Docha Footwear

Docha Footwear

काठमाडौं, पानीपोखरीस्थित ‘दोचा’ तपाईंका राम्रो गन्तव्यको राम्रो साथी बन्न सक्ला! झन् यो त ‘नेपाली ब्रान्ड’ पनि।

तिब्बत र नेपालका हिमाली भेगबासीले लगाउने जुत्ता हो दोचा। वत्सल राजभण्डारी, डिकेस प्रजापति र अमुदा मिश्रले यही नामलाई आफ्नो जुत्ताको ब्रान्ड बनाएका छन्।

आफ्नो पहिचान, संस्कृति, समुदायप्रति मान्छे निकै सचेत छन्। जुत्ताले ‘वाकिङ न्यारेटिभ’ का रूपमा तिनका कथा बताउन सक्ला! त्यही सोचले ‘दोचा’ जन्मिएको वत्सल र डिकेस बताउँछन्। अमुदा भने अहिले त्यति सक्रिय छैनन्।

यसको आफ्नै कथा भने २०७२ को भुइँचालोबाट सुरू भएको हो। वत्सल र अमुदा एक गैरसरकारी संस्थामा आवद्ध थिए भने डिकेस ‘एप्लिकेसन डेभलपमेन्ट’ को काम गर्थे। त्यति बेला भूकम्पपीडितलाई राहत बाँड्ने डिकेसको सोच थियो।

राहत बाँड्ने सोच भए पनि कसरी गर्ने, डिकेसलाई अन्योल भयो। त्यहीक्रममा उनले दुइटा फोन नम्बर फेला पारे। एउटामा डायल गरे। संयोग, त्यो नम्बर उनले काम गरेकै कम्पनी भवनमाथि रहेको एनजिओका वत्सलको रहेछ।

‘एउटै भवन भए पनि हामीबीच बोलचाल थिएन। मुस्कान साटासाट मात्रै हुन्थ्यो,’ डिकेसले भने, ‘भुइँचालोले भने हामीलाई नजिक्यायो। दोचाले सँगै हिँडाइरहेको छ।’ 

राहत वितरण क्रममा विभिन्न ठाउँ पुग्दा त्यहाँको समुदाय, परम्परा, रहनसहनसँग पनि उनीहरू नजिकिए। ती मौलिकता नयाँ पुस्तासम्म आइनपुगेको महशुस गरे।

‘कसरी पुर्‍याउन सकिएला त,’ उनीहरूको चिया गफ विषय बन्थ्यो।

‘हामी जुत्ताको सौखिन पनि थियौं। जुत्ताबारे धेरै कुरा हुन्थ्यो। त्यसैले स्थानीय मौलिकता त्यसैबाट किन नदेखाउने भन्ने भयो,’ वत्सलले भने, ‘डिकेसलाई स्थानीय संस्कृतिप्रति धेरै चासो पनि थियो। हाम्रो गफमा कला, संस्कृति र समुदायका विषय जोडिएर आउँथे।’

बाटामा देखिने ग्राफिटी (पर्खाल, घरका भित्तामा गरिने चित्रकला)ले पनि कलाप्रति झुकाव बढाएको डिकेस बताउँछन्। त्यसले उनीहरूको सोच विस्तार गर्न झनै सघायो।

‘नेपाली कलाकारले आफ्नो कलाको मूल्य पाइरहेका हुँदैनन्। त्यो प्ल्याटफर्म दिऊँ भन्ने सोच पनि आएको हो,’ डिकेसले भने।

त्यो सोच विस्तार हुँदै कम्पनीको स्वरूप पाउन थप दुई वर्ष लाग्यो। सुरूआती समय उनीहरूले अनुसन्धानमै बिताए। ‘दुल्ला’ जुत्ता उत्पादक ‘द फ्याक्ट्री टिम’ का अहमद दुल्लासँग भेटे। दुल्लाले भारतका विभिन्न कम्पनी पुगेर जुत्ता बन्ने प्रक्रिया हेर्न सुझाए। दिल्ली, लखनउ लगायत ठाउँका धेरै कम्पनी उनीहरूले चहारे। महिनामा हजार जोर जुत्ता बन्नेदेखि दिनमा हजार जोर बन्ने ठाउँ पुगे।

करिब १५ दिनको भारत बसाइमा जुत्ता बन्ने तरिका, उत्पादकलाई भेट्नेदेखि जुत्ता बनाउनेसँग कसरी सहकार्य गर्ने भन्नेसम्म जानकारी पाए। दिल्लीबाट कानपुर जानेक्रममा भने उनीहरू नराम्रो दुर्घटनामा परेछन्। बिहानी हुस्सुका कारण उनीहरूको सवारीसाधनले अगाडिको अर्को सवारीसाधन देखेन रे।

