Symbol of customers from 127 countries in the restaurant of Syrian and Nepali couple

Symbol of customers from 127 countries in the restaurant of Syrian and Nepali couple

भित्र छिर्नेबित्तिकै भित्तामा ठूलो विश्व मानचित्र देखिन्छ। तीमध्ये धेरै देशमा ‘पिन’ खोपिएका छन्।

पुल्चोकस्थित ताजा रेस्टुरेन्ट पुग्दा धेरैको ध्यान यसले खिच्छ। हरेक देशको पहिलो ग्राहक यहाँ पुग्दा आफ्नो देशको नक्सामा पिन खोप्ने मौका पाउँछन्। हालसम्म १२७ देशका ग्राहक ‘ताजा’ पुगेर चिनो छाडिसकेका छन्।

‘यो सामान्य रेस्टुरेन्ट होइन। हामीले केही नयाँ तरिका अपनाएका छौं,’ रेस्टुरेन्टका सञ्चालक बेसल स्रेइकीले भने, ‘विश्वभरका ग्राहक यहाँ आएर चिनो छाडून् भन्ने हाम्रो चाहना हो।’

‘ताजा’ सिरियन रेस्टुरेन्ट हो। अनि ३५ वर्षीय बेसल सिरियाका। यहाँ मध्यपूर्वी देश र विशेषगरी सिरियाको खाना पाइन्छ। रेस्टुरेन्टका अर्का सञ्चालक बेसलकी श्रीमती संगीता लामा हुन्। सिरियन र नेपालीको यो जोडीले २०७२ सालदेखि रेस्टुरेन्ट चलाइरहेका छन्।

बेसल र संगीताको भेट २०६४ सालमा दुबईमा भएको थियो। दुवै काम सिलसिलामा त्यहाँ पुगेका थिए। 

लुगा व्यवसाय गर्ने एक कम्पनीमा बेसल काम गर्थे। संगीता पनि त्यहीँ आवद्ध भइन्। दुवैको विभाग भने अलग थियो। उनीहरूको भेट हुन्थ्यो, बोलचाल हुन्थेन। पछि एकै विभागमा काम गरेपछि कुराकानी सुरू भयो।

‘सुरूमा बोल्न पनि डराएँ। सामान्य नेपालीभन्दा ज्यांगो उनको हुलियाकै कारण होला,’ संगीताले बेसलसँग भेट्दाको अनुभव साटिन्, ‘नयाँ ठाउँमा हामी दुवैका साथी थिएनन्। पछि हामी एकअर्काका साथी भयौं।’

दोलखाकी संगीता २० वर्षको उमेरमा स्नातक पढ्दाताकै दुबई पुगेकी थिइन्। उनलाई अन्तिम समयसम्म पनि दुबई नजान बुवाले सुझाएका थिए। उनले अड्डी कसिन्।

दुबई पुगेपछि त्यहाँको समाजमा घुलमिल हुनै समय लाग्यो। सुरूआतमा खानपिनको पनि मुश्किल। पछि संगीताले जागिर छाडिन्। एक्लै बस्दा घर खर्चको समस्या। 

बेसल पनि उनीजस्तै एक्लै संघर्षरत थिए। 

एउटै कम्पनीका दुई साथी, सँगै बस्दा सस्तो हुने सोच आयो। कुरा पनि मिल्यो। जागिर खोजिरहेकी संगीताको अधिकांश समय बेसलसँगै बित्थ्यो। झन्डै तीन महिना उनीहरूले ‘डेट’ गरेको बताउँछन्। सम्बन्ध राम्रो भएको महशुस गरेपछि बिहे गरे।

‘भव्य बिहे गरेका होइनौं। एकअर्काप्रति पूरा प्रतिबद्ध भने थियौं,’ संगीताले सम्बन्धबारे बताइन्, ‘बिहेअघि दुवैले घरमा खबर गर्‍यौं। सल्लाह लिन होइन, जानकारी गराउन।’

संगीताका अनुसार निश्चित उमेर पुगेपछि जिन्दगीको निर्णय आफैं लिनुपर्छ। त्यसैले परिवारलाई थाहा मात्र दिए, सल्लाह मागेनन्।

बिहेपछि २०६८ सालमा उनीहरू नेपाल घुम्न आए। संगीताको परिवारले बेसललाई स्वीकार्‍यो। बेसलको परिवार पनि खुसी थियो।

आमाको भनाइ उद्धृत गर्दै बेसलले भने, ‘जे ठीक लाग्छ गर, त्यसैमा हामी खुसी छौं।’

नेपाल आएको केही समय बेसल संगीताकी आमासँगै घुमे। उनलाई नेपाली समाज मनपर्‍यो। यहाँका मान्छे मनकारी लाग्यो। तर समय मिलाएर आएका, दुवै फर्कन त पर्थ्यो नै।

केही समय दुबई बसेर सिरिया जाने उनीहरूको योजना थियो। तर २०६७ सालदेखि सुरू सिरिया युद्धका कारण योजना फेरियो। दुबईमै केही वर्ष काम गरे। सिरियाको अवस्था सुधार हुने छनक देखिएन।

उनीहरूले नेपाल बस्ने सोच बनाए।

‘नेपाल बस्ने पूर्व योजना थिएन,’ बेसलले भने, ‘परिस्थितिले बाध्य बनायो। बाँच्न र कमाइकै लागि यो भूमि रोज्यौं।’

