सिलिकन भ्यालीबाट फर्केका ज्ञानेन्द्र खड्का जसले लकडाउनमै स्टार्टअपमा अवसर देखे

सिलिकन भ्यालीबाट फर्केका ज्ञानेन्द्र खड्का जसले लकडाउनमै स्टार्टअपमा अवसर देखे

काठमाडौं । एक वर्षअघि सिंगापुरमा भएको एउटा बिजनेस मिटिङले ज्ञानेन्द्र खड्कालाई २२ वर्षको विदेश बसाइलाई केही समयलाई थाँती राखी नेपाल फर्कने बाहना बन्यो ।

त्यतिबेला नेपालमा ‘भिजिट नेपाल २०२०’मा २० लाख पर्यटक ल्याउने पूर्वतयारी जोडतोडका साथ भइरहेको थियो । जिम्मेवारी पाएको पर्यटन बोर्डले पूर्वतयारी स्वरुप विदेशका यात्रा र मिटिङका संख्यालाई बढाएको थियो ।

यसैक्रममा पर्यटन बोर्डका अधिकारीहरुको भेट ज्ञानेन्द्र खड्कासँग भएको थियो । आफूलाई ‘भेञ्चर क्यापिटलिस्ट’का रुपमा स्थापित गरेका खड्काले त्यतिबेला अमेरिकामा रहँदै एक्सलट्रिप नामक कम्पनीमार्फत् विश्वभर पर्यटनको क्षेत्रमा काम गरिरहेका थिए ।

खड्काको कम्पनी एक्सलट्रिपसँग आबद्ध विश्वका ४२ हजार होटल र ४०० भन्दा बढी एयरलाइन्ससँग कम्पनीको सहकार्य थियो । पर्यटन बोर्डका अधिकारीहरुले युवा जोशले भरिएका खड्कामा त्यो सम्भावना देखेका थिए । ताकी नेपालमा सन् २०२० मा २० लाख पर्यटक फैलाउन सकियोस् ।

त्यो बेलामा पर्यटन बोर्डले विश्वका १८० वटा ठाउँहरुमा काम गरिरहेको थियो । त्यसैको सारथीमा खड्का चुनिएका थिए । बोर्डको विश्वास थियो, खड्कासँगको साथ हाम्रा लागि फलदायी हुन्छ ।

२० लाख पर्यटकको महत्वाकांक्षी लक्ष्य भेट्टयाउन सीएनएन र बीबीसी जस्ता अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा मात्रै नेपालको प्रचारप्रसार काफी थिएन । यसका लागि विश्वका घुमन्तेहरुकै माझसम्म नेपालबारे जानकारी पुर्याउनु थियो । त्यसका लागि चितवनका युवा खड्कामा त्यो सम्भावना देखेकैले पर्यटन बोर्डका अधिकारीहरुले उनलाई ‘अप्रोच’ गरेका थिए । खड्काको एक्सलट्रिप कम्पनीको सहकार्यमा त्यहाँसम्म पुग्न सकिने बाटाे तय हुन सक्थ्याे ।

खड्काले उक्त प्रस्ताव  तुरुन्तै स्वीकार गरे । आखिरमा देशमा पर्यटकको विकास जो गर्नु थियो ।

भ्रमण वर्ष २०२० लाई सफल पार्न उनी नेपाल फर्किए । उनको कम्पनी एक्सलट्रिप भिजिट नेपाल २०२० को ओटीए पाटर्नर पनि बन्यो । नेपालमै काम गर्ने भइसकेपछि एक्सलट्रिप कम्पनी नेपालमा दर्ता गरे र काम शुरु पनि गरे ।