‘त्यो बेला हामी संयोगले बाच्यौं। अहिले पनि उद्यममा कति समस्या आउँदा, रिस अनि दिक्क लाग्दा त्यही घटना सम्झन्छौं,’ वत्सलले भने, ‘मृत्युकै मुखअघि पुग्दा त सामना गर्‍यौं भने अहिलेको समस्या केही होइन भन्ने सोचले हामीलाई बलियो बनाउँछ।’

फर्किएपछि उनीहरूको सोच ‘नेपालमा जुत्ता मात्रै होइन, राम्रो जुत्ता पनि बन्नसक्छ है’ भनेर दखाउनु थियो। त्यसैकारण जुत्ता नमूना तयार पार्न उनीहरू दसवटा जति वितरक चहारे। नेपालमै पाइने कपडा र ‘सोल’ प्रयोग गरे। तर त्यो सोल भारी र रबरको स्तर पनि राम्रो थिएन। पछि भारत र चीनबाट आयात गर्न थाले।

२०७३ सालदेखि ‘दोचा’ ब्रान्डका जुत्ता बजारमा आउन थालेको हो। सुरूआत वत्सलको कोठाबाट भएको थियो। त्यहीँबाट ‘डेलिभरी’ लिने र आफैं बेच्थे। त्यो बेला ९० जोर जुत्ता बनाएका थिए जुन चिनजानका मान्छेलाई बेचे। सोल, तुना लगायतमा गुनासो भए पनि नयाँ शैलीका जुत्ता ल्याएकाले तारिफ पनि बटुल्थे। गुनासा सुनेर सुधार्ने मौका पाउँथे।

दोचा जुत्तामा प्रयोग हुने कपडा तामाङ र नेवार समुदाय झल्किने डिजाइनका छन्। यो कपडा काठमाडौंका साथै धनकुटा र पाल्पाबाट ल्याइएका हुन्। कपडाअनुसार बनेका जुत्तालाई ‘बुना’, ‘माङ’ र ‘नखः’ नामकरण गरिएको छ। ती नामले आफ्नै कथा भनिरहेका छन्।

बुनेको ढाकाको जुत्ता भएकाले ‘बुना’, तामाङ समुदायसँग जोडिएकाले ‘माङ’ र चाडपर्वलाई नेवार समुदायले ‘नखः’ भन्छन्। त्यही समुदायका कपडा जुत्तामा उनिने भएकाले नाम त्यसैअनुरुप भएका हुन्।

असर नगर्ने गरी संवेदनशील भएर राख्न जरुरी छ।’

जुत्ताको नाम ‘माङ’ को अर्थ ‘आत्मा’ सँग जोडिने रहेछ। आत्मा राम्रो वा नराम्रो दुवै हुन्छ। तामाङ समुदायका एक मान्छेले ‘तिमीले त जुत्ताको नाम भूत राखेछौ’ भन्ने प्रतिक्रिया पनि दिएछन्।

कामको सिधा प्रभाव संस्कृति र समाजसँग जोडिएकाले आफूले छान्ने डिजाइन र कपडामा निकै संवेदनशील हुन चाहन्छन् उनीहरू। कतिपय संकेत भगवानसँग जोडिएकाले अध्ययन गर्नुपर्ने पनि उनीहरू ठान्छन्। त्यही भएर मिथिला र मण्डल संस्करण ल्याउने सोच पहिलेकै भए पनि हिच्किचाएका रहेछन्।

‘कुन कुराले के अर्थ राख्छ भन्ने हामीले जान्नुपर्छ। जुत्ता बनाउँदा सबै परम्परालाई सम्मान दिनैपर्छ। मान्दै आएको परम्पराको मूल्यमान्यता हामीलाईभन्दा सम्बन्धित मान्छेलाई नै बढी हुन्छ। हामीले त्यो दृष्टिकोणबाट पनि हेर्न जरुरी छ,’ वत्सलले भने, ‘राम्रो देखिन्छ भनेर कसैको सांस्कृतिक भावनामा धक्का लाग्ने गरी बनाउनु कुनै अर्थ हुँदैन।’

सुरूआतदेखि नै उनीहरूले बुना, नखः र माङ डिजाइनमा जुत्ता बनाएका हुन्। पछिल्लो संस्करणमा ‘आर्टिस्टिक एडिसन’ र ग्राहकको डिजाइन अनुसार (कस्टमाइज्ड) जुत्ता बनाउने तयारीमा छन्। ती संस्करणमा कलाकारसँग सहकार्य गर्ने सोच उनीहरूको छ।

