City Center Operating in Biratnagar

City Center Operating in Biratnagar

विराटनगर। भाटभटेनी र सेन्ट्रल मलपछि विराटनगरमा  एक अर्बभन्दा बढी लगानीका दुई सपिङ मल सञ्चालनको तयारीमा छन्। एउटा शिव मन्दिर रोडमा उद्योग राज्यमन्त्री मोती दुगडको हो भने अर्को हाटखोलामा डा. सुवोध शर्माको।

दुगड मन्त्री भएपछि उनको प्रोजेक्ट केही ढिला हुने देखिएको छ भने विराटनगरको आरके चिल्ड्रेन अस्पतालका सञ्चालक डा. शर्माको प्रोजेक्ट निर्माण पूरा गर्दै सञ्चालनको तयारी नजिक पुगेको छ। हाटखोला चोकमा अत्याधुनिक सिनेमाहल, रुफटप स्विमिङ पुल, स्काई बार, प्ले जोन र फुडकोर्ट सहितको आठतले मल शर्माले सञ्चालनमा ल्याउने भएका हुन्।

बालरोगको विशेषज्ञ चिकित्सकका रूपमा पूर्वमा नाम कमाएका शर्माले सपिङ मल सञ्चालन गरेर बजार व्यवसायमा पनि सहभागिता थालेका हुन्। एक अर्ब २५ करोडको लगानी रहने मल फागुन २३ गतेदेखि औपचारिक रूपमा सञ्चालनमा ल्याउन यतिबेला फिनिसिङका काम भइरहेको छ। हाटखोला चोक पूर्वी मोरङका नगर र गाउँपालिका बासिन्दालाई विराटनगरसँग जोड्ने मुख्य चोक हो।

महानगरमा हाल सञ्चालनमा रहेकामध्ये भाटभटेनी विराटनगर-इटहरी राजमार्गसँगै छ भने सेन्ट्रल मल मुख्य बजार क्षेत्रभित्र छ। आरके सपिङ मल निर्माणका लागि भने नजिक उस्तै ठूला व्यापारिक कारोबार गर्ने प्रतिष्ठान र राजमार्ग नभएको चोक छनोट गरिएको छ। सपिङ मलको प्रोजेक्टमा डा. शर्माले व्यापारी सुनिल शर्मालाई साझेदार बनाएका छन्। आरके सिटी सेन्टर प्रालि नाम दिइएको मल साढे ३ कट्ठा क्षेत्रफलमा छ।

 विराटनगरमा डेढ वर्षघि भाटभटेनी र वर्षदिन अघि सेन्ट्रल मल सञ्चालनमा आइसकेका छन्। सीमापारि भारतीय बजार जोगबनी जाने संस्कार परिवर्तन गर्दै विराटनगरवासीलाई डिपार्टमेन्टल स्टोरमा किनमेल गर्न बानी पार्ने महेन्द्र चोकको नेपालबजार डिपार्टमेन्टल स्टोर भने बन्द भएको छ। ठूलो लागतको भाटभटेनीको डिपार्टमेन्टल सञ्चालनपछि आएपछि उक्त डिपार्टमेन्टल स्टोर बन्द भएको थियो।

शनिहाटमा ह्यारिसन होटल सञ्चालनमा ल्याएका मन्त्री दुगडको सेन्चुरियन मल पनि निर्माण पूरा हुने चरणमा छ। यसैबीच डा. शर्माको प्रोजेक्ट भने निर्माण पूरा गरेर सञ्चालनको तरखरमा पुगेको हो। प्रदेश १ को राजधानी घोषित भएपछि विराटनगरमा बढेको व्यापारिक गतिविधिलाई ध्यानमा राख्दै डा. शर्मा आफ्नो व्यापारिक परियोजनालाई छिटो सञ्चालनमा ल्याउन जुटेका हुन्।

 आरके सिटी सेन्टरका प्रबन्धक धीरज मैनालीका अनुसार बेसमेन्टसहित आठ तलाको हुने मल निर्माणको अन्तिम चरणमा पुगेको छ। ५० हजार वर्गफिटभन्दा बढीको मलमा बेसमेन्ट सवारीसाधन पार्किङका लागि छुट्याइएको छ । भर्ुइंतलामा काठमाडौंको प्रसिद्ध ‘बोता मोमो’ को फ्रेन्चाइज हुनेछ।

यसबाहेक भुइँतला र पहिलो तलामा ग्रोसरी आइटम राखिनेछन्। दोस्रो तलाको नाम ‘सस्तो बजार’ हुनेछ । यसमा सस्ता खालका कपडा, जुत्ताचप्पल, गिफ्ट आइटम, किचनवेयर, खेलौना आदि राखिने छन्। तेस्रो तला ब्रान्डेड सामानका लागि छुट्याइएको छ। यसमा विश्वप्रसिद्ध र ब्रान्डेड कम्पनीका गार्मेन्ट, फुटवेयर र छालाका सामानहरू राखिनेछन्।

चौथो तलामा कस्मेटिक अर्थात् शृंगार प्रशाधनका सामान हुनेछन्। यसबाहेक होम डेकोर अर्थात् घरमा सजाउने सामाग्री पनि यही तलामा राखिने छन् । यही तलामा सिटी सेन्टरको प्रशासकीय एकाइ राखिने छ।

पाँचौं तलामा जिम, जुम्बा र प्ले जोन आदि हुनेछ । प्ले जोन केटाकेटी र प्रौढ दुवै वर्गका लागि बनाइने छ। छैटौं र सातौं तलाको एकापट्ट ि२ सय ४० सिटको सिनेमा हल हुनेछ। छैटौं तलाको अर्कातिर फुडकोर्ट, रेस्टुरेन्ट र शैलुन हुनेछन् । शैलुनका लागि नील डेभिडसित सम्झौता भइसकेको मैनालीले बताए।

सातौं तलामा स्काई बार र रुफ टप स्विमिङ पुलको निर्माण भइरहेको छ। ‘अहिलेसम्म ८० करोड खर्च भइसकेको छ,’ प्रबन्धक मैनालीले भने, ‘अझै ४५ करोडको लगानी आवश्यक देखिएको छ।’ मलमा लक्ष्मी बैंक र मेगा बैंकले लगानी गरेका छन्। मलले दुइ सय ५० जनालाई रोजगारी दिने बताइएको छ ।

‘एउटै छानामुनि जीवन र जगतका सबै मालसामान र सुविधा पाइयोस् भन्ने हाम्रो लक्ष्य हो,’ मैनालीले बिजमाण्डूसित भने, ‘त्यसैले हामीले सस्तादेखि ब्रान्डेड सामानहरू एकै ठाउँ राख्न खोजेका हौं।’ अहिलेको मानिस अत्यन्त व्यस्त रहेकाले छरिएको बजार गएर किनमेल गर्न नभ्याउने उनको तर्क छ ।

Source: bizmandu.com