शुरुवाती दिनमा पोखरा प्रबर्द्धनका लागि केही भिडियो बनाए । डेढ करोड रुपैयाँ खर्चेर प्रचारप्रसार पनि गरे । एक्सलट्रिप ग्लोवलमा भएको नेटवर्क र काम गर्दाको अनुभवलाई नेपालको पर्यटन प्रबर्द्धनमा भरपुर उपयोग गर्ने योजना बनाए । र, गत डिसेम्बरमा नेपालमा कम्पनी शुरुवात गरे । यसबीचमा ५ वटा वायुसेवा कम्पनी र ८ सयभन्दा बढी होटलसँग सहकार्य भइसकेको थियो ।

सबै तयारी सकिएर काम शुरु हुने दिनसँगै विश्वमा कोरोना भित्रियो । बिस्तारै नेपालमा यसको जोखिम बढ्यो । संक्रमित बढ्दै गए । मार्च महिना सकिनै लाग्दा मुलुकमा लकडाउन भयो । हरेक गतिविधि शुन्यको अवस्थामा सीमित भए । यसले खड्काले शुरु गरेको व्यवसायमा नराम्रो झट्का दियो ।

अमेरिका छाडेर नेपाल आइपुग्दा खड्कासँग दुई वटा योजना थिए । एउटा पर्यटन प्रबर्द्धनका लागि एक्सलट्रिप र अर्को ग्यापु अनलाइन (इकमर्स)को व्यवसाय ।

कोरोनाको महामारीले ठप्प पारेको पर्यटन क्षेत्र संकटको भूमरीमा धकेलिँदै गर्दा उनले आफ्नो दोस्रो प्रोजेक्ट ग्यापु अनलाइन मार्केट शुरु गर्ने योजना बनाए । कोरोनाका कारण लकडाउन नहुँदो हो त उनले नोभेम्बर ११ मा ग्यापु अनलाइन मार्केट शुरु गर्ने थिए ।

एकैपटक दुई वटा प्रोजेक्ट नगरौं कि भन्ने सोचले ग्यापुलाई थाँती राखेका उनले कोरोनाका कारण एक्सलट्रिपको व्यापार ठप्प हुँदा ग्यापुलाई जन्माउने मौका पाए । सारथी बने विज्ञान श्रेष्ठ ।

लामो समयदेखि एजुकेशन कन्सलट्यान्ट र कलेजमा लगानीकर्ता रहेका श्रेष्ठले बिजनेस पोर्टफोलियो बढाउँदै जाँदा अमेरिकामा केही वर्ष अघि भेटिएका खड्कासँग नेपालमासँगै बिजनेस शुरु गरौं भन्ने प्रस्ताव ल्याए । खड्कालाई मन पर्यो । चित्त बुझ्यो । र, लकडाउन भएको ३ दिनमै ग्यापु अनलाइनका नाममा इ-कमर्स व्यवसाय शुरु गरे ।

लक्ष्यभन्दा ८ महिना अघि, लकडाउनको समयमा रोपेको ग्यापुको विरुवा के हुने हो थाहा थिए । त्यही अनिश्चितताकै बीच उम्रिएको थियो ‘ग्यापु’ । उनीहरुले दिनरात नभनी मजलज गरे । ४० दिनसम्म कार्यालयमै सुते । आफ्नै गाडी प्रयोग गरेर ग्राहकका घरदैलोमा सामान पुर्याए । नतिजा छोटो समयमै ‘ग्यापु’को विरुवा हुर्कियो । अहिले हलक्क बढेको छ ।

‘विरुवा हुर्कियो तर कमाइ भने भइसकेको छैन, जति आम्दानी भएको छ अहिले यसैलाई हुर्काउन लागेका छौं,’ खड्काले भने ।

खड्का र श्रेष्ठले रोपेको ग्यापुको विरुवा जसरी हुर्कँदैछ । यसले आगामी दिनमा मीठो फलले भरिएको लटरम्म फल्ने बडेमानको रुख बन्ने लक्षण देखाइसकेको छ ।

लकडाउनले सबै जना घरभित्र सीमित भएका बेलामा ग्यापुले ग्रोसरी सामानहरु घरघरै पुर्याउने दायित्व लिएको थियो । तरकारीलगायतका आवश्यक सबै सामान घरको दैलोमै आइपुग्ने भएपछि मानिसहरु लकडाउनको समयमा यो तरिका मन पराए ।