२०७१ सालमा उनीहरू नेपाल आए। बेसललाई नेपाली खाना मनपर्छ। कहिलेकाहीँ आफ्नै देशको स्वाद ‘मिस’ गर्थे। सिरियन खाना खोज्दै निकै रेस्टुरेन्ट पनि चहारेछन्। भनेजस्तो स्वाद फेला पारेनन्।

उनलाई यहाँ बसेर बाँच्ने उपाय फुर्‍यो- सिरियन खाना पाइने रेस्टुरेन्ट खोल्ने।

संगीतालाई भने विदेशी स्वादको रेस्टुरेन्ट खोल्न संकोच थियो। नयाँ स्वाद भित्र्याउनु व्यवसायलाई चुनौती दिनु हो भन्ने लाग्यो।

‘त्यसमाथि लुगाको कम्पनीमा काम गरेका हामीलाई होटल व्यवसाय नयाँ थियो। जोखिम लिन मन थिएन। कपडाकै व्यवसाय गर्ने सोच पनि थियो,’ संगीताले भनिन्।

बेसल आफ्नो सोचाइमा डगमगाएनन्, संगीतालाई मनाइछाडे।

अनि खुल्यो ‘ताजा’ रस्टुरेन्ट। 

सुरूका दिन मःम, चाउमिन र फ्राइ राइस मेनुमा थियो। सिरियन खाना आँटेनन्। केही महिनाको अन्तरालपछि भने जोखिम लिन तयार भए। ‘ताजा’मा सिरियन खाना पाक्न थाल्यो।

बेसलले पोखरादेखि ‘कुक’ पनि ल्याएका रहेछन्। तर छोटो समयमै उनले छाडिदिए। 

‘त्यसपछि म आफैं सेफ बनेँ,’ उनले भने, ‘राम्ररी पकाउन नआए पनि सिरियन खानाको स्वादमा म विश्वस्त थिएँ। धेरै पटक बनाउँदै–बिगार्दै सिकेँ।’

ताजामा विभिन्नथरि सिरियन परिकार पाइन्छ, विशेष ‘श्वर्मा’ हो। सिरियाको ‘स्ट्रिट फुड’ मानिने श्वर्माका धेरै स्वाद हुन्छ। त्यस्तै मिठाइका परिकार पनि छन्। शाकाहारी र मांसाहारी दुवै खाना पाइए पनि यहाँ नेपाली समाजमा सहज होस् भनेर कुखुराको मासु मात्र चलाइने बेसलले बताए।

सुरूसुरूमा ग्राहकले मःम, चाउमिन खोजे पनि अचेल सिरियन खाना नै सोध्ने बेसल बताउँछन्। अब चाँडै सिरियन ब्रेकफास्ट पनि भित्र्याउने योजना छ।

यहाँ केही दैनिकी ग्राहक छन्। धेरैले भने डेलिभरी खोज्छन्।

‘कहिले रेस्टुरेन्ट पूरै भिड हुन्छ, कहिले दिनको चार–पाँच जना मात्र,’ ग्राहक प्रभावबारे बेसल भन्छन्।

अहिले उनी र संगीता समेत गरेर रेस्टुरेन्टमा सात कामदार छन्। हरेक बिहान ११ बजेदेखि बेलुकी ९ बजेसम्म खट्छन्। धेरैले यसको शाखा खोल्न प्रस्ताव गरिरहँदा पनि झन्झटका कारण नस्वीकारेको संगीता बताउँछिन्।

‘पहिले कामदार नहुँदा काखमा बच्चा च्याप्दै सेवा पुर्‍याएकी छु। अलमल हुँदा पनि रेस्टुरेन्टमै लागि परेकी छु। अब त कसैले छोड भने पनि सक्दिनँ होला,’ पुराना दिन सम्झँदै ३४ वर्षीया संगीता भन्छिन्। उनीहरूकी एक छोरी नाया लामा छन्।

बेसलको परिवारसँग सम्पर्क भए पनि उनी सिरिया नपुगेको दशक बढी भयो। उनले आफ्नो देशको संकेत रेस्टुरेन्टमा उतार्ने प्रयास गरेका छन्। भित्तामा कोरिएका पुराना सिरियन संरचनाले सहरको पुरानो झल्को दिन्छ। 

बेसल चाहन्छन्, यहाँ आउने ग्राहक सिरिया नपुगे पनि त्यहाँको रमणीय वातावरण पुगेको महशुस गरून्।

आफ्नो देशबारे भावुक हुँदै बेसल भन्छन्, ‘युद्धले सिरियालाई तहसनहस बनाएको थियो। कति संरचना नासिए होलान्।’

नेपाली समाजमा घुलमिल हुन पनि सिक्दैछन् बेसल। उनलाई भादगाउँले टोपी खुब मनपर्छ। प्रायः यही टोपी ढल्काएर बसेका भेटिन्छन्। यहाँका हरेक पर्वमा रमाउँछन्। नेपाली भाषा बोल्छन्।

छोरीलाई पनि बुवा र आमा दुवैको भाषा सिकाउँदैछन्। दुईको फरक देशको हुनु नै यो जोडीको विशेषता भएको संगीता बताउँछिन्।

मुस्काउँदै भन्छिन्, ‘हामी दुई फरक देशका भए पनि माया, सहयोग र मेलमिलाप छ। त्यसैले सम्बन्ध र व्यवसाय दुवै ताजा छ।’ 

Sources: setopati.com

*Revive Management has aggregated the information and does not guarantee, approve or endorse the information provided.