल, जिम्मु, स्याउका चाना (ड्राइ एप्पल) पनि काठमाडौं भित्र्याउन थाले।
यसरी चलिरहेको ‘चन्दननाथ इन्टरप्राइज’ बाट अगंराज भारती गत असोजमा बाहिरिए। कम्पनी राजन र अगंराजका आफन्ती मनोज भारतीले सम्हाले।
जुम्लाकै स्थानीय मनोजले चार वर्षदेखि इन्टरप्राइजको काममा सघाइरहेका थिए। ०६८ सालमा काठमाडौं आएका उनी नेपाल कमर्स क्याम्पसमा स्नातक गर्दैछन्। आगामी दिनमा यसै क्षेत्रमा लाग्ने योजना छ उनको।
राजन र मनोजले नयाँ ढंगबाट काम गर्ने सोचे।
‘परम्परागत ढगंबाट खुद्रा हिसाबमा व्यापार चलिरहेको थियो, हामीले प्रविधिको उपयोग गर्दै नयाँ तरिका अपनायौं,’ २४ वर्षीय मनोजले भने, ‘त्यही कामलाई नाम फेरेर नयाँ पहिचानसहित निरन्तरता दियौं।’
अनि बन्यो ‘कर्णाली घर’।
उनी भन्छन्, ‘हाम्रो काम कर्णालीका सामान बजार पुर्याउने हो। त्यसैले सबैले बुझ्ने हिसाबमा नाम राख्यौं।’
मनोज ६-६ महिनामा जुम्ला पुग्छन्। किसानलाई काम गर्ने नयाँ तरिका सिकाउँछन्। सुरूका दिन स्याउ टिप्न ‘बास्केट’ समेत पुर्याएको उनी बताउँछन्।
अर्गानिक सामान काठमाडौंमा विस्तार गर्नुका साथै कर्णालीका उत्पादन अन्य भेगमा पुर्याउने सोचले कर्णाली घरको काम भइरहेको छ। उनीहरूले विदेश पनि निर्यात गरिरहेका छन्। २०७२ सालमै बगंलादेशमा स्याउ पठाएका थिए। हाल यार्सागुम्बा जापान पुगेको छ। अरू सामान पनि पठाउने काम भइरहेको मनोज बताउँछन्।
स्याउ चिसो वातावरणमा राख्न कलंकीमै ‘कुलिङ सिस्टम’ सहितको गोदाम छ। सामान प्याकेजिङको काम बोराटारको कार्यालयबाट हुन्छ।
कर्णाली घर अझै पनि ‘के गर्दा ठीक होला’ भन्ने परीक्षणमै रहेको राजन बताउँछन्। पछि कर्णाली प्रदेशका उत्पादन थपेर विस्तार गर्ने सोचमा छन्।
‘नेपाली उत्पादनलाई प्राथमिकता दिऊँ भन्ने हाम्रो मुख्य सोच हो,’ राजन भन्छन्, ‘अर्गानिक खानपिनले स्वास्थ्यलाई पनि त राम्रो गर्छ।’
Source: setopati.com
*Revive Management has aggregated the information and does not guarantee, approve or endorse the information provided.
Related
-
May 4, 2022
Stakeholder emphasis on improving the 'Digital Nepal Framework'
-
Mar 29, 2022
E-commerce going strong despite reopening of street markets
-
Feb 7, 2022
E-commerce shines as pandemic bites
-
Feb 7, 2022
Daraz launches ‘Celebrate Love’ campaign
-
Feb 7, 2022
7 Social Commerce Tips & Who’s Doing It Right
Recent News
-
May 4, 2022
Stakeholder emphasis on improving the 'Digital Nepal Framework'
-
Mar 29, 2022
E-commerce going strong despite reopening of street markets
-
Feb 7, 2022
E-commerce shines as pandemic bites
-
Feb 7, 2022
Daraz launches ‘Celebrate Love’ campaign
-
Feb 7, 2022
7 Social Commerce Tips & Who’s Doing It Right
-
Jul 12, 2021
Growth of Internet in Nepal