त्यति मात्रै होइन, सबैभन्दा खुसीको कुरा सबैले अपनाए । जसले गर्दा लकडाउनको ३ महिनामा ग्यापुले साढे एक करोड रुपैयाँको कारोबार गर्यो । ५०औं हजार ग्राहकलाई खुसी बनायो । समस्या समाधान गरिदियो ।

‘स्टार्ट अपलगायतका व्यवसाय समस्या समाधानमा केन्द्रित हुनैपर्छ, होइन भने छोटो समयमा लक्षित वर्ग र आफूबीच अपनत्वको भावना विकास गर्न सकिन्न,’ खड्काले भने, ‘ग्यापुले लकडाउनको समयमा उत्पन्न सबैका समस्या समाधान गर्ने जिम्मेवारी लियौं, यसले छिटो अपनत्व विकास भयो ।’

लक्षित समयभन्दा झण्डै ८ महिना अगाडि शुरु गरेको व्यवसायले यति छोटो समयमा सकारात्मक उर्जा दिएकोमा खड्का भविष्यलाई लिएर निकै आशावादी छन् ।

‘यसबाट हामीले अहिलेसम्म पैसा कमाएका छैनौं, जे जति कमाएका छौं त्यो ग्राहकको विश्वास र माया हो, ग्राहकको मन जित्न सफल भएका छौं, यसअर्थमा भविष्य निकै राम्रो देखेका छौं,’ उनले भने ।

खड्कालाई नेपाल डिजिटल मार्केटका लागि तयार छ भन्ने थाहा छ, इन्टरनेटको पहुँच पनि दक्षिण एसियामै राम्रो छ भन्ने राम्रोसँग थाहा छ । तर अबको समस्या ‘ट्रस्ट’ आर्जन गर्ने हो । नेपालमा २० वर्षको इतिहासमा इ-कमर्सले अनलाइन सपिङका लागि आधार तयार पारेको छ तर विश्वास अझै पनि आर्जन गर्न सकेको छैन ।

ग्यापुको ग्रोथ

अहिले कम्पनीले दैनिक ५ सयभन्दा बढी अर्डर डेलिभरी गरिरहेको छ । यति छिटो सबैको मनमा बस्न सक्नुका पछाडि केही अन्य कारण पनि छन् ।

कुनै पनि स्टार्टअप व्यवसायको मूल उद्देश्य समस्या समाधानमा फोकस हुनुपर्छ भन्ने खड्काले ग्यापुलाई समस्याको पहिचान र समाधानमा ग्यापुलाई केन्द्रित गरे । पैसा कमाउनेमा मात्रै ध्यान दिने हो भने पैसा कमाउन पनि सक्छ, नगर्न पनि सक्छ तर समस्या समाधान गर्ने हो भने पैसा पनि कमाइन्छ ।

खड्का भन्छन्, ‘हाम्रा लागि ग्राहक जति महत्वपूर्ण छन्, त्यत्ति नै भेन्डरहरु पनि छन्, यसअघि भेन्डरलाई लामो समयसम्म पेमेन्ट नपाउने समस्या थियो तर हामीले ३ देखि ५ दिनभित्रै पेमेन्ट दिन शुरु गर्यौं ।’

‘शुरुमा ५० लाखको चेक छाडेर मात्रै सामान लैजानुहोस् भन्नेहरु अहिले एड्भान्स पेमेन्ट बिना नै दिन थालेका छन्, ५ दिनभित्रै पेमेन्ट चाहिन्छ भन्दै सर्त राख्नेहरु मासिकरुपमै गर्दा सजिलो हुन्छ कि भन्न थालेका छन्,’ खड्काले सुनाए ।