यति बेला उत्पादन भइरहेका जुत्ता भने डिकेसले डिजाइन गरेका हुन्। उनी ग्राफिक डिजाइनिङ पनि गर्ने भएकाले कुन राम्रो देखिन्छ भन्ने बनाउँदै, सुझाव लिँदै तयार पार्छन्। ‘दोचा’ लोगो डिजाइन गर्दा पनि उनले रञ्जना, तिब्बती लगायत विभिन्न लिपि हेरेका थिए रे। बनाउँदै जाँदा यही लोगो नै कुनै लिपिजस्तो देखिन थाल्यो।

यहाँका जुत्ता सात जना कामदारले बनाउँछन् जसमा पाँच महिला र दुई पुरुष छन्। उनीहरूले दिनमा २० देखि १ सय २० वटासम्म जुत्ता बनाउँछन्। हातले बनाउँदा समय लाग्छ। कहिलेकाहीँ ‘अर्डर’ धेरै हुँदा बाहिरबाट मान्छे ल्याउनुपर्ने वत्सल बताउँछन्।

दोचाका सबै जुत्ताको मूल्य एउटै छ, दुई हजार ७ सय ५० रुपैयाँ।

‘धेरैले महँगो भनिरहेका हुन्छन्। तर प्रयोग गर्ने र महत्व बुझेकाले तपाईंले त सस्तोमा बेचिरहनुभएको रहेछ है पनि भन्नुहुन्छ,’ डिकेस सुनाउँछन्, ‘विदेशीलाई त झन् नेपाली सामान आफैंमा ब्रान्ड भइहाल्यो।’

दोचासँग ग्राहकलाई कुराउँदाको अनुभव पनि छ। नाकाबन्दी बेला बिजुली जाने र कच्चापदार्थ ल्याउन नपाउँदा धेरै मान्छे रिसाएका थिए रे।

‘त्यति बेला त अर्डर आयो भनेर डर लाग्ने अवस्था पनि थियो,’ डिकेसले हाँस्दै भने।

दोचा नेपालभर र विदेशमा पनि ‘डेलिभर’ हुन्छ। काठमाडौं वरिपरि दुई दिन र बाहिर तीनदेखि पाँच दिन लाग्न सक्ने उनीहरू बताउँछन्। जुत्ताको ‘वारेन्टी’ ६ महिना दिइएको छ, बिग्रिए बनाइदिने र साट्ने पनि सुविधा।

हाम्रो समाजमा जुत्ता बनाउने जात छुट्याएर चिनिन्छ। उनीहरूमध्ये व्यवसायी नै भएर लागेका धेरै कम छन्। वत्सल र डिकेसका अनुसार सुरूआतमा जुत्ता बनाएर बेच्नुभन्दा गाह्रो परिवारलाई सम्झाउन भएको थियो रे।

‘के गरिरहेको मान्छे, जुत्ता बनाउन लाग्यो’ भनेर चित्त बुझाएका थिएनन्। जुत्ता बजार पुगेर राम्रो प्रतिक्रिया आउन थालेपछि परिवारले बुझे। दोचाजस्तो ब्रान्डले यो व्यवसायलाई अझै सम्मानपूर्ण बनाउनसक्ने उनीहरूको भनाइ छ।

लेखक कुमार नगरकोटीको किताब ‘दोचा’ आउँदा साथीहरूले जिस्क्याए पनि रे- ओहो, तिमीहरूको त किताब पनि निस्किसकेछ त! 

डिकेस र वत्सल आफ्नो ब्रान्ड नाम परिचित हुँदै जाँदा खुसी सुनिन्छन्।

कोठाबाट सुरू दोचा लम्कँदै-लम्कँदै आफ्नै भवनसम्म पुगेको छ। भविष्यमा मान्छे थपेर ठूलो समूह बनाउने सोचेका छन् सञ्चालकद्वयले। अहिले आफ्नै स्टोर नभएकाले विभिन्न पसलमा राखेर बेचिरहेका छन्। केही समयमा झम्सिखेलमा आफ्नै स्टोर खोल्ने तयारी छ।

उनीहरूलाई लाग्छ– अचेल उद्यमी बन्नु ‘फ्यान्सी’ भएको छ। कामै नगरी पैसा उठाउने ध्याउन्न हुन्छ। लगानीकर्ताले ‘आइडिया’मा लगानी गर्ने नयाँ अवधारणा भएकाले कमैले त्यो अवसर पाउँछन्। तर उद्यमी आजको भोलि नै नबनिने उनीहरू बताउँछन्।

‘आज सोच आयो भोलिदेखि उद्यमी बन्छु, पर्सिदेखि पैसा कमाउँछु भन्ने होइन। यसका लागि आफ्नो हात फोहोर गर्न तयार हुनुपर्छ,’ वत्सलले भने, ‘म आफैं जुत्ता बनाउन पर्‍यो भने सक्छु। उद्यम गर्दा सबै काम गर्न तयार हुनुपर्छ।’

Source: setopati.com

*Revive Management has aggregated the information and does not guarantee, approve or endorse the information provided.