Post-graduate 'sisters' leaving their jobs and making old sari bags

Post-graduate 'sisters' leaving their jobs and making old sari bags

प्रकृति शाक्यलाई सानैदेखि झोलाको सोख थियो। बाहिर जाँदा आमा र दिदीका झोला बोक्थिन्। लुम्बिनी जाँदा त्यहाँका बुट्टे झोला किन्न लगाउँथिन् रे। अहिले त उनको दराज झोलाले भरिएको छ।

सुनैना सिंह श्रेष्ठ पनि विदेशमा रहेकी दिदीलाई झोला मगाउँछिन्। साथीलाई जन्मदिनमा उपहार दिन होस् वा आफ्नो मनपर्ने सामान किन्दा, रोजाइमा उनको झोला नै पर्छ।

यी दुईको झोलाप्रतिको आकर्षणले चार महिनाअघि ‘तता-केहेँ’ नामक ‘नेपाली ब्रान्ड’को रूप लियो। पुराना सारीबाट नयाँ झोला बनाउनु यो ब्रान्डको विशेषता हो।

‘तता-केहेँ’ अर्थात नेवार भाषामा दिदीबहिनी। यो नाम प्रकृति र सुनैनाले आफ्नो सम्बन्धलाई रूपान्तरण गरेर राखेका हुन्। यी दुई सञ्चालकको रगतको नाता छैन तर सम्बन्ध दिदीबहिनी भन्दा कम्ता छैन।

स्कुल पढ्दा एकअर्कालाई चिनेका प्रकृति र सुनैना १८ वर्षदेखि साथसाथ छन्। उनीहरू बीचको यही निकटता र झोलाप्रतिको उस्तै रूचीले ‘तता-केहेँ’ जन्मिएको बताउँछन्।

‘मैले जागिर छाडेका बेला प्रकृति आफ्नै काम गर्ने कुरा गरिरहन्थिन्,’ ३० वर्षीया सुनैनाले भनिन्, ‘झोला बनाउने सोच त्यही बेला आएको थियो। नेपाली ब्रान्डको लागि नेपाली नाम राख्ने सोच थियो। जिस्किँदै ‘दिदीबहिनी’ राख्ने कुरा आयो। त्यो नाम अलि सामान्य भएकाले नेवार भाषामा तता-केहेँ राखेका हौं।’

सुनैना तीन वर्षअघि ‘हात्तीहात्ती’ कम्पनीको मार्केटिङमा काम गर्थिन्। त्यसअघि तेजाब आक्रमणबाट बचेका महिलाको संस्थामा। उनलाई सधैं आफ्नै केही गर्ने इच्छा थियो। त्यसमा पनि वातावरण मैत्री विषयमा बढी ध्यान भएकाले ‘तता-केहेँ’ उनीहरू दुवैको इच्छा पूरा गर्न सक्ने सही बाटो बन्यो।

सुनैनाका अनुसार सारी कुहिन कम्तीमा दस वर्ष लाग्छ। तिनका कपडा बलियो पनि हुने भएकाले त्यसबाट बनेका झोला बलियो हुन्छ र वातावरणमैत्री हुन्छ। सुनैनालाई यो कुरा ‘हात्तीहात्ती’मा काम गर्दा फुरेको थियो।

‘घरमा आमा-हजुरआमाले लगाउने सारी लामो समय दराजमा थन्किएको हुन्छ र त्यसको प्रयोग धेरै भएको हुँदैन,’ तता-केहेँकी अर्की सञ्चालक प्रकृति भन्छिन्, ‘त्यसलाई फ्यालेर वातावरण प्रदूषण गर्नुभन्दा पुनः उपयोगी सामान बनाउन सकिन्छ भने हामी अगाडि बढ्नुपर्छ भन्ने लाग्यो।’

सुरूमा उनीहरूले आफ्नै घरका पुराना सारीबाट झोला बनाए। पछि भने बजारमा पाइने पुराना सारी किनेर उत्पादन गर्न थाले।

‘झोला उत्पादनबारे ज्ञान नभएकाले कस्तो डिजाइन र कुन कपडा प्रयोग गर्नुपर्छ थाहा पाउन समय लाग्यो,’ सुनैनाले भनिन्, ‘लुगा सिलाउने दुई महिलालाई तालिम दिएर बनाउन थाल्यौं। झोलाको धेरै नमूना बने। एक महिना आफैंले प्रयोग गरेर मात्र बिक्रीमा राख्यौं।’

आफ्नो आइडिया अरूलाई बुझाएर सिलाउँदा झोला भनेजस्तो नबन्ने समस्या थियो रे। सुनैना हाँस्दै भन्छिन्, ‘कुनै बेला दिक्क लागेर आफैं सिलाई सिकौं जस्तो पनि भएको थियो। तर दिदीहरूले पछि सिलाई राम्रो गर्दै जानुभयो।’

सुरूआतमा उनीहरूलाई मुख्य समस्या झोलाको आकार नमिल्ने, फित्ता बलियो नहुने, धागो निस्किने र जिपरको हुन्थ्यो।

‘झोला उत्पादन हेर्दा मात्र सजिलो, बनाउँदा साह्रै गाह्रो हुन्छ,’ २६ वर्षीया प्रकृतिले भनिन्, ‘हामी यो क्षेत्रमा नयाँ थियौं। बजारमा दुई केटी देखेपछि ठग्न खोज्ने मानसिकता पनि बढी थियो।’

