Covid-19 and Lockdown unimaginable growth in cashless transactions

Covid-19 and Lockdown unimaginable growth in cashless transactions

आइएमएफले ५२ वटा उदीयमान बजार एवं विकासशील मुलुकमा डिजिटल कारोबारमा के–कस्तो प्रगति भएको छ भनेर गरेको अध्ययनले वित्तीय सेवाको डिजिटलीकरणले वित्तीय समावेशितामा अकल्पनीय वृद्धि भएको पाइएको हो

स्वास्थ्यका हिसाबले कोभिड–१९ को महाव्याधि जोखिमपूर्ण देखिए पनि डिजिटल वित्तीय सेवातर्फको प्रस्थान बिन्दु हुने भएको छ । लकडाउन र कोरोना भाइरस संक्रमणको त्रासका कारण यो महाव्याधिले नगदरहित आर्थिक कारोबारको गति चुलिएको छ । फिनटेक (वित्तीय प्रविधि)मा विगत चार वर्षमा नभएको उपलब्धि हासिल महाव्याधिपछिको दुई महिनामै प्राप्त भएको छ ।  

‘अनलाइन बैंकिङ एवं फिनटेक (वित्तीय प्रविधि)का सेवामार्फत मोबाइल मनीतर्फको यात्राबाट न्यून आय भएका परिवार एवं साना उद्यम र व्यवसायहरू धेरै नै लाभान्वित हुन सक्छन्,’ विश्व बैंक र आइएमफको दाबी छ, ‘फिनटेकले महाव्याधिले सिर्जना गर्दै लगेको आर्थिक असमानता र अवसरको खाडल पुर्न सहयोग गर्नेछ र समावेशी पुनर्बहालीलाई सघाउनेछ ।’ लाइब्रेरिया, घाना, कुवेत, म्यानमारलगायतका मुलुकले डिजिटल कारोबार एवं मोबाइल मनी सेवाको शुल्क घटाइदिएर कारोबारको सीमा बढाइदिएका छन् । यसरी मोबाइलमा पैसाको कारोबार बढाउन प्रयास गरेका छन् ।

आइएमएफले ५२ वटा उदीयमान बजार एवं विकासशील मुलुकमा डिजिटल कारोबारमा के–कस्तो प्रगति भएको छ भनेर गरेको अध्ययनले वित्तीय सेवाको डिजिटलीकरणले वित्तीय समावेशितामा वृद्धि गरेको पाइएको हो ।  

त्यसैगरी, समतामूलक एवं समावेशी समाज निर्माणमा समेत फिनटेक सहयोगी हुने देखिएको विज्ञहरूले औँल्याएका छन् । फिनटेक अर्थात् वित्तीय प्रविधि अहिले शिक्षा, खुद्रा बंैकिङ, विप्रेषणलगायतका विभिन्न क्षेत्रमा विस्तार भइरहेको छ । फिनटेक स्टार्टअपबारे रियल टाइम जानकारी दिने कम्पनी सिबी इन्साइट्सले सन् २०१६ मा फिनटेकका २६ स्टार्टअपमा १७ अर्ब ४० करोड लगानी गरेको थियो । तिनै २६ कम्पनीको मूल्य २०१७ मा बढेर ८३ अर्ब ८० करोड पुगेको । र, सन् २०१८ सम्म आइपुग्दा यी फिनटेक फर्महरूको मूल्य १ खर्ब ४८ अर्बमा चुलिएको इन्साइट्सको तथ्यांकले देखाउँछ । साथै, हरेक नागरिकसम्म फिनटेक सेवा (वित्तीय प्रविधि मोबाइल बैंकिङ, रेमिटका सेवा) पुर्‍याउने हो भने सरकारको नागरिकसम्मको पहुँच अभूतपूर्व रूपले विस्तार हुनेछ । र, संकटको समयमा प्रत्यक्ष आर्थिक सहयोग गर्ने आधार तयार हुने औँल्याएको छ ।  