दोस्रो डेलिभरी चार्ज । अहिले प्रायः इकमर्स कम्पनीहरुले डेलिभरी चार्जबाट पैसा कमाउँदै आएका छन् । तर ग्यापुले बिना शुल्क नै सामान डेलिभरी शुरु गर्यो । यसले ग्राहकलाई पनि फाइदा हुने भयो । उहाँहरुलाई सस्तो पर्ने भयो । जहाँ नेपालमा इ-कमर्स क्षेत्रमा विश्वासको वातावरण नै नबनेको अवस्थामा महंगो डेलिभरी चार्जको समस्या समाधान पनि गर्यौं ।

त्यसपछि तेस्रो पक्ष हो, ग्राहकको सन्तुष्टि ।  हजाराैं ग्राहकमध्ये हालसम्म कम्पनीमा आएका असतुष्टहरूको संख्या १६८ मात्रै रहेछ । कम्पनीले ग्राहकका ती असन्तुष्टिलाई समस्या र कमजोरीका रुपमा लिएर त्यो समस्या समाधान गर्ने योजना बनाएको छ । यसले कम्पनीलाई आफ्नो कमजोरी सुधार गर्दै अघि बढ्न सहयोगी बनेको खडुको बुझाइ छ ।

जी-बारको शुरुवात

ग्यापु अन्तर्गतकै कम्पनी हो जी-बार । यसले मदिरा खरिदको सेवा दिन्छ । ग्यापुले ग्रोसरीबाट शुरु गरेर अन्य प्रडक्टको डेलिभरी गरे जस्तै जी-बारले स्वदेशी र विदेशी ब्राण्डका मदिराको डेलिभरी गर्दैछ । कम्पनीले अहिले राति २ बजेसम्म मदिराको निशुल्क डेलिभरी गर्दै आएको छ । शुरुवात भएको १ महिनामै कम्पनीबाट सेवा लिने ग्राहकहरु हरेक दिन बढिरहेका छन् । खड्का अनुसार अहिले कम्पनीले  दैनिक १ सयभन्दा बढी अर्डर डेलिभरी गर्दै आएको छ । कतिसम्म भने मानिहरू राति २ बजेसम्म सामान लिन ग्यापुको कार्यालयमै पुग्छन् ।

७ ठाउँमा ‘ग्यापु मार्ट’

कम्पनीले अहिले उपत्यकामा विभिन्न ७ वटा स्थानमा ‘ग्यापु मार्ट’ स्थापना गर्ने तयारी गरिरहेको छ । जसबाट स्थानीयले गएर भौतिक रुपमै गएर खरिद गर्न पनि पाउने भए भने त्यो पिकअप एन्ड ड्रप सेन्टर पनि हुने भयो भने सानो तिनो वायरहाउस पनि हुने भयो । ताकी ग्राहकहरुलाई छिटोभन्दा छिटो सामान डेलिभरी गर्न सकियोस् । कम्पनीले त्यति मात्रै होइन अहिले सेल्सबेरी, सिभिल मलसँग समेत सहकार्य गरिसकेको छ । यसले ग्राहकले पाउने सेवामा विविधता थप्ने उनको विश्वास छ ।

चितवनदेखि थाइल्याण्ड हुँदै सिलिकनसम्मको यात्रा

चितवनको टाँडी स्कुल, शहिद स्मृति क्याम्पसमा कक्षा ११ र कक्षा १२ हेटौडाबाट पूरा गरी उनीसन् १९९९ मा उच्च शिक्षाका लागि सिंगापुर गएका थिए । उनले सन् २००६ सम्म ब्याचलर र मास्टर्स पूरा गरेका थिए । बीचमा त भोलियन्टियरका लागि चीन गएका उनले त्यसपछि फर्केर अनलाइन ट्रेडिङमै काम गरे ।

शुरुवाती दिनमा ल्यापटपलगायतका इलेक्ट्रिोनिक्समा काम गरे, स्टक ट्रेडिङमा पनि काम गरे ।

