Registration and use Of KYC costs Rs.300

Registration and use Of KYC costs Rs.300

सिडिएससीको सेन्ट्रल केवाइसी प्रणालीमा आबद्ध हुनका लागि ग्राहकले ३ सय रुपैयाँ तिर्नुपर्ने भएको छ ।

धितोपत्र बोर्डले केन्द्रीकृत ग्राहक पहिचान विवरण (सी–केवाइसी) सेवासम्बन्धी कार्य सञ्चालन निर्देशिका, २०७७ को मस्यौदाअनुसार केवाइसी प्रणालमिा आबद्ध हुनका लागि ग्राहकले २ सय रुपैयाँ तथा प्रयोगका लागि १ सय रुपैयाँ तिर्नुपर्नेछ ।

ग्राहकले दर्ताशुल्क २ सय र प्रयोग शुल्क १ सय रुपैयाँ गरेर सी–केवाइसी प्रणालीमा आबद्ध हुनका लागि कुल ३ रुपैयाँ बुझाउनुपर्ने भएको हो ।

मस्यौदा अनुसार सी–केवाइसी प्रतिनिधिले ग्राहकबाट २ सय रुपैयाँ लिनेछ भने सिडिएससीले केवाइसी दर्ता प्रतिनिधिले लिने दर्ता शुल्कबाट ७५ प्रतिशत लिनेछ । दर्ता भइसकेको केवाइसी विवरण प्रयोग गर्न प्रतिनिधिले १ सय रुपौयाँ लिनेछ । सो रकमको ७० प्रतिशत पनि सिडिएससीले लिनेछ ।

मस्यौदा अनुसार सिडिएससीले ग्राहकको पहिचान विवरण केन्द्रीकृत रुपमा राख्नका लागि केन्द्रीकृत केवाइसी प्रणाली सार्वजनिक–निजी साझेदारीमा प्राविधिक साझेदार नियुक्त गरी लागू गर्ने व्यवस्था छ । धितोपत्र बोर्डले तयार गरेको निर्देशिकाको मस्यौदा छलफलका लागि सार्वजनिक गर्दै ग्राहकको केन्द्रीकृत केवाइसी दर्ता गर्ने प्रयोजनका लागि निक्षेप सदस्य, धितोपत्र दलाल, लगानी व्यवस्थापक, मर्चेन्ट बैंकर्स, बजार निर्माता, सामूहिक लगानी कोष व्यवस्थापकले सिडिएससी समक्ष निवेदन दिन सक्नेछन् ।

केवाइसी दर्ता प्रतिनिधिका लागि दर्ता शुल्क ५० हजार र वार्षिक २० हजार

केवाइसी दर्ता प्रतिनिधिले केन्द्रीकृत केवाइसी प्रणालीमा आबद्ध हुन दर्ता शुल्क ५० हजार र वार्षिक २० हजार रुपैयाँ शुल्क लाग्नेछ । केवाइसी दर्ता प्रतिनिधिले सिडिएसीसँग सम्झौता गरी सिडिएससीले एडमिन लगइन प्रदान गर्नेछ । एडमिन लगइन प्राप्त गर्ने संस्थाले आफ्ना शाखाहरुका लागि छुट्टाछुट्टै लगइन मार्फत कार्य गर्नुपर्छ ।

केन्द्रीकृत केवाइसी प्रणालीमा ग्राहकको बायोमेट्रिक (व्यक्तिगत परिचय) डिजिटल फोटो, नागरिकताको प्रमाणपत्र, जन्मदर्ताको प्रमाणपत्र लगायतका ग्राहकको परिचय खुल्ने प्रमाणपत्र सहितको केवाइसी विवरण केन्द्रीकृत रुपमा प्रविष्टि हुनेछ । केन्द्रीकृत केवाइसी प्रणालीमा ग्राहक आफैं वा घरैबाट केवाइसी प्रतिनिधिको अधिकार प्राप्त व्यक्ति वा कर्मचारी मार्फत बायोमेट्रिक विवरण प्रविष्टि गर्न सकिनेछ । ग्राहकको व्यक्तिगत परिचयसहितको विवरण प्रमाणित गरेपछि प्रणालीबाट पृथक केवाइसी आइडी प्राप्त हुनेछ ।  

ग्राहकको बायोमेट्रिक, नागरिकताको प्रमाणपत्र, जन्मदर्ताको प्रमाणपत्रको आधारमा ग्राहकको दोहोरो प्रविष्टि नहुने गरी प्रणालीले प्रमाणीकरण गर्नेछ । त्यसैगरी ग्राहकको हितग्राही खाता खोल्नका लागि केन्द्रीकृत केवाइसी प्रणालीलाई केन्द्रीय निक्षेप प्रणालीमा आबद्ध गरिनेछ । ग्राहकले धितोपत्र बजारमा कारोबार गर्न केन्द्रीकृत केवाइसी प्रणालीलाई कारोबार प्रणाली लगायत अन्य निकायसँग आबद्ध गर्न सक्नेछ ।

केन्द्रीकृत केवाइसीमा अभिलेख भएका विवरण अन्य निकायले समेत प्रयोग गर्न सक्नेछ । हितग्राही खाताको विवरणको तथ्यांक शुद्धीकरण गरी एक व्यक्तिको एकभन्दा बढी हितग्राही खातासमेत यकिन हुने गरी पृथक केवाइसी आइडी प्रदान गर्न सक्नेछ । केवाइसी प्रविष्टि, केवाइसी संशोधन, केवाइसी डाउनलोडको अडिट लग गर्न सक्नेछ । हितग्राही खातालाई केवाइसी आइडीसंग आबद्ध गर्न सक्ने व्यवस्था मस्यौदाले गरेको छ ।

केन्द्रीकृत केवाइसी प्रणालीमा अभिलेख भएका केवाइसी विवरण धितोपत्र बजारसँग सम्बन्धित अन्य संस्था वा कम्पनीहरुले हितग्राही खाता खोल्ने, धितोपत्र बजारमा कारोबार गर्न र बोर्ड वा अन्य नियामक निकायले अनुमति वा इजाजतपत्र प्रदान गरेका कार्यका लागि उपयोग गर्न सक्नेछ ।

सिडिएसीले केही समयअघि नै केन्द्रीय केवाइसी प्रणालीको विकास गरी लागूसमेत गरिसकेको अवस्था छ । सिडिएसले केही कम्पनीलाई डिजिटल सन्ट्रल केवाइसीको सुविधासमेत उपलब्ध गराउँदै आएको पनि हो । यसै सन्दर्भमा नेपाल धितोपत्र बोर्ड अनुमति नदिएका कारण सिडिएसीले सुरु गरेको सेन्ट्रल केवाइसी प्रभावकारी रुपमा कार्यान्वयन हुन नसकेको अवस्था छ । यो निर्देशीका लागू भएपछि भने सिडिएसीले सुरु गरेको केन्द्रीकृत केवाइसी प्रणालीको कार्यान्वयन हुने सम्भावना उच्च छ ।

Source: https://notebazar.com/news/2020-08-17-37