Bicycle demand in India is unprecedented

Bicycle demand in India is unprecedented

अहिलेसम्म तपाईंले मन परेको कार वा मोटरसाइकल किन्नका लागि 'वेटिङ' मा बसेको सुन्नुभएको होला । तर साइकल किन्नकै लागि भने पालो कुरेर बस्नुपरेको सायदै सुन्न पाइन्छ । 

भारतमा भने यतिबेला साइकल खरिदका लागि पनि ग्राहकले अग्रिम बुकिङ गरेर पालो कुरेर बस्नुपर्ने अवस्था आएको छ यसको एउटै मात्र कारण हो मागमा अत्यधिक वृद्धि । पछिल्लो पाँच महिनामा भारतमा साइकलको बिक्री नै दोब्बरले बढेको छ ।

साइकल उत्पादन गर्ने कम्पनीहरुको राष्ट्रिय संगठन अल इन्डिया साइकिल म्यानुफ्याक्चर्स एसोसिएशन (एआइसीएम) का अनुसार, गत मेदेखि सेप्टेम्बरसम्मका पाँच महिनामा भारतमा ४१ लाख ८० हजार ९ सय ४५ वटा साइकल बिक्री भइसकेको छ । कयौं भारतीय शहरमा मान्छेहरुलाई आफूलाई मन परेको साइकल किन्नका लागि पर्खेर बस्नु परेको छ । 

भारत आफैं पनि विश्वमा दोस्रो सर्वाधिक संख्यामा साइकल उत्पादन गर्ने मुलुक हो । यसका बाबजुद भारतमा पहिलोपटक साइकलप्रति यति ठूलो रुझान देखिएको हो। 

'साइकलको मागमा आएको वृद्धि अभूतपूर्व छ । सायद इतिहासमा पहिलोपटक साइकलप्रति यस्तो रुझान देखिएको छ,' एआइसीएमका महासचिव केबी ठाकुर भन्छन्, 'पछिल्लो पाँच महिनामा साइकलको बिक्री शतप्रतिशतसम्म बढेको छ । कयौं ठाउँमा आफूले चाहेजस्तो मोडलको साइकल खरिदका लागि बुकिङ गराएर पर्खिनु परिरहेको छ ।'

साइकलको माग किन बढ्यो यस्तरी ?
दिल्लीका ठूला साइकल व्यापारीमध्येका अजय चावलाका अनुसार पछिल्लो ४-५ महिनामा साइकलको माग करिब पाँच गुणाले बढेको छ । केही खास मोडलका साइकलका लागि भने ग्राहकले कुरेर बस्नु परिरहेको छ । 

चावलाका अनुसार, कोरोनाका कारण गरिएको लकडाउनले गर्दा जिम र हेल्थ सेन्टरहरुमा ताला लागेकाले फिटनेसका लागि साइकल खरिद गर्नेहरुको संख्या निरन्तर बढेको हो।  

खासगरी गियरवाला साइकलहरुको खरिदका लागि ग्राहक वेटिङमा छन् । किनकि सिंगल स्पिड साइकलका प्रायः पार्टपुर्जा भारतमा नै बन्छन् भने भारतीय बजारमा पाइने गियरवाला साइकलका पार्टपुर्जा भने अधिकतर आयात हुन्छ । भारतमा यस्ता पार्टपुर्जा सबैभन्दा बढी चीनबाट आयात हुने गरेको छ ।

साइकलको माग अत्यधिक बढ्दै गएकाले केन्द्र र राज्य सरकारले साइकल लेन बनाउनुपर्ने माग चावलाले गरेका छन् । यसबाट मान्छेले सुरक्षित तरिकाले साइकल चलाउन सक्ने हुँदा यसले भारतमा पनि युरोप लगायतका पश्चिमेली मुलुकमा जस्तै साइकल क्रेज बढ्नेछ । 