चार महिनामै तता-केहेँले पाँच गृहिणीलाई रोजगारी दिइसकेको छ। उनीहरू प्रति उत्पादन पैसा पाउँछन्। यो ब्रान्डको अर्को विशेषता महिला सशक्तिकरण रहेको प्रकृति बताउँछिन्।

सुनैनाले समाजशास्त्रमा स्नातकोत्तर गरेकी छन् भने प्रकृति एमबिए गर्दैछिन्। प्रकृतिले पनि एक वर्ष ‘जमर्को’ नेपाली ब्रान्डमा ‘सेल इन्चार्ज’ भएर काम गरेकी थिइन्।

जागिरक्रममा प्रकृतिलाई सामान पुनः प्रयोग गर्न मिल्छ भन्ने ज्ञान धेरै थिएन रे। अहिलेको काम पनि एक महिना अनुसन्धान गरेर मात्रै सुरू गरेको उनी बताउँछिन्।

‘जागिर गर्दा हामीले समाजलाई फाइदा हुने केही काम गरेनौं,’ प्रकृति भन्छिन्, ‘नेपाली ब्रान्डहरू बजारमा आइरहँदा हामीलाई पनि केही गर्ने ऊर्जा मिल्यो। झन् पुराना कुरा सदुपयोग गर्न मिल्ने ज्ञान हामीले दिइरहेका छौं जस्तो लाग्छ।’

सुनैना र प्रकृतिलाई जागिर छाडेर यो काम सुरू गर्दा डर त थियो। परिवारको साथ भएकाले उनीहरूको काममा कहिल्यै प्रश्न उठाएनन्। बरु छोरीहरूको कामबारे उल्टै उत्साहित हुन्थे।

‘नेपाली ब्रान्डप्रतिको मोह पहिल्यैदेखि थियो तर अहिले अझै बढिरहेको छ,’ उनीहरू भन्छन्, ‘झन् सामाजिक सञ्जालले उद्यमीलाई धेरै सजिलो बनाएको छ। उद्यमी बन्ने सोच राख्नुभएको छ भने पहिले अनुसन्धान–अनुभव बटुलेर आउनुहोस्। एकैपटक व्यवसायमा हात हाल्दा सफल भइँदैन। सकेसम्म समाजलाई आवश्यक विषयमा काम गर्दा राम्रो हुन्छ।’

‘जागिर खाँदै यता काम गर्न सकिन्थ्यो। तर उत्पादन राम्रो बनाउने सोचले पूरै समय दिएका हौं। काम राम्रो हुनुपर्छ। हाम्रो झोलाको अलिकति धागो निस्कियो भने पनि चित्त बुझ्दैन,’ सुनैनाले भनिन्।

३५ हजार रूपैयाँ लगानीबाट सुरू तता-केहेँमा अहिले पुराना सारीबाट झोला, मेकअप सामान राख्ने पाउच, स्क्रन्ची (थैलीजस्ता झोला), पर्स, रबर जस्ता सामान पाइन्छन्। उनीहरूले सुत्केरीलाई सामान बोक्न सजिलो होस् भनेर ठूलो आकारको ‘प्रसूति झोला’ बनाएका छन्। यीमध्येमा १ हजार ८ सय पर्ने प्रसूति झोला नै सबभन्दा महँगो हो भने ५० रूपैयाँमा पाइने स्क्रन्ची सबभन्दा सस्तो।

उनीहरूका अनुसार उपत्यकाबाहिर मोरङ, पोखरा लगायत ठाउँबाट अर्डर आउने भएकाले सामान कहिल्यै स्टकमा रहँदैन।

‘बजारमा बनेका झोला कहाँबाट आउँछ, कसले बनाउँछ केही थाहा हुँदैन। त्यसो हुँदा तपाईंलाई सामानप्रति मतलब नहुन सक्छ,’ सुनैना भन्छिन्, ‘तर आफ्नो सामानको उत्पादकबारे जानकारी भयो भने माया बढ्छ। हामी ग्राहकलाई सिधा उत्पादकसँग सम्पर्क गराउन सक्ने भएकाले उहाँहरूबारे जानकारी पाउन सक्नुहुन्छ।’

पाँच महिलाले मात्र उत्पादन गर्ने भएकाले माग बढे पनि तता-केहेँले त्यसअनुसार उत्पादन गर्न नसकिरहेको सुनैना बताउँछिन्।

‘अरूले दिनमा ५० वटा उत्पादन गर्लान्, हामी दिनमा दुइटा मात्र गर्छौं। सबै काम हातले गर्नुपर्छ, समय लाग्छ। तर उत्पादनमा कुनै गल्ती नगर्ने प्रयासमा छौं,’ उनले भनिन्। 

तता-केहेँलाई कसैले आफ्ना पुरानो सारी दिन चाहेमा उनीहरूलाई सम्पर्क गर्न सक्नेछन्। तर सबै सारीबाट झोला बनाउन मिल्दैन। सिल्कबाट मात्रै राम्रो बन्ने भएकाले अरूले दिएका सारी लिन समस्या भइरहेको सञ्चालकहरू बताउँछन्।

Source: setopati.com

*Revive Management has aggregated the information and does not guarantee, approve or endorse the information provided.