तर खड्काको करिअरको ग्राफ उकालो लाग्न थालेको सन् २०१२ हो । तत्कालिन समयमा उनले थाइल्याण्डमा बेबी टेंक नामक मेट्रिक्स कम्पनीमा आबद्ध भए । विस्तारै उनले होटल क्षेत्रमा पनि हात हाले । तत्कालिन समयमा थाइल्याण्डमा उनले ३ वटा होटल सञ्चालन गरिरहेका थिए ।

व्यवसाय बढ्दै जाँदा सन् २०१३ मा अमेरिकाको इनर्जी ड्रिंग्स कम्पनीमा लगानी गरे । अमेरिकाको एक जना साथिसँग मिलेर न्यू इनर्जी ड्रिग्स कम्पनीमा लगानी गरे । कम्पनीले राम्रो गर्दै थियो । तर त्यहाँ भने उनलाई धोका भयो । पार्टनरले उनलाई थाहै नदिइ अर्कै कम्पनीलाई बिक्री गरेपछि उनी पैसा उठाउन अमेरिका हानिए ।

अमेरिकामा रहँदा उनले धेरै जानकारी बटुल्ने मौका पाए । तत्कालिन समयमा उनले कैयन टेक्नोलोजी कम्पनीमा लगानी बढाए । थाइल्याण्डमा भएको घर र सबै होटल बिक्री गरेर उनी सन् २०१५ सम्ममा अमेरिकामा ह्यूस्टनमा कार्यालय स्थापना गरे ।

अमेरिकामा उनले ट्रेडिङलगायतका कम्पनीमा लगानी गर्दथे, कसैको बिजनेस कन्सेप्टमा लगानी गर्दथे । टेक्नोलोजीका लागि प्रख्यात सिलिकन भ्यालीमा पुगेर धेरै कुरा बुझ्नै मौका पाए । हालसम्म उनले २६ भन्दा बढी कम्पनीमा लगानी गरिसकेका छन् ।

अरुको कन्सेप्ट र कम्पनीमा लगानी गरिरहेका खड्काले सन् २०१६ मा आफ्नै कम्पनी स्थापना गर्ने सोच बनाएका थिए । अमेरिकामै रहँदा एक्सलट्रिप र ग्यापु अनलाइन अमेरिकामा दर्ता गरे । यसलाई सिंगापुरमा पनि दर्ता गरे ।

तर शुरुवाती दिनमै एकै पटक दुई वटा कम्पनी सञ्चालन गर्नुभन्दा पहिले एक्सलट्रिपलाई अगाडि बढाएपछि मात्रै ग्यापु अनलाइन शुरु गर्ने योजना बनाए ।

यसका लागि आधार के थियो भने उनी थाइल्याण्डमा होटल क्षेत्रमा काम गरेको अनुभव खन्याउन पाएँ । र, उनका अनुसार एक्सलट्रिप कम्पनी विश्वका पहिलो ओटीए प्लेटफर्मको ब्लकचेन बेस्ड कम्पनी हो । यसका लागि अमेरिकाबाट बैंग्लोरमा आएर कर्मचारीहरुलाई तालिम पनि दिए । र, नोभेम्बर ११ मा कम्पनी शुरुवात गरे ।

टेक्नोलोजीमा भविष्य

विश्वव्यापीरुपमा बढ्दो प्रविधिको विकास र उपयोगले परम्परागत व्यवसायलाई चुनौती दिइरहेको खड्काको बुझाइ छ । यदी प्रविधिलाई आत्मसाथ नगर्ने हो र परम्परागत व्यवसायकै तरिकामा जाने हो भने नम्बर वानको ताज सधै भरी नरहन पनि सक्छ ।

‘विश्व स्तरमा हेर्ने हो भने पनि टेक्नोलोजी बेस्ड कम्पनी नै नम्बर वानको ताज लगाएर बसेका छन् । यसको अर्थ परम्परागत व्यवसाय घट्ने होइन, टेक्नोलोजी बेस्ड कम्पनीहरुले टेकओभर गर्छन,’ उनले भने ।

 

Source: https://clickmandu.com/2020/08/127672.html