Mobile Money In Nepal

Mobile Money In Nepal

नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंक मिलेर सञ्चालन गर्न लागेको मोबाइल मनीको आन्तरिक परीक्षण सुरु भएको छ । यसको नाम ‘नमस्ते पे’ राखिएको छ । सीमित नम्बरबाट आन्तरिक परीक्षण सुरु भएकाले आगामी एक महिनाभित्र व्यावसायिक रूपमा सेवा सञ्चालन गरिने टेलिकमका प्रबन्ध निर्देशक डिल्ली अधिकारीले जानकारी दिए

सेवा सञ्चालनका लागि आवश्यक हार्डवेयर र सफ्टवेयर जडान जस्ता प्राविधिक काम भइसके पनि अन्य सेवा प्रदायकसँग आबद्धता गराउने काम मात्रै बाँकी भएको उनको भनाइ छ । ‘सेवा सञ्चालनका लागि हरेक बैंकसँग सम्झौता गर्नुपर्ने हुन्छ,’ उनले भने, ‘५ वटा जति बैंकसँग सम्झौता र प्रणाली आबद्धताको काम भइसकेको छ ।’ कम्तीमा पनि एक दर्जनभन्दा बढी बैंकसँग कारोबार गर्न मिल्ने गरी व्यावसायिक सेवा सुरु गरिने उनले जानकारी दिए ।

यसअघि मोबाइलमा रहेको ब्यालेन्सबाटै सामान किन्न मिल्ने गरी मोबाइल मनी सञ्चालन गर्ने भनिए पनि सरकारको कर नीतिका कारण यो सम्भव नहुने अधिकारीले बताए । ‘मोबाइलमा रिचार्ज गर्नेबित्तिकै २ प्रतिशत रकम स्वामित्व शुल्क, १३ प्रतिशत रकम भ्याट र १३ प्रतिशत रकम दूरसञ्चार सेवा शुल्कका रूपमा काटिन्छ,’ उनले भने, ‘मोबाइल रिचार्ज र मोबाइल मनीलाई एउटै बनाउँदा उपभोक्ताको २८ प्रतिशत रकम काटिन्छ ।’

कर नीतिको यो प्रावधानका कारण मोबाइल मनीलाई मोबाइलको सर्टकोड र एपमार्फत प्रयोग गर्न सकिने व्यवस्था गरिएको अधिकारीले बताए । ‘प्रयोगकर्ताले मोबाइलमा सर्टकोड प्रयोग गरी डेटा किन्ने गरेको जस्तै गरी प्रयोगकर्ताले वालेटमा राख्ने रकम जम्मा गर्न मिल्ने र एपबाट पनि कारोबार गर्न मिल्ने व्यवस्था गरिएको छ,’ उनले भने, ‘यसको आन्तरिक परीक्षण भइरहेको छ ।’ मोबाइल सर्टकोडबाट खाता बनाउँदा र कारोबार गर्दा इन्टरनेट आवश्यक पर्दैन ।

मोबाइल मनीमा कार्यरत केही इन्जिनियरमा कोरोना देखिएको र भारतबाट आउनुपर्ने प्राविधिक पनि आउन समस्या भएकाले कोभिड–१९ को असर भयावह नभए आगामी एक महिनाभित्रै व्यावसायिक सेवा सञ्चालन गर्न सकिने अधिकारीले जानकारी दिए । मोबाइल मनीमा रिचार्ज कार्डबाटै रकम लोड गर्न सकिने सुविधा हुनेछ । यसले गर्दा मोबाइल मनी राम्रो इन्टरनेट नपुगेका क्षेत्रमा पनि प्रयोग गर्न सकिने अपेक्षा गरिएको छ ।

Source: https://ekantipur.com/business/2021/05/11/162069627291159180.html

**REVIVE MANAGEMENT is an online aggregator and do not guarantee, approve or endorse the information available on the site.**