नेपाली सन्दर्भमा डिजिटल बैंकिङ

नेपाली सन्दर्भमा डिजिटल बैंकिङ

विश्वमा डिजिटल बैंकिङको प्रारम्भविन्दु भनेर सन् ६० को दशकलाई मानिन्छ, जतिबेला पहिलोपटक एटीएम तथा एटीएम कार्ड प्रयोगमा आएको थियो । त्यसपछि सन् ९० को दशकमा इन्टरनेटको विस्तार हुँदै गएपछि यसले पनि गति समात्दै गएको देखिन्छ ।

डिजिटल प्रविधिको विकास र विशेष गरी मोबाइल फोनको तीव्र फैलावटका कारण अहिले बैंकिङ पहुँचलाई व्यापक रूपमा जनस्तरमा विस्तारित गर्न त्यसले यथेष्ट प्रोत्साहन दिएको छ । मोबाइलबाटै बैंकिङ कारोबार गर्न सकिने भएपछि यसैको लाभ लिनसमेत व्यक्तिहरू बैंक खाता खोल्न प्रेरित हुन सक्छन् । फेरि सरकारले प्रदान गर्ने सामाजिक सुरक्षा भत्ताजस्ता सुविधाका लागि समेत बैंक खाता अनिवार्य गरेको परिप्रेक्ष्यमा बैंकिङ पहुँच केही वर्षअगाडिको सापेक्षमा निकै नै बढेको छ । यसरी डिजिटल कारोबारले गर्दा एकातिर खाता खोल्न प्रोत्साहन गरेको छ भने अर्कोतिर सबै नेपालीको बैंक खाता भन्ने सरकारी लक्ष्यप्राप्त गर्ने दिशामा समेत प्रशस्त योगदान दिएको छ ।

प्रविधिको तीव्र विकास र प्रविधिसँग खेल्न अभ्यस्त ग्राहकबीच तादात्म्यले निकट भविष्यमै डिजिटल बैंकिङलाई नयाँ उचाइमा लैजाने कुरा सिद्ध छ ।

डिजिटल बैंकिङमध्येको एक सशक्त माध्यम मोबाइल बैंकिङ त मोबाइलबाट नै छिटोछरितो तथा सस्तो किसिमले गर्न सकिने हुनाले पनि यसको उपयोगिता टड्कारै देखिन्छ ।

यति हुँदाहुँदै पनि नेपालका सन्दर्भमा डिजिटल बैंकिङको विकास मार्गमा धेरै चुनौती छन् । सबैभन्दा अग्रपंक्तिमा आउने चुनौती भनेको प्रविधिको उपलब्धता र प्रयोग नै हो ।

हुन त नेपालमा जनसंख्याभन्दा बढी संख्यामा मोबाइल फोनको प्रयोग हुने तथ्य नेपाल दूरसञ्चार प्राधिकरणले गत महीना मात्र सार्वजनिक गरेको छ । उसका अनुसार अहिले नेपालमा प्रयोगमा रहेका मोबाइल फोनको (सिम कार्ड) संख्या ३ करोड ८३ लाख रहेको छ । एक अध्ययनअनुसार नेपालमा करीब ८० प्रतिशत पुरुष तथा ६५ प्रतिशत महिलाले मोबाइल प्रयोग गर्ने गर्छन् । तर, यो संख्या वितरण भएको सिम कार्डको आधारमा निकालिएको हुनाले वास्तविक रूपमा मोबाइल प्रयोग गर्ने जनसंख्यालाई त्यसले प्रतिनिधित्व भने पक्कै पनि गर्दैन । अझै पनि ग्रामीण कतिपय इलाकामा आधारभूत दूरसञ्चारसमेत उपलब्ध हुन नसकेको सन्दर्भमा शहरी क्षेत्रमा एकैजना व्यक्तिले लिएको बहु सिम कार्डको आधारमा समग्र देशमा नै मोबाइल प्रयोगकर्ताको संख्या बढेको मान्न सकिँदैन ।

जनसंख्याको करीब आधा जनसंख्या बैंकिङ पहुँचमा रहेको भनिएका बेला यस्तो आँकडा आउनुले डिजिटल बैंकिङको वर्तमान अवस्था त्यति सन्तोषजनक नभएको स्पष्ट देखिन्छ्र
नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार अहिले नेपालमा करीब ८० प्रतिशत वयस्कहरूले मोबाइल फोन प्रयोग गर्ने गरेका छन् । यति हुँदाहुँदै पनि मोबाइलको माध्यमबाट इन्टरनेट चलाउनेहरू भने १५ प्रतिशतको हाराहारीमा मात्र रहनु र अझ मोबाइलको माध्यमबाट बैंकिङ कारोबार गर्नेहरू त झन् १ प्रतिशत पनि नपुग्नुले देशमा विद्यमान डिजिटल बैंकिङप्रतिको चेतना, ज्ञानको स्तर र सामथ्र्यलाई एकैसाथ प्रतिविम्बित गरेको छ ।