फिनटेकमा उत्तर अमेरिका अग्रणी देखिएको छ । जसलाई एसियाले पछ्याएको छ । पछिल्लो समय फिनटेकअन्तर्गतका क्रिप्टोकरेन्सी, ओपन बैंकिङ, इन्सुरटेक, रोबो एडभाइजर, साइबर सेक्युरिटी आदि प्रविधिमा अभूतपूर्व विस्तार र प्रगति भइरहेको छ । अमेरिकी राज्य पेन्सिलभेनियाको एक पर्यटकीय गन्तव्य चेस्टनट हिलका क्याफे र स्टोरका ७८ प्रतिशत कारोबार अहिले क्रेडिट कार्ड एवं अन्य विद्युतीय माध्यमबाट हुन थालेको छ, जुन ५ वर्षअघि १० प्रतिशतभन्दा कम थियो । संक्रमणको त्रासका कारण गत मार्च र अप्रिल महिनामा विकसित मुलुकका केही स्थानमा नगद कारोबार शून्यमा पुगेको थियो । र, विकसित मुलुकका अधिकांश स्थानमा महाव्याधिअघिको तुलनामा नगद कारोबार ३० देखि ४० प्रतिशतले घटेको पाइएको छ, जुन कारोबारको स्थान डिजिटल कारोबारले लिएको हो । 

वित्तीय सेवाका विज्ञहरू यो महाव्याधिले नगदरहित अर्थतन्त्रको गति तीव्र भएको बताउँछन् । लकडाउनको अवधिमा चेस्टनट हिलको बेकर स्ट्रिटमा मोबाइल वा अनलाइनमार्फत शतप्रतिशत नगदरहित कारोबार भएको थियो । नगदरहित कारोबारका लागि अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनको गाइडलाइनले पनि प्रोत्साहित गरेको हो । त्यस अवधिमा अमेरिकामा एटिएमबाट नगद निकाल्ने प्रवृत्तिमा २५ प्रतिशतले कमी आएको देखिन्छ । 

तर, यो अवधिमा विद्युतीय कारोबार भने अकासिएको छ । मार्चको अन्त्यमा पुग्दा सम्पूर्ण कारोबारमा नगदरहित कारोबारको हिस्सा २७ प्रतिशत इलेक्ट्रोनिक ट्रान्जेक्सन एसोसिएसनले जनाएको छ । क्रेडिट कार्ड, डेबिट कार्ड र पेपाल एवं भेनोमजस्ता मोबाइल एपमार्फत सीधै रकम ट्रान्सफर गर्न सकिन्छ ।

फिनटेकको भविष्य
अमेरिकाको पहिलो मोबाइल बैंक चिम, बेलायतको मोन्जो, जर्मनीको एन२६ जस्ता फिनटेकका कारण परम्परागत बंैकिङ प्रणालीको विकल्प तयार हुँदै गएको छ । सन् २०१८ मा मात्रै पनि फिनटेकका स्टाटअपले १ खर्ब ११ अर्ब डलर लगानी जुटाएका थिए । मनी ट्रान्सफरमा वेस्टर्न युनियन सन् १८४० मा स्थापना भएको मनिग्राम वेस्टर्न युनियनपछिको दोस्रो ठूलो सेवाप्रदायक हो । रेमिट सेवाप्रदायक र वर्ल्ड रेमिट, टान्सफरवाइजजस्ता फिनटेकको सेवामा अभूतपूर्व विस्तार भएको छ । सन् २०१९ मा मनिग्रामले विप्रेषणको नगद प्रवाह ८० प्रतिशत थियो । यसलाई पनि पछिल्लो समय डिजिटल बिजनेसमा ठूलो लगानी गरिरहेको छ । 

सन् २०२० को पहिलो त्रैमासिकमा वेस्टर्न युनियनको डिजिटल आम्दानी १३ प्रतिशतले वृद्धि भएको छ । मनिग्रामले डिजिटल बिजनेसमा १७ प्रतिशत वृद्धि गरेको छ । समग्र कारोबारमा वेस्टर्न युनियनको डिजिटल कारोबार गत अप्रिलमा ३२ प्रतिशत पुगेको छ । जुन यी कम्पनीले विगत ४ वर्षमा उनीहरूले हासिल गरेको भन्दा बढी हो । वर्ल्ड रेमिटको ग्राहक संख्याको वृद्धि अघिल्लो वर्षको सोही अवधिको तुलनामा मार्च र अप्रिलमा १ सय ५० प्रतिशतले वृद्धि भएको छ । एजिमो र रेमिट्लीको ग्राहक संख्या वृद्धिको दर १ सय प्रतिशतले बढेको छ । मोबाइल एप ट्याकिङ कम्पनी एपटोपियाले गत अप्रिलमा मोबाइल बैंकिङ एपको डाउनलोडमा ५२ प्रतिशतले वृद्धि भएको बताउँछ ।

Source: https://www.nayapatrikadaily.com/news-details/46835/2020-07-08

*Revive Management has aggregated the information and does not guarantee, approve or endorse the information provided.