यसका साथै चावलाको भनाइ छ - सरकारले साइकलको गुणस्तर जाँच तथा मापनका लागि एक नियामक संस्था बनाउन आवश्यक छ, ताकि देशमै राम्रो गुणस्तरको साइकल उत्पादन हुन सकोस् । साथै स्वदेशी साइकल उत्पादक कम्पनीहरुले आफ्नो बिक्रीपछिको सेवाको सञ्जाल पनि बढाउन आवश्यक छ ।

केही महिनायता साइकलको माग बढ्नुको कारणबारे नोयडास्थित साइकल ट्रेडिङ कम्पनीका संचालक राजेश गिरधर भन्छन्,  'कोरोनाको महामारीबाट बच्नका लागि धेरैजसो मान्छे भीडबाट बच्न चाहन्छन् । यसैले अलिक टाढाको यात्राका लागि मेट्रो वा सार्वजनिक यातायातको प्रयोगबाट जोगिँदै आएका छन् । तर अफिस जान-आउनका लागि भने अहिले साइकल प्रयोग गर्नेको संख्या ठूलो छ ।'

कोरोना महामारीपछि मानिसहरु आफ्नो स्वास्थ्यलाई लिएर धेरै सजग भए । यसका साथै साइकलले एक पन्थ बहु कामको साधनका रूपमा देखिँदा पनि लकडाउन खुलाका दौरान सडकमा सवारीसाधनहरुको संख्या र प्रदूषणमा कमीका कारण मानिसहरु साइक्लिङका लागि उत्साहित भएको एआइसीएमएका महासचिव केबी ठाकुर बताउँछन् । 

लकडाउनपछि बढ्यो बिक्री
जयपुरको आनन्द साइकल स्टोरका गोकुल खत्रीको भनाइमा लकडाउनपछि साइकलको बिक्री १५ देखि ५० प्रतिशतसम्म बढेको छ । उनी भन्छन्, 'जरुरी काम सुल्झाउनका साथसाथै सोख र स्वास्थ्यका लागि पनि मान्छेहरु साइकल खरिद गरिरहेका छन् । किनकि, उनीहरुलाई लाग्छ यो स्वास्थ्य ठीक राख्न सबैभन्दा सस्तो, राम्रो र टिकाउ माध्यम हो ।'

भारतका कतिपय ठाउँमा अहिले भारु १० हजार वा त्यस आसपासका मूल्यका साइकल अत्यधिक बिक्री भइरहेको छ, जसलाई 'रफ टफ' प्रयोग गर्न सकियोस् ।

भारतको एक प्रमुख साइकल कम्पनीका प्रवक्तालाई उद्धृत गर्दै इकोनोमिक टाइम्सले लेखेको छ,  'अनलक सुरु हुनेवित्तिकै साइकलको मागमा उछाल आयो । त्यो माग पूरा गर्नेगरी उत्पादन गर्न मुस्किल भइरहेको थियो, भलै हामीले पछिल्लो पाँच महिनामा यो अवस्थामा धेरै सुधार गरिसकेका छौं ।' अहिले पनि धेरै ठाउँमा विशेष मोडेलका, खासगरी गियरवाला, साइकलहरु अहिले स्टकमा नभएको उनी बनाउँछन् । 

कोरोना भाइरसका कारण गत मार्चमा साइकलको बिक्री ठप्प भयो । मे महिनामा यो आँकडा ४ लाख ४५ हजार ८ सय १८ भयो । जुनमा यो झन्डै दोब्बरले बढ्दै ८ लाख ५१ हजार नाघ्यो । जबकि, सेप्टेम्बरको एक महिनामै ११ लाख २१ हजार ५ सय ४४ साइकल बिक्री भएको एआइसीएमएले जनाएको छ । पछिल्लो पाँच महिलामा भारतमा कुल मिलाएर झन्डै ४२ लाख (४१,८०,९४५) थान साइकल बिक्री भएको एआईसीएमएको आँकडा छ ।

Source: https://bizmandu.com/content/20201017092122.html