फेरि एकातिर प्रविधिले फड्को मार्दै जाने र नयाँ पुस्ता त्योप्रति अभ्यस्त पनि हुँदै जाने तर अर्कोतिर अलिक पुरानो पुस्ता तथा प्रविधिप्रति कम मात्र अभ्यस्त नवीन पुस्ता नै पनि डिजिटल कारोबारतर्फ आफूलाई आकर्षित गर्न नसक्ने स्थितिले समाजमा डिजिटल अन्तरलाई विस्तार गर्ने कुरामा पनि द्विविधा छैन । तर, यसो भनेर नवीनतम प्रविधिप्रति कुनै पनि देश निरपेक्ष रहन सक्दैन । यो समस्या सम्बोधन गर्ने एक मात्र उपाय भनेको वित्तीय साक्षरताको व्यापक विस्तार नै हुन सक्छ । वित्तीय साक्षरताको यस्तो विस्तारका लागि पहिलो शर्त भनेको वित्तीय तथा प्रविधिगत पहुँच नै हो ।

डिजिटल बैंकिङको उद्देश्य भनेको ग्राहकलाई कम जोखिममा सुरक्षित तथा छिटोछरितो रूपमा उच्चस्तरको सेवा प्रदान गर्नु नै हो । डिजिटल बैंकिङको बढ्दो माग र विस्तारले वित्तीय प्रविधि विकास गर्ने संस्थाहरूको पनि तीव्र विकास भएको छ । बैंकहरूलाई ग्राहकसँग जोड्ने सेतुका रूपमा विभिन्न प्रकारका वित्तीय प्रविधि अपरिहार्य हुन्छन् नै ।

यसरी हेर्दा डिजिटल बैंकिङले ग्राहकको जीवनलाई सहज बनाउन भरपुर मद्दत पुर्‍याउनुपर्ने हो । तर, यही वित्तीय प्रविधि कहिले जोखिमपूर्ण पनि हुन पुग्छन् र नेपालको सन्दर्भमा त्यसका जोखिमका क्षेत्रहरू पनि विशिष्ट प्रकारका हुन सक्छन् । कतिपय उच्च सरकारी अधिकारीहरूसमेत ईमेल ठेगाना माग्दा पासवर्डसमेत पठाउने प्रकृतिका भएको देशमा अन्य सर्वसाधारण मोबाइल प्रयोगकर्ताको प्रविधि साक्षरताको स्तर सहजै अनुमान गर्न सकिन्छ । परिणाम स्वरूप साइबर जोखिम तथा ठगीको शिकार हुने प्रबल सम्भावनालाई पार लगाउने यथोचित प्रबन्धको अभावमा डिजिटल बैंकिङ नेपाली समाजमा बढी नै जोखिमयुक्त हुन सक्छ ।

एकातिर प्रविधि साक्षरताको कमीका कारण हुने जोखिम छ भने फेरि अर्कोतिर चाहिँ प्रविधिप्रति अलिक बढी नै सचेत र जागरुकहरू यस्तो माध्यमलाई वित्तीय अपराध गर्ने उपयुक्त साधनका रूपमा दुरुपयोग गर्न पनि लागिपरेका देखिन्छन् । विश्वभरि नै हेर्ने हो भने सम्पत्ति शुद्धीकरण तथा कुनै आतंकवादी क्रियाकलापलाई वित्तीय सहयोग प्रदान गर्न डिजिटल कारोबार वरदान नै सावित भएको छ ।

अझ त्यसमाथि अहिले तीव्र गतिमा विकास र विस्तार हुँदै गएको प्रच्छन्न मुद्रा (क्रिप्टोकरेन्सी) ले त वित्तीय अपराधीहरूलाई झन् सहजताको अवस्था सृजना गरिदिएको छ ।

यसै कारण यस्ता डिजिटल बैंकिङ कारोबारलाई नियमन गर्ने विषय अहिले सशक्त र विकसित देशका नियामकहरूका लागि समेत चुनौतीको विषय बनेको छ । नेपालको सन्दर्भमा त झन् यो विषय निकै नै दुरुह हुने कुरामा कुनै शंका छैन । त्यसैले नेपालजस्ता देशका नियामकहरूले डिजिटल कारोबारप्रतिको आफ्नो निगरानी र नियमलाई चुस्त र प्रभावकारी बनाउन आफूलाई प्रविधिगत रूपमा समेत समयसापेक्ष र सक्षम बनाउनुपर्ने देखिन्छ । तर, यो कार्य पनि कम चुनौतीपूर्ण भने पक्कै छैन ।

तर, जेजस्ता व्यवधान र चुनौती भए पनि भविष्यको बैंकिङको स्वरूप डिजिटल नै हुने भएकाले यसले ठूलो फड्को मर्ने अपेक्षा गर्न सकिन्छ । प्रविधिको तीव्र विकास र प्रविधिसँग खेल्न अभ्यस्त ग्राहकबीचको तादात्म्यले निकट भविष्यमै डिजिटल बैंकिङलाई नयाँ उचाइमा लैजाने कुरा सिद्ध छ । माथि नै भनिएझैं भविष्यमा बैंकहरूको भौतिक उपस्थिति होला नहोला तर बैंकिङको उपस्थिति भने सदैव अनिवार्य नै हुन्छ र त्यो बैंकिङको स्वरूप भने पक्कै पनि डिजिटल बैंकिङ नै हुने कुरामा कुनै सन्देह छैन ।

Source: https://www.abhiyandaily.com/newscategory-